• २३ वैशाख २०८१, आइतबार

पहिरोको जोखिममा रहेको ताप्लेजुङ मैवाखोलाको बस्ती स्थानान्तरण हुने

blog

पहिरोको जोखिममा परेको साँघुको ओदक बस्ती। तस्बिरः चन्द्र पन्दाक

चन्द्र पन्दाक

ताप्लेजुङ, असार ३१ गते। ताप्लेजुङको मैवाखोला गाउँपालिकास्थित पहिरोको जोखिममा रहेको ओदक बस्तीलाई स्थानान्तरण गरिने भएको छ। मैवाखोला गाउँपालिका–४ साँघुको ओदक बस्तीका ६४ घरपरिवारलाई सुरक्षित ठाउँमा स्थानान्तरण गरिने भएको हो। 

मैवाखोला गाउँपालिका स्थानीय विपद् व्यवस्थापन समितिले शनिबार जोखिममा परेको बस्ती व्यवस्थापनबारे सर्वपक्षीय बैठक आयोजना गरेर बृहत् छलफल गरेको थियो। 

सर्वपक्षीय छलफलले पहिरोको जोखिममा परेको ओदक बस्तीलाई तत्काल वडा ३ साँघुस्थित खुला स्थानमा अस्थायी टहरा निर्माण गरेर स्थानान्तरण गर्ने निर्णय गरेको पालिका अध्यक्ष विजयप्रकाश वनेमले जानकारी दिनुभयो।

अध्यक्ष वनेमका अनुसार साउनको पहिलो साताभित्रै जनश्रमदानमार्फत अस्थायी टहरा निर्माणको कार्य सुरु गरिनेछ। टहरा निर्माणका लागि श्रमदानमा स्थानीयस्तरमा रहेका सबै राजनीतिक दल, सुरक्षा निकाय, जनप्रतिनिधिसहितको जनशक्ति परिचालित हुने पनि उहाँले जानकारी दिनुभयो।

यस्तै पहिरोको जोखिममा परेका परिवारको स्थायी बसोबास व्यवस्थाका लागि विभिन्न निकायसँग समन्वय गर्ने विषयमा बैठकमा छलफल भएको अध्यक्ष वनेमले जानकारी दिनुभयो। विपदका समयमा निःस्वार्थ भावनाका साथ पीडित तथा प्रभावित परिवारको सहयोगमा जुट्न पनि पालिका अध्यक्ष वनेमले सबैलाई अपिल गर्नुभएको छ। 

गत असार पहिलो साता भीषण वर्षासँगै गएको बाढीपहिरोका कारण मैवाखोला गाउँपालिका–४ साँघुको ओदक बस्ती उच्च जोखिममा परेको हो। अन्य वडामा पनि बाढीपहिरोको प्रभाव थियो भने सडक, सिँचाइका कुलो, झोलुङ्गे पुललगायतका संरचनामा पनि बाढीपहिरोले क्षति पुर्‍याएको गाउँपालिकाले जनाएको छ।