• १२ असोज २०८१, शनिबार

नेपाललाई अन्तर्राष्ट्रिय महिला फुटबल शृङ्खला

blog

काठमाडौँ, साउन १ गते । स्थानापन्न गोलरक्षक अञ्जना रानामगरले दुई पेनाल्टी रोकेपछि नेपालले आइतबार घरेलु टिम बङ्गलादेशलाई दोस्रो तथा अन्तिम खेलमा टाइब्रेकरमा ४–२ ले हराएर अन्तर्राष्ट्रिय महिला फुटबल मैत्री शृङ्खलाको उपाधि जितेको छ । नेपालले १–० ले शृङ्खला हात पारेको छ । गत भदौमा दशरथ रङ्गशालामा भएको फाइनलमा नेपाललाई हराएर बङ्गलादेश साफ च्याम्पियन भएको थियो । यी दुई टिम त्यसपछि पहिलो पटक भिडेका हुन् । त्यसैले बङ्गलादेशमै दुई खेलको मैत्री शृङ्खला हात पारेर नेपाल बदला लिन सफल भएको छ ।

निर्धारित समयको खेल गोलरहित बराबरीमा सकिएपछि जित हारको निर्णय पेनाल्टी सुटआउटमा गरिएको हो । यी दुईबिचको पहिलो खेल १–१ ले बराबरीमा सकिएको थियो । ढाकाको कमलपुरस्थित वीर श्रेष्ठ सहिद सिपाही मोहम्मद मुस्तफा कमल रङ्गशालामा भएको निर्णायक खेलमा टाइब्रेकरका लागि प्रशिक्षक अनन्तराज थापाले अञ्जनालाई ९० औँ मिनेटमा विशेषज्ञ पेनाल्टी गोलरक्षकका रूपमा मैदानमा छिराउनुभएको थियो । प्रशिक्षक थापाको विश्वासलाई कायम राख्दै अञ्जनाले सेइली अजिम र मारिया मन्डाको दोस्रो र तेस्रो पेनाल्टी रोकेर नेपाललाई जित दिलाउनुभयो । यद्यपि उहाँ पेनाल्टी प्रहारमा चुक्नुभएको थियो । अञ्जनाको प्रहार गोलपोस्टमा लागेर बाहिरिएको थियो ।  नेपालका लागि सावित्रा भण्डारी, हीरा भुजेल, दीपा शाही, अनिता केसीले पेनाल्टीमा सफलता पाउनुभयो । बङ्गलादेशकी साम्सुनार र मोनिका चक्माले गोल गर्नुभयो ।

यसअघि खेलको पाँचौँ मिनेटमा बङ्गलादेशकी कप्तान सविना खातुनले लामो दुरीबाट गरेको प्रहार गोलपोस्टमा लागेर फर्किंदा नेपाल भाग्यमानी साबित भएको थियो । दुवै टिमले टक्करको खेल खेले पनि गोलपोस्टको दुवै भागमा गोलकिपरहरू खासै व्यस्त बनेनन् । नेपालकी प्रमुख स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा’ ले  ४४ औँ मिनेटमा डिबक्ससम्म बल लगेर प्रहार गरेको बल बङ्गलादेशकी गोलकिपर रुपना चक्माले बिफल पार्नुभएको थियो । निर्धारित समय सकिन दुई मिनेट बाँकी छँदा राम्रो मुभमा दीपा शाहीले गोलपोस्टमा निशाना बनाएर गरेको प्रहारमा पनि गोलकिपर चक्मा बाधक बन्नुभएको थियो ।