• २१ असार २०८१, शुक्रबार

पचास लाख पशुलाई खोप

blog

काठमाडौँ, साउन २ गते ।  कृषि तथा पशुपन्छी विकासमन्त्री डा. बेदुराम भुसालले पशुमा फैलिएको लम्पी स्किन रोग नियन्त्रणका लागि सात वटै प्रदेशमा टोली परिचालन गरिएको बताउनुभएको छ । सङ्क्रमित पशुको उपचार र निरोगी पशुलाई सङ्क्रमणबाट बचाउन खोप लगाउने अभियान चलाउने तयारी रहेको पनि उहाँले उल्लेख गर्नुभयो । 

एक महिनाको सङ्क्रमणको फैलावटलाई हेर्दा क्रमिक रूपमा घटेको देखिए पनि नयाँ ठाउँमा पुनः फैलिहाल्ने भएकाले समस्या थपिएको उहाँले बताउनुभयो । उहाँले सरकारको अहिलेको प्राथमिकता भनेकै खोप र उपचार रहेकाले तीन वटै तहको समन्वयमा सङ्क्रमण नियन्त्रणमा प्रयास गरिरहेको बताउनुभयो । उहाँले कम्तीमा ५० लाख पशुलाई सङ्क्रमणविरुद्ध खोप लगाउने अभियान चलाउने तयारीमा रहेको जानकारी दिनुभयो ।  “समय लाग्छ कम्तीमा ५० लाख पशुलाई खोप लगाएपछि लम्पीलाई नियन्त्रणमा लिन सकिन्छ । त्यसका लागि तीन तहकै सरकारसँग समन्वय गरेर मात्रै अघि बढ्ने छौँ,” उहाँले भन्नुभयो ।  विद्यमान कानुनले क्षतिपूर्ति दिन सक्ने अवस्था नरहेकाले कानुन बनाउने र बिमित पशु मरेका छन् भने क्षतिपूर्तिको व्यवस्थापनलाई मुख्य प्राथमिकतामा राखिने उहाँले स्पष्ट पार्नुभयो ।

यो रोग अहिले ७७ जिल्लामा नै फैलिएको तर आफूले मन्त्रालयको जिम्मेवारी सम्हालेपछि प्रदेश र स्थानीय तहसँगको समन्वयमा उपचार तथा रोकथाममा केन्द्रित रहेर काम गरिरहेको उहाँले दाबी गर्नुभयो । मन्त्री भुसालले पशुसेवा विभागमा रहनुभएका सात जना सहसचिवलाई सातै प्रदेशमा पठाएर अध्ययन गर्दा सङ्क्रमणको आँकडा बढ्ने तथ्य आएकोे उल्लेख गर्नुभयो ।