• ११ मंसिर २०८१, मङ्गलबार

घर घरबाट फ्याँकियो लुतो

blog

काठमाडौँ, साउन २ गते । आज साउनेसङक्रान्ति । हिन्दु परम्परालाई मान्दै आएकाले  साँझमा घर घरबाट लुतो फ्याँकेका छन् । साँझमा आँगनमा दियो, गणेश र कलशको पूजा गरेपछि सल्लाको काठ बालेर बनाइएको अगुल्टो सुरहरूका प्रमुख कण्डारकलाई अर्पण गर्दै घरको चारै दिशामा फ्याँक्ने परम्परा रहेको सूर्यविनायक नगरपालिका वडा नं. ५ निवासी  ९२ वर्षीय केदारनाथ चालिसे बताउनुहुन्छ । अटुल्लोसँगै कागभलायो, कुकुरडाइनो, लुतेझार, पानीसरो, रातपातेजस्ता औषधीय गुण बोकेका वनस्पतिका साथै कागती, निबुवा, अम्बा, अनार, नासपाती आदि फलफूल पनि राख्ने चलन गरेको उहाँ बताउनुहुन्छ । उहाँ यस्तो परम्पराले घर घरमा आइपर्न सक्ने रोगव्याधिलगायत अन्य अनिष्टबाट बचाउने शास्त्रीय मान्यता रहेको बताउनुहुन्छ । आफ्नो बाल्यकालमा यो अवसलाई उत्सवकै रूपमा मनाउने गरेपछि अहिले त्यो परम्परा लोप हुँदै गएकामा उहाँको चिन्ता छ ।  

त्यस्तै मध्यपुर ठिमीका ७७ वर्षीय तुलसीराम बस्नेत पनि साउनेसङ्क्रान्तिको साँझ नाङ्लो ठटाउँदै  ‘लुतो लैजा, पिलो लैजा, रोग लैजा भन्दै, चिच्याउँदै’ लुतो फाल्ने गरेको सम्झिनुहुन्छ । उहाँ भन्नुहुन्छ, “नयाँ पुस्तालाई त सायद यो थाहा पनि नहोला । हामीले उनीहरूलाई यस्ता संस्कृति परम्पराको महìव बुझाउन सकेनौँ ।” उहाँको स्वयंले २५ वर्ष भयो लुतो फाल्न छोडेको । ज्योतिषी आदित्यराज बढ्दो आधुनिकीकरणले हाम्रो समाजका यस्ता मौलिक परम्परा लोप हुँदै गएको टिप्पणी गर्नुहुन्छ । लुतो पन्छाउने पर्वमा महत्त्व बारेमा प्रकाश पार्दै उहाँ भन्नुहुन्छ, “वर्षामा शरीरमा अनेकौँ किराले टोकेर शरीर सुनिने, घाउ खटिरा आउने हुँदा शरीर स्वास्थ्यका लागि कण्डारकको पूजा गर्ने र लुतो फाल्ने चलन चलेको शास्त्रमा उल्लेख छ ।” 

उहाँले लुतो फ्याँक्दा नाङ्लो ठटाउने, शङ्ख फुक्ने, घण्ट बजाउने, ढिकी कुट्ने र एकछिन घरको ढोका बन्द गर्ने चलन रहेको जानकारी दिनुभयो । साउन महिना भगवान् शिवको महिना  भएकाले विश्वास पनि रहेकाले यो अवधिमा महिनाभर शिवालयमा दर्शनार्थीको भिड लाग्छ । विशेष गरी महिलाहरू साउनेसङ्क्रान्तिका दिनदेखि एक महिना सौभाग्यको प्रतीक हरियो चुरा र मेहन्दी लगाएर शिवलाई प्रसन्न पार्न सोमबारे व्रत बस्ने गरेका छन् । यसै दिनदेखि सूर्य उत्तरी गोलाद्र्धबाट क्रमशः दक्षिणी गोलाद्र्धतर्फ जाने हुनाले दिन छोटो र रात लामो हुँदै जान्छ ।