काठमाडौं, साउन २ गते । जापानको फुकुओका सहरमा आयोजना हुने विश्व एक्वाटिक च्याम्पियनसिप–२०२३ मा सहभागी हुन जाने नेपाली पौडी टोलीको बिदाइ गरिएको छ । टोलीलाई मङ्गलबार राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टङ्कलाल घिसिङले बिदाइ गर्नुभयो ।
ओलम्पिकको छनोट प्रतियोगितासमेत रहेको यस च्याम्पियनसिपमा नेपालका गौरीका सिंह, एलेक्जेन्डर गादेगाद शाह, डुवाना लामा र नासिर याह्या हुसेनले प्रतिस्पर्धा गर्नुहुनेछ ।
नेपाल पौडी सङ्घका अध्यक्ष अशोक बज्राचार्यको नेतृत्वमा जापान जाने टोलीको प्रशिक्षकमा ओलम्पियन नयना शाक्य, व्यवस्थापकमा नरेश वैद्य र अफिसियलमा सञ्जय शाह रहनुभएको छ ।
अध्यक्ष बज्राचार्यले सोही अवसरमा हुने एक्वाटिक कांग्रेसमा पनि भाग लिनुहुनेछ । नेपाली टोली बुधबार जापान प्रस्थान गर्नेछ ।