• १६ चैत २०८०, शुक्रबार

आजदेखि महिला विश्वकप फुटबल

blog

मेलबर्न, साउन ४ गते । महिला विश्वकप फुटबल प्रतियोगिता बिहीबार सुरु हुँदै छ। अमेरिका पुनः विश्वकप उपाधिको प्रमुख दाबेदारका रूपमा रहेको छ। अमेरिका ह्याट्रिक उपाधिको दाउमा छ। अमेरिकालाई सधैँजसो युरोपका फुटबल शक्ति राष्ट्रहरू र ब्राजिलले चुनौती पेस गर्ने छन्।

अस्ट्रेलिया र न्युजिल्यान्डमा हुने विश्वकपमा पहिलो पटक ३२ टिम सहभागी छन्। जसमध्ये धेरै टिमले यी दाबेदार राष्ट्रलाई स्तब्ध पार्ने विश्वास गरिएको छ। यीमध्ये सबभन्दा अगाडि जापानको नाम आउँछ। जापान सन् २०११ को विश्व विजेता पनि हो। सो समय जापानलाई सेमिफाइनलसम्म पुग्ने टिमका रूपमा पनि लिइएको थिएन तर भूकम्प र सुनामीले थलिएको जापान दाबेदार अमेरिकालाई टाइब्रकेरमा स्तब्ध पारेर विश्व च्याम्पियन बन्यो। जापान महिला विश्वकप फुटबलको उपाधि जित्ने एसियाको एक मात्र राष्ट्र पनि हो। जापानसँग हारेपछि अमेरिकालाई अहिलेसम्म विश्वकप महिला फुटबलमा कसैले पराजित गर्न सकेको छैन।

अमेरिकाका प्रशिक्षक भ्लाट्को एन्डोनोभ्स्कीका अनुसार सन् २०११ मा जापानले चमत्कार गरे जस्तै यस पटक महिला विश्वकपमा सनसनी मच्चाउन सक्ने धेरै टिम छन्। उहाँले जाम्बियातर्फ सङ्केत गर्नुभयो। हालै मैत्री खेलमा जाम्बियाले जर्मनीलाई स्तब्ध पारेको यिथो। जर्मनी सन् २००३ र २००७ को विजेता हो। महिला विशवकपमा वरीयतामा शीर्ष दसमा रहेका सबै टिम उत्तिकै बलिया छन् तर वेल्स, भियतनाम, जाम्बिया, पोर्चुगलजस्ता टिम पनि कम छैनन्। विगतमा जस्तो महिला विश्वकपमा ७–०, ८–० को नतिजा निस्कने दिन अब गए। हालै जाम्बियाले जर्मनीलाई ३–२ ले हरायो। यस्ता स्तब्धकारी नतिजा विश्वकपमा पक्कै दोहोरिने छन्, प्रशिक्षक एन्डोनोभ्स्की भन्नुहुन्छ।

क्यानडालाई उपाधि दाबेदारमध्ये एक नै मानिएको छ। टोकियोमा भएको ओलम्पिकमा सबैलाई चकित पार्दै महिला फुटबलको स्वर्ण पदक जितेपछि क्यानडालाई यस विश्वकपमा ठुलो भाउ दिइएको छ। यसपालि आठ टिम आयरल्यान्ड, भियतनाम, जाम्बिया, हाइटी, मोरक्को, पनामा, पोर्चुगल र फिलिपिन्सले पहिलो पटक विश्वकप खेल्दै छन्।

खेलभन्दा ठुलो

विश्वकप फुटबल महिला खेलाडीका लागि खेल मात्र होइन। यो उहाँहरूका लागि असमानता, मानव अधिकार र सामाजिक मुद्दाबारे आफ्नो कुरा राख्ने मञ्च पनि हो। चार वर्षअघि फ्रान्समा भएको महिला विश्वकपमा अमेरिकी खेलाडीले पुरुषसरह तलबको माग गरेका थिए। जसलाई हरेक खेलमा रङ्गशालामै समर्थकले पूर्ण समर्थन गरेका थिए। जुन माग गत वर्ष पूरा पनि भयो।

त्यसको सिको गर्दै अन्य टिमले पनि राम्रो तलब र सुविधाको माग गरे। पछिल्लो संस्करणमै महिला फुटबलरले यस पटकको महिला विश्वकपमा पुरुषसरह पुरस्कार रकम हुनुपर्ने अभियान चलाएका थिए। उनीहरूले समान पुरस्कार रकम मात्र होइन, पुरस्कार रकमको केही प्रतिशत सिधै खेलाडीले पाउनुपर्ने मागसमेत गरेका थिए।

फिफाले पुरुष विश्वकपको पुरस्कारसँग बराबरी नगरे पनि सन् २०१९ मा फ्रान्समा भएको महिला विश्वकपको भन्दा यस पटक तीन गुणाले पुरस्कार रकममा वृद्धि गरेको छ। यसै गरी फिफाले गत जुनमा केही रकम सिधै खेलाडीको हात पु¥याउने निर्णय पनि गरेको छ। जुन निर्णयअनुरूप यसपालि फिफा महिला विश्वकपमा खेल्ने सबै ७३२ खेलाडीले कम्तीमा ३० हजार डलर पाउने छन्। प्रतियोगितामा टिम अगाडि बढेसँगै खेलाडीको व्यक्तिगत पुरस्कार रकम पनि बढ्ने छ। महिला विश्वकप जित्ने टिमका २३ खेलाडीले जनही दुई लाख ७० हजार डलर प्राप्त गर्ने छन्।

मार्टा र सिन्क्लियरको छैटौँ विश्वकप

क्यानडाकी क्रिस्टिन सिन्क्लियर र ब्राजिलकी मार्टाले छैटौँ पटक विश्वकपमा सहभागिता जनाउनुहुने छ। ४० वर्षीय सिन्क्लियरले क्यानडाका लागि ३२३ खेलमा १९० गोल गरेर पुरुष र महिला फुटबलमै सर्वाधिक अन्तर्राष्ट्रिय गोलकर्ताको कीर्तिमान बनाउनुभएको छ। ३७ वर्षीय मार्टा छ पटक फिफा विश्वकी सर्वश्रेष्ठ महिला फुटबल बनिसकेकी खेलाडी हुनुहुन्छ। उहाँले पनि ब्राजिलका लागि १७४ खेलमा ११५ गोल गर्नुभएको छ । विश्वकपमा मार्टा १७ गोलसहित सर्वाधिक गोलकर्ता हुनुहुन्छ। उहाँ अब विश्वकपको छ संस्करणमा गोल गर्ने विश्वकै पहिलो खेलाडी बन्ने अभियानमा रहनुभएको छ। 

यी दुई मात्र होइन नाइजेरियाकी ४० वर्षीय ओनोमे इबीले पनि छैटौँ पटक विश्वकप खेल्दै हुनुहुन्छ। सिन्क्लियरभन्दा एक महिनाले जेठी इबी यस विश्वकपकी सर्वाधिक उमेरकी खेलाडी हुनुहुन्छ। यस विश्वकपमा दक्षिण कोरियाकी कासी फायरलगायत १६ वर्षका पनि चार खेलाडीले खेल्नुहुने छ। पहिलो दिन न्युजिल्यान्ड र नर्वे तथा अस्ट्रेलिया र आयरल्यान्डबिच खेल हुने छ। एपी