• १५ मंसिर २०८१, शनिबार

स्वीस टूरिजम अवार्ड २०२३ का लागि काठमाडौं महानगरपालिका छनोट

blog

काठमाडौ, साउन २ गते । काठमाडौं महानगरपालिका ‘स्वीस टूटिजम अवार्ड २०२३ ’का लागि छनोट भएको छ । यसै वर्षको नोभेम्बर ३ देखि ५ तारिखसम्म स्वीजरल्याण्डको लुगानो सहरमा हुने अवार्ड कार्यक्रममा काठमाडौं महानगरपालिका छनोट भएको पत्र पठाउँदै आयोजकले भनेको छन्, ‘पर्यटन क्षेत्रका वैज्ञानिक पेसाकर्मीहरूको निर्णायक समितिले अवार्डका लागि छनोट गरेको हो । यस क्षेत्रका आयामिक पक्षलाई आम जनताबीच परिचित गराउने, पर्यटन गन्तव्यहरूको विशिष्टतालाई प्रवर्धन गर्ने यस कार्यक्रममा यहाँको उपस्थितिका लागि निमन्त्रणा गर्दछौँ ।’

काठमाडौंको सांस्कृतिक, धार्मिक र पुरातात्त्विक इतिहास, मूर्त अमूर्त सम्पदा र जीवन्त सहरी वातावरणले आगन्तुकलाई मोहित बनाउने गरेको उल्लेख पत्रमा उल्लेख गरिएको छ । ‘यसले विश्वभरका आगन्तुकहरूलाई मोहित बनाउँछ ।’

यो अवार्ड विगत १५ वर्षदेखि भइरहेको छ । अवार्डका लागि स्थानीय तह (महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका) ले आवेदन दिन सक्छन् । आवेदकमध्येबाट निश्चित सङ्ख्यामा अवार्डका लागि मनोनयन गरिन्छ ।

प्राकृतिक र सांस्कृतिक सम्पदाहरूलाई पर्यटकीय गन्तव्यका रूपमा प्रवर्द्धन गर्नु, पर्यटन सेवा मापदण्डलाई प्रतिस्पर्धी बनाउनु कार्यक्रमको मुख्य उद्देश्य हो । पर्यटन विकासको सम्भावना उच्च बनाउनु, गन्तव्यहरूको सञ्चार र बजारीकरण गरेर सौखिन पर्यटक समक्ष सूचना पुर्‍याउन मद्दत गर्नु यसको अर्को उद्देश्य हो । अवार्ड कार्यक्रममा स्वीजरल्याण्ड, इटालीसहित अन्तर्राष्ट्रिय क्षेत्रमा गन्तव्यको प्रचार गरिन्छ । यस्तै सम्मानित हुने सहरमा पर्यटनको मूल्य र पेसाका विषयमा चर्चा गरिन्छ ।

स्थानीय तहका अधिकारी, सम्मानित संस्थाका अधिकारी तथा प्रतिनिधि, गन्तव्य प्रवर्द्धक कार्यक्रममा सहभागी हुनेछन् ।