• १२ असोज २०८१, शनिबार

मेस्सी मियामीमा अनुबन्धित

blog

काठमाडौं, असार ३१ गते ।अर्जेन्टिनाका विश्व चर्चित फुटबल स्टार लियोनल मेस्सी अमेरिकी सकर क्लब इन्टर मियामीमा औपचारिक रुपमा अनुबन्धित हुनुभएको छ ।

पछिल्लो दुई वर्ष फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) मा बिताउनुभएका मेस्सीले गत सिजनको अन्त्यसँगै पीएसजी छाड्ने घोषणा गर्नुभएको थियो । पीएसजी छाड्ने घोषण गरेसँगै मेस्सी आफुले दुई दशकभन्दा बढी समय बिताएको बार्सिलोना फर्कने चर्चा पनि उत्तिकै चलेको थियो ।

मेस्सी साउदी अरब जाने चर्चाले पनि पछिल्लो समय विश्व फुटबलमा चर्चा बटुलेको थियो । तर फरक हल्ला र चर्चाबीच मेस्सीले अमेरिकी क्लब मियामी रोज्नुभएको  हो । मेस्सीले एमएलएस क्लब मियामीसँग सन् २०२५ सम्म रहने सम्झौता गर्नुभएको छ ।

‘‘म इन्टर मियामीबाट अमेरिकामा करियरको अर्को कदम चाल्नका लागि उत्साहित भएको छु । यो मेरालागि राम्रो अवसर हो । हामी सबै मिलेर राम्रो परियोजना निर्माण गर्नेछौं । मियामीमा लक्ष्य प्राप्तिका लागि सबै मिलेर काम गर्नेछौं । म यहाँ आफ्नो नयाँ घर बनाउन लागिपरेको छु,’’ सम्झौतापछि मेस्सीले भन्नुभएको छ ।

अर्जेन्टिनालाई सन् २०२२ को कतार विश्वकप उपाधि जिताएपछि मेस्सीको चर्चा विश्व फुटबलमा थप चुलिएको थियो । मियामीका मालिक डेभिड बेकह्यामले मेस्सी अनुबन्धनपछि आफ्नो सपना पूरा भएको बताउनुभएको छ ।

३६ वर्षको ढल्कँदो उमेरमा मेस्सीले पहिलो पटक युरोप बाहिरको क्लब रोज्नुभएको हो । सर्वाधिक सात पटकका बालोन डी’ओर विजेता मेस्सी जुलाई २१ मा हुने लिग कपको उद्घाटन खेलबाट मियामीको जर्सीमा देखिनुहुनेछ । एजेन्सी