• २३ वैशाख २०८१, आइतबार

नागरिकता वितरणमा टोकन प्रणाली

blog

जिल्ला प्रशासन कार्यालय सुनसरीमा नागरिकता लिनेको भीड । तस्बिर : जयकृष्ण यादव

जयकृष्ण यादव

इनरुवा, असार ३१ गते । जन्मसिद्ध नागरिकता प्राप्त गरेका नागरिकका सन्तानलाई वंशजको आधारमा नागरिकता वितरण सुरु गरिएको जेठ १२ गतेदेखि २७ गतेसम्म अर्थात् दुई हप्तामा एक हजार चार सय १५ जनालाई नागरिकता वितरण गरिएको छ । प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेका अनुसार बढ्दो भीडलाई व्यवस्थापन गर्न र कामलाई थप व्यवस्थित गर्न पालिका अनुसार आलोपालो प्रणाली लागु गरिएको छ भने टोनक प्रणालीमा सेवा प्रवाह भइरहेको छ ।

नयाँ ऐन र गृह मन्त्रालयको परिपत्र अनुसार नागरिकता वितरण भइरहेको प्रमुख जिल्ला अधिकारी पाण्डेले बताउनुभएको छ । उहाँका अनुसार भीड बढेपछि दैनिक ११० जनालाई सेवाप्रवाह गर्नेगरी टोकन प्रणाली लागु गरिएको छ ।

नयाँ व्यवस्था अनुसार नागरिकता वितरण सुरु भएपछि जिल्ला प्रशासन कार्यालय सुनसरीमा नागरिकता लिनेको भीड बढ्न थालेको छ । नागरिकता सम्बन्धी नयाँ ऐन लागु भएपछि जन्मसिद्ध नेपालीका छोराछोरीले नागरिकता लिनेको भिड बढेको हो । 

जेठ १२ गतेबाट नयाँ व्यवस्था अनुसार नागरिकता दिन थालिएकाले दैनिक नयाँ नागरिकता लिनेको भीड बढेको प्रशासन कार्यालयले जनाएको छ । लामो समयदेखि विवादमा रहेको नेपाल नागरिकता (पहिलो संशोधन) ऐन कार्यान्वयनको बाटो खुला भएपछि जन्मसिद्ध नागरिकता लिएका नागरिकका सन्तानलाई जिल्ला प्रशासन कार्यालयमा वंशजको आधारमा नागरिकता वितरण सुरु गरिएको छ । 

जिल्ला प्रशासन कार्यालयमा वंशजको नागरिकता वितरण गर्ने भएपनि फेरी रोक्नसक्ने संशयका कारण धेरैजसो नागरिकता लिने हतारोमा रहेको देखिएको स्थानीय सेवाग्राही देवराज यादवले बताउनुभयो ।

जिल्ला प्रशासन कार्यालयले १४ किसिमका कागजात पुर्याएपछि मात्रै जन्मको आधारमा नागरिकता दिने गरेको जनाएको छ । अनुसूची–१ अनुसारको सिफारिस, बाबु र आमाको सक्कल नागरिकता प्रमाणपत्र, अनलाइन दर्ता भएको सक्कल जन्मदर्ता प्रमाणपत्र, अध्ययन गरेको भए शैक्षिक प्रमाणपत्र, जन्मस्थान र नाता खुल्ने किटानी सिफारिस, स्थायी बसोबासको निस्सा, २०६३ को नाबालक दर्ता गरेको भए त्यसको निस्सा, बसाइसराइ भएको हकमा बसाइसराइको दर्ता प्रमाणपत्र, आवश्यकता अनुसार वडाको सर्जमिन मुचुल्का, बाबु र आमाको विवाह दर्ता र बाबुआमा कसैको वा दुवैको ज्यान गएको भए मृत्यु दर्ता प्रमाणपत्र पेस गर्नुपर्ने हुन्छ ।