• १३ मंसिर २०८१, बिहिबार

आकाश गर्जंदा पनि झस्किछन् मनाङी

blog

यदुप्रसाद भट्ट 

मनाङ, साउन ४ गते ।  लामो समय बाढीको जोखिम, यातायातबाट विच्छेद भएका र अन्य समस्या झेलेका मनाङीहरू आकाश गर्जंदा अहिले पनि झस्किने गरेका छन्। पानी पर्न थालेपछि उनीहरू झस्किनुपर्ने अवस्था आएको हो। 

दुई वर्षअघि ठूलो वर्षासँगै आएको बाढीपहिरोका कारण दुई महिना सडक सञ्जालबाट विच्छेद रहनुपरेको थियो। सडक सञ्जाल विच्छेद हुँदा यहाँका बासिन्दाले खाद्यान्न, खानेपानी, विद्युत्को अभाव भोगेका थिए। नासो गाउँपालिका–५, धारापानीका स्थानीय कृष्ण गुरुङ जसले गर्दा अहिले पनि ठूलो वर्षा हुनासाथ सिरिङ्ग हुने गरेको बताउनुहुन्छ। उहाँ भन्नुहुन्छ, “अलि ठुलो पानी परेपछि मन झसङ्ग हुन्छ, फेरि पनि ठुलो पानी प-यो भने अभाव र घरबासविहीन हुनुपर्छ कि भनेर पिर लाग्छ।” 

चामेका फुर्वा लामा भन्नुहुन्छ, “लामो समय र ठुलो वर्षा भयो भने त मन आत्तिन्छ नै, कहीँ जान आउन समेत गाह्रो हुन्छ, कहीँबाट सहज रूपमा सहयोग पाउन समेत समस्या हुन्छ।” 

वर्षामा मात्र होइन अन्य समयमा पनि मनाङको यात्रा सहज भने छैन। त्यसमा पनि वर्षा सुरुवात भएसँगै जोखिम बढ्ने गर्छ। वर्षामा पर्ने झरीका कारण एक ठाउँमा मर्मत गर्न नभ्याउँदै अर्को ठाउँमा सडक भत्किने हुँदा मनाङ जाने स्थानीय तथा जोकोही पर्यटकलाई आवतजावतमा समस्या हुने गरेको नासो गाउँपालिका–५ का वडाध्यक्ष थुदेन लामा बताउनुहुन्छ। 

चामे गाउँपालिका–१ तिमाङ खोलामा बनेको काठेपुल गत हप्ता भत्कियो। यातायात अवरुद्ध भयो। २०७८ असार १ मा आएको बाढीले मोटरेबल पुल भत्किएपछि बनाइएको काठेपुलको काठ कुहिएपछि यातायात अवरुद्ध भएको हो। अहिले सवारी आवतजावत हुन सकस भएको छ। जिल्ला प्रशासन कार्यालय मनाङले सडक सञ्चालन गर्न ताकेता गरेपछि तत्कालका लागि गर्जो टार्न काठेपुलको ठाउँमा काठकै पुल निर्माण ग-यो। जिल्लाभर पाँचवटा काठेपुल रहेको मनाङमा चामे गाउँपालिकामा तीन र मनाङ ङिस्याङमा दुई वटा रहेका प्रमुख जिल्ला अधिकारी सुप्रभा ढुङ्गेल खनालले जानकारी दिनुभयो। 

हालका लागि यातायात सञ्चालन गर्न आवश्यक भएकाले काठको पुलमा काठकै पुल निर्माण गरिएको प्रजिअ खनालले बताउनुभयो। उहाँले भन्नुभयो, “मोटरेबल पुल बिस्तारै निर्माण हुने अपेक्षा छ। अहिलको गर्जो टार्ने काम गरेका छौँ।” 

डुम्रे–बेँसीसहर–चामे सडक योजना कार्यालयका प्रमुख रवीन्द्र दासले मनाङमा मात्रै नौ वटा मोटरेबल पुल निर्माण हुने जानकारी दिनुभयो। मनाङमा हाल दुई कन्स्ट्रक्सन कम्पनीले काम गरिरहेका छन्। समयमा काम नगर्ने ठेकेदार कम्पनीका कारण मनाङमा पुल निर्माणको कामले गति लिन नसकेको प्रमुख दासले बताउनुभयो। 

मोटरेबल पुल निर्माणको काम समयमा नहुँदा वर्षैपिच्छे काठको पुल निर्माण गर्दा राज्यको दोहोरो लगानी हुने गर्छ। कम्तीमा एउटा काठको पुल निर्माण गर्दा तीन लाखसम्म पर्ने गरेको सडक योजना कार्यालय प्रमुख दासले बताउनुभयो।