• १२ साउन २०८१, शनिबार

‘हरित निक्षेप’ र ‘हरित कर्जा’ ल्याउँदै विकास बैङ्क

blog

काठमाडौँ, साउन ४ गते । विकास बैङ्कहरूले ‘हरित निक्षेप योजना’ र ‘हरित कर्जा योजना’ ल्याउने भएका छन् । दिगो विकासको उद्देश्यलाई सहयोग 

गर्न विभिन्न उत्पादनमूलक क्षेत्रमा ती योजना कार्यान्वयन गरिने डेभलपमेन्ट बैङ्कर्स एसोसिएसनले जनाएको छ ।  एसोसिएसनका अनुसार कृषिजन्य उद्यम, वनजन्य उद्यम, जल ऊर्जा, सौर्य ऊर्जा, जैविक ऊर्जा, वायु ऊर्जा, केबुलकार/रोपवे, विद्युतीय सवारीसाधन, फोहोर पानी प्रशोधन गर्ने उद्यमका लागि यस्तो योजना ल्याइएको हो । 

बैङ्क तथा वित्तीय संस्थाको लगानी तुलनात्मक रूपमा कम उत्पादनशील क्षेत्रमा बढ्दै गएकाले उत्पादनमूलक र दिगो विकासमा टेवा दिने क्षेत्रमा कर्जा बढाउने उद्देश्यले ‘हरित कर्जा योजना’ ल्याउने निर्णय गरिएको एसोसिएसनले जनाएको छ । 

हरित कर्जा योजनामा गरिने लगानीका लागि बिस्तारै स्रोतको सुनिश्चितता पनि गर्दै जाने उद्देश्यले ‘हरित निक्षेप योजना’ पनि ल्याइने एसोसिएसनले जानकारी दिएको छ । 

‘हरित निक्षेप योजना’ मा अन्य बचत र मुद्दती निक्षेपमा भन्दा ०.२५ प्रतिशत अङ्कले बढी ब्याज प्रदान गर्ने र ‘हरित कर्जा योजना’ मा अन्य सोही प्रकृतिको कर्जा योजनामा भन्दा ०.२५ प्रतिशत अङ्कले कम ब्याजमा कर्जा प्रवाह गर्ने गरी कर्जा योजना विकास गर्ने एसोसिएसनको निर्णय छ । 

सदस्य बैङ्कहरूले आआफ्ना बैङ्कको व्यावसायिक रणनीति अनुसार अझ बढी सुविधा दिने गरी प्रडक्ट पेपरलाई विकास गर्न सक्ने निर्णय पनि एसोसिएनले गरेको छ । 

कार्बन उत्सर्जन गर्ने र जलवायु परिवर्तनलाई असर गर्ने कुनै पनि उद्योग/व्यवसायले हरित कर्जा सुविधा लिन पाउने छैनन् ।