• १२ असोज २०८१, शनिबार

राष्ट्रिय महिला फुटबललाई युनिलिभरको २५ लाख प्रायोजन

blog

सम्झौता कार्यक्रममा नेपाली महिला फुटबल टोली । तस्बिर : विकास द्वारे

काठमाडौं, साउन २ गते । नेपाली महिला राष्ट्रिय फुटबल टोलीलाई युनिलिभर नेपाल लिमिटेडले २५ लाख रुपियाँ प्रायोजन सहयोग गरेको छ । युनिलिभरले नेपालमा महिला फुटबल खेलको विकास र विस्तारका लागि अखिल नेपाल फुटबल सङ्घ (एन्फा) लाई प्रायोजन गरेको हो । 

प्रायोजनसम्बन्धी सम्झौता पत्रमा मङ्गलबार युनिलिभर नेपालका कार्यकारी निर्देशक आमलाल मुखर्जी र एन्फाका अध्यक्ष पङ्कजविक्रम नेम्वाङले हस्ताक्षर गर्नुभयो । सम्झौता एक वर्षको लागि गरिएको हो । सम्झौता अनुसार युनिलिभरले एन्फामार्फ महिला फुटबल टोलीलाई आर्थिक सहयोग प्रदान गर्ने र एन्फाले युनिलिभरको बजार प्रवर्द्धनमा सहयोग गर्नेछ । 

दुई पक्षबीच युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बूको उपस्थितिमा सम्झौता भएको हो । सम्झौता कार्यक्रममा बोल्दै युवा तथा खेलकुद मन्त्री लिम्बूले युनिलिभरले महिला फुटबलमा गरेको सहयोगको लागि उच्च सम्मान रहेको बताउनुभयो । 

‘‘महिला खेलाडीले सीमित स्रोत साधनबीच देशको नाम उच्च बनाउन कडा मिहेनत गर्नुभएको छ । सरकारले खेलाडीलाई पर्याप्त सहयोग गर्न सकिरहेको अवस्था छैन । खेलकुदको विकासका लागि सरकारसँगै निजी क्षेत्रको पनि सहयोगको आवश्यकता छ । युनिलिभर जस्तै निजी क्षेत्रको सहयोगले खेलकुद माथि जाने हो । खेलकुदको सुधार र विकासका लागि सरकारले खेलाडीको बीमा, भौतिक संरचना निर्माण र चुस्त व्यवस्थापन जस्ता कार्यमा विशेष ध्यान दिनेछ,’’ मन्त्री लिम्बूले भन्नुभयो । 

यस्तै राष्ट्रिय टोलीकी कप्तान एञ्जीला तुम्बापो सुब्बाले युनिलिभरको सहयोगले महिला फुटबल खेलाडीमा उत्साह थपेको बताउनुभयो । उहाँले यस्तो सहयोगले महिला सशक्तीकरण र भविष्यमा फुटबल खेल्न चाहने नयाँ महिला खेलाडीलाई पनि प्रेरणा मिल्ने बताउनुभयो । 

एन्फाका अध्यक्ष नेम्बाङले युनिलिभरको सहयोग नेपाली महिला फुटबलका लागि ऐतिहासिक क्षण भएको बताउनुभयो । उहाँले महिला विश्वकप अगाडि गरिएको सहयोगले महिला टोलीमा नयाँ जोस थपेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘ एन्फाले नेपाली महिला फुटबलले सकेसम्म सन् २०२७ को विश्वकप र नसके २०३१ को विश्वकप खेल्ने गरी योजना बनाएको छ । यस सहयोगले महिला टोलीले विश्वकप खेल्ने लक्ष्यमा सहयोग गर्नेछ ।’’ 

युनिलिभरका कार्यकारी निर्देशक मुखर्जीले नेपाली महिला फुटबल टोलीसँग जोडिन पाउनु खुसीको क्षण भएको बताउनुभयो । उहाँले यस सहयोगले महिला टोलीको प्रदर्शनमा सुधार आउने विश्वास पनि गर्नुभयो । 

नेपालले सन् १९८० मा पहिलो पटक महिला टोली तयार गरेको थियो । सन् १९८६ मा हङकङसँग पहिलो पटक खेल्दै अन्तर्राष्ट्रिय फुटबलमा प्रवेश गरेको नेपाली टोली अहिले चीनमा आयोजना हुन लागेको १९औँ एसियाली खेलकुद (एसियाड) को तयारीमा रहेको छ । 

एसियाड तयारीकै लागि महिला टोलीले हालैमात्र बङ्गलादेशसँग दुई खेलको मैत्रीपूर्ण सिरिज खेलेर स्वदेश फर्किएको छ । नेपाल पहिलो खेलमा बङ्गलादेशसँग १–१ गोलको बराबरीमा रोकिएको थियो । दोस्रो खेलमा नेपालले बङ्गलादेशलाई टाइब्रेकरमा ४–२ गोलले हराएको थियो ।