• १२ मंसिर २०८१, बुधबार

नेपालगञ्जमा निःशुल्क एम्बुलेन्स सेवा

blog

नेपालगञ्जमा सोमबारदेखि निशुल्क एम्बुलेन्स सेवाको सुभारम्भ गरिँदै । तस्विर : गोविन्द शर्मा ।

गोविन्द शर्मा

बाँके, साउन १ गते । मातृ तथा नवजात शिशु मृत्युदर कम गर्न नेपालगञ्ज उप–महानगरपालिकामा सोमबारदेखि निःशुल्क एम्बुलेन्स सेवा सुरु गरेको छ । पाँच वटा एम्बुलेन्स बिरामीको सहजताका लागि चौबीसै घण्टा उपलब्ध हुने गरी परिचालन गरिएको नग प्रमुख प्रशन्त विष्टले जानकारी दिनुभयो । 

नगरप्रमुख विष्टले भन्नुभयो, “नेपालको संविधानले आधारभूत स्वास्थ्य सेवाको प्रत्याभूति गरेको सन्दर्भमा हामीले सानो सुरुवात गरेका छौं, यसबाट नेपालगञ्जवासी मात्रै नभई अन्यत्रबाट यहाँ आउने नागरिकले समेत लाभ लिन पाउनुहुनेछ ।” यसबाट गर्भवती र नवजात शिशुसहित ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्तिसहित आम नगरवासीले सेवा  पाउने नगरप्रमुख विष्टले बताउनुभयो । 

नेपालगञ्ज नगरपालिकालाई उप–महानगरपालिका बनाउँदा गाभिएका साविकका गाउँ विकास समितिमा अहिले पनि स्वास्थ्य सेवा उपभोगको अवस्था कमजोर छ । 

नेपालगञ्ज उप–महानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर चन्दका अनुसार गत आवमा नेपालगञ्जमा ९ जना आमाको प्रसूति अवस्थामा निधन भएको तथ्याङ्क  छ। उनीहरुमध्ये अधिकांशको स्वास्थ्य संस्था नपुग्दै र बीच बाटोमै निधन भएको चन्दले बताउनुभयो । 

चन्दले भन्नुभयो, “नेपालगञ्ज सुगम भए पनि पछि थपिएका वडाका टोलहरु अहिले पनि विकट क्षेत्रका रुपमा छन, निःशुल्क एम्बुलेन्स सेवा उनीहरुका लागि बढी प्रभावकारी हुनेछ।” नगरवासीले टेलिफोनमार्फत जानकारी गराएपछि तत्कालै एम्बलेन्स सेवा उपभोग गर्न पाउने उप–महानगरपालिकाले जनाएको छ । 

नेपालगञ्ज उप-महानगरपालिकाका उप-प्रमुख कमरुद्धिन राई र प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद रिजालले निःशुल्क एम्बुलेन्स सेवा सुरु भएपछि समयमै उपचार नपाएर ज्यान गुमाउनुपर्ने अवस्थाको अन्त्य हुने बताउनुभयो ।