• १२ मंसिर २०८१, बुधबार

युवाको पहिचान सुरक्षा

blog

आजको राष्ट्रिय स्वार्थ नेपालको विकास हो। विकासको अपरिहार्य तत्व भनेकै युवा जनशक्ति हो। त्यसो त पैसाबिना विकासको अर्थ हुन्न। देशमा सक्रिय जनशक्ति भएन भने विकास ठप्प हुन्छ । हामीले लोकतन्त्र ल्याउनुभन्दा पहिला पञ्चायती राजनीतिक व्यवस्था बेहो-यौँ। राजनीतिक रूपमा निरङ्कुश भए पनि त्यो समाज आफ्नो लयमा जीवित थियो। गाउँघर रमाइलो थियो किनकि गाउँघर युवाले भरिपूर्ण हुन्थ्यो। अहिलेको नेपाली समाज हिजोको तुलनामा उन्नत स्तरमा विकसित भए पनि युवाविहीन हुँदै गएको छ। अब यो समाजलाई उमङ्ग र उत्साहले भरिपूर्ण बनाउँदै विकसित गराउन चिन्तन गर्न ढिला भइसकेको छ। नत्र भोलिको पुस्ताले धिक्कार्ने छ । त्यसैले पनि भावी पिढीलाई सुनौलो नेपाल हस्तान्तरण गर्नु हाम्रो दायित्व हुन्छ। 

हाम्रो अर्थतन्त्र अहिले पनि कृषिमै आधारित छ। देशको अर्थतन्त्रमा सबैभन्दा बढी योगदान भएको क्षेत्र कृषि नै हो। हामीले यो माटोमा लडीबुडी खेल्यौँ। हाम्रो बाल्यकाल र हाम्रा किसान दाजुभाइको सम्पूर्ण जीवन पूरै माटोसँगै लत्पतिएको छ । यो माटो हाम्रा लागि अमूल्य र प्रिय छ तर आज दैनिक हजारौँको सङ्ख्यामा युवा पढ्न र श्रम गर्न भनेर देश छोडेर बाहिर जाँदै छन्। सबैलाई देश नछोड्नुस् भन्न सकिन्न। हिजोका सम्भ्रान्त र आज सम्भ्रान्त बनेकाहरूका सन्तान देशमा छैनन्। हामी यो देश छोड्न सक्दैनौँ, नेपाल तपाईं हाम्रा पुर्खाले सारा दुःखले बनाएको देश हो। पुर्खाले हामीलाई सुम्पेर गएको यो सुन्दर देशलाई अझ उत्कृष्ट बनाउने जिम्मेबारी समयले हाम्रो काँधमा थमाइदिएको छ। त्यो जिम्मेबारी हामीले कुशलतापूर्वक बहन गर्नु पर्छ। 

देश समृद्ध बनाउन सक्यौँ भने मात्रै हामी सम्पन बन्न सक्छौँ। सम्पनता भागेर होइन डटेर सङ्घर्ष गर्न सके मात्रै आउँछ। सङ्कल्प लियौँ भने के आफ्नो भूमि बनाउन नसक्ने कुरै छैन। कहिलेसम्म सुनको कचौरा थापेर विदेशीसँग भिख मागिरहने ? 

हाम्रै युवाले निर्माण गरेको कतारको रङ्गशालामा विश्वकप फुटबल सम्पन्न भइसक्यो। हाम्रोमा एउटा पनि अन्तर्राष्ट्रिय फुटबल रङ्गशाला छैन किनकि यहाँ हामीले बनाउने सङ्कल्प गरेकै छैनौँ । हाम्रो देशमा निर्माणको चरण नै सुरु हुन सकेन । आज देश युवाले पठाएको विप्रेषण रकमबाट चलिरहेको छ, भनिन्छ। त्यो रकम नेपाल भित्रिन नपाउँदै आधारभूत वस्तु र सेवा आयातमै सकिन्छ। राज्यको नीति युवा निर्यात गर्ने हुनु हुन्न। यो राम्रो होइन, तत्काल राज्यले यसको विकल्पमा स्वदेशमै युवालाई रोजगार दिने नीति ल्याउनु पर्छ। युवा निर्यात गर्नु विकास होइन। हामीले राज्यसँग हामी हाम्रो देश छोड्ने बाला छैनौँ, देश निकाला त कुनै अपराध गरेबापत राणाहरूले पो गर्थे त, भन्न सक्नु पर्छ। हामीलाई संविधानले ग्यारेन्टी गरेबमोजिम रोजगारीको हक हाम्रो मौलिक हकको तत्काल कार्यान्वयन गर्नु भनेर राज्यलाई दबाब सिर्जना गर्नु पर्छ। यसका लागि धेरै गर्नु पर्दैन, एक दिन पासपोर्ट बनाउने लाइन लाग्न नगएर आफ्नो देशमै केही गर्छु भनेर सबै विदेश जान हिँडेकाले एकताबद्ध भई आवाज बुलन्द गरे पुग्छ। 

युवालाई विदेश निर्यात गर्नु तपाईंको राज्य सञ्चालकको नीति हो। नेपालमा विगत दस वर्षमा करिब ८० खर्ब नेपाली रुपियाँ 

रेमिट्यान्सको रूपमा भित्रिएछ। यसले देशमा किन विकास निर्माण गर्न सकेन, किन देश झन् पछि झन् ऋणको भारी बोक्न विवश बनेको छ। यो रकम केही होइन भन्न खोजेको भने होइन, हाम्रा युवाले विदेशमा बगाएको रगत र पसिना बगाएर कमाएको अमूल्य सम्पत्ति हो। हामीलाई मासिक भित्रिने रेमिट्यान्स रकम प्यारो छ। 

 हाम्रो उच्च शिक्षा सखाप पारिँदै छ। त्रिविका आधा जति क्याम्पस विद्यार्थी नभएर बन्द हुने अवस्थामा छन् भने करिब दुई सय जति क्याम्पस त्रिवि आफैँले बन्द गर्दै छ। आज हाम्रा विश्वविद्यालयलाई दोष दिने गरिन्छ, विश्वविद्यायलय खतम भए, यसको कारण किन खोज्दैनौँ ? विदेश पढ्न जाने हैरानी मात्रै एक चोटि नेपालका विश्व विद्यालय सुधार गर्ने पट्टि लगायौँ भने कति उत्कृष्ट बन्थे होलान् हाम्रा विश्व विद्यालय अनि हाम्रो शैक्षिक गुणस्तर ? हामीले यतापट्टि ध्यान दिन सकेनौँ। सामान्य सुधार मात्रै गर्ने हो भने विश्वस्तरीय उत्कृष्ट र गुणस्तरीय शिक्षा घर आगनमै पाउन सक्छौँ। 

देश निर्माणको पहिलो र प्रधान आधार कृषि नै हो। हामीले कृषि उत्पादनका क्षेत्रमा जोड दिऔँ। युवाले राज्यलाई भन्नु पर्छ, हामी कोरियाका गाई, साउदीका भेडा पाल्न अब जाँदैनौँ। हामी आफ्नै गाउँघरमा गाईबाख्रा पाल्छौँ तर राज्यले व्यवस्था मिलाइदिनु पर्छ। युवाले स्वदेशमा चाहेको वातावरण नबनाई राज्यले सुख पाउँदैन। 

पर्यटन नेपालको अर्को प्रचुर सम्भावना बोकेको क्षेत्र हो। नेपालमा माथिका तीन वटा भन्दा झन् राम्रो लाभदायक क्षेत्र हो पर्यटन। विश्वमै प्रसिद्ध हिमालय, वनजङ्गल, सांस्कृतिक धरोहरको खानी हो नेपाल । पर्यटनका लागि वातावरण बनाउने काम हो राज्यको। यसका लागि हामीले हाम्रो गाउँठाउँ केका लागि उपयुक्त छ त्यो पहिचान गर्ने जिम्मा र त्यसको कार्यान्वन गर्ने जिम्मा हाम्रो नै हो। पर्यटनबाटै पर्याप्त आम्दानी भित्र्याउन सक्छौँ। 

अर्को क्षेत्र हो उद्योग यसमा राज्य मौन छ। राज्यलाई तत्काल आवश्यकीय वस्तु निर्माणका लागि, पुराना बन्द रहेका उद्योग सञ्चालन गर्न र नयाँ आवश्यक उद्योग खोल्न हामीले किन नझक्झक्याउने ? उद्योग किन न खोल्ने ? हरेक किसिमका उद्योगका लागि कच्चा पदार्थले भरिपूर्ण छौँ हामी। जलस्रोतमा विश्वकै दोस्रो धनी छौँ हामी। स्वच्छ खानेपानीको जतासुकै अभाव छ। यसको सदुपयोग गरेर हजारौँ मेघावाट ऊर्जा खपत गरी निर्यात गर्नु त कता हो कता जलस्रोत क्षमताको मात्र सही उपयोग गर्न सक्ने हो भने मात्रै कति सम्पन हुन्थ्यौँ होला ?  खेलकुद जसबाट मात्रै हामी लाखौँ पर्यटक भित्र्याउन सक्थ्यौँ। युवालाई स्वस्थ र अनुशासित बनाउन सक्थ्यौँ। हामी बिदेसिन बाध्य छौँ। आफ्नो पौरखमा विश्वास नगरेर कहिलेसम्म आफँैलाई र देशलाई धिक्कार्दै हिँडिरहने ? 

यसका लागि राजनीतिका कठिन सिद्धान्त घोक्नु र घोकाउनु पर्दैन। हाम्रो जस्तो लोकतान्त्रिक शासन भएका देश नै आज विश्वमै विकसित र समृद्ध बनेका छन्। हामीलाई हाम्रा नीति निर्माताले संविधानलाई मात्रै इमानदारीपूर्वक देश र जनताको हित सम्झेर कार्यान्वयन गरिदिए मात्रै पुग्छ। युवालाई देश निर्माणमा लाग्ने वातावरण बनाइदिए पुग्छ। युवाले विदेशमा बगाउने रगत र पसिना योजनाबद्ध र व्यवस्थित ढङ्गले स्वदेशमै बगाउन सक्यो भने कसले भन्न सक्छ नेपाल गरिब र युवा निर्यात गर्ने मुलुक हो भनेर ? 

हामी प्राकृतिक रूपले सबैभन्दा सम्पन्न हुने तर यसमा मानवीय कृत्रिमता मिसाउन नसकेर कहिलेसम्म मध्ययुगीन जीवन मात्रै बाँचिरहने ? यसको बाधकका रूपमा रहेका पुरातन राजनीति, शिक्षा, संस्कृति, बानी व्यवहार, मूल्यमान्यता, कुशासन, भ्रष्टाचारलाई जरैदेखि उन्मूलन गरौँ। विकसित र सम्पन्न नेपालको युवा बन्न कसलाई पर्खने हो ? हाम्रो देश हामीले नबनाए कसले बनाइदिन्छ ? युवालाई देश निर्माणको यो युगीन जिम्मेबारीबाट भाग्ने छुट छैन। 

  

Author

भीष्म जोशी