• २० असोज २०८१, आइतबार

पशुपतिनगर–मानेभन्ज्याङ सडक ढलान

blog

प्रेम अधिकारी 

पशुपतिनगर (इलाम), असार ३१ गते । नेपाल–भारत सीमावर्ती पशुपतिनगर–मानेभन्ज्याङ सडकको निर्माण सम्पन्न भएको छ। सूर्योदय नगरपालिका–२ को पशुपतिनगर बजारदेखि वडा नं. १ को नेपाल–भारत सीमानजिक रहेको मानेभन्ज्याङ बजारसम्मको सडक ढलान सम्पन्न भएको हो। 

सङ्घीय सरकार र सूर्योदय नगरपालिकाको तीन करोड ७१ लाख रुपियाँ लागतमा डिभिजन सडक कार्यालय मार्फत एक हजार दुई सय मिटर पक्की ढलान गरिएको छ। उक्त सडक निर्माण भएसँगै आफ्नै जिल्लाको अर्को गाउँ पुग्न भारतीय भूभाग भएर जानुपर्ने बाध्यता अन्त्य भएको सूर्योदय नगरपालिकाका प्रमुख रणबहादुर राईले जानकारी दिनुभयो। उहाँले सडक उद्घाटन गर्दै सीमावर्ती क्षेत्रको नेपालतर्फ सडक नहुँदा नेपाली नागरिकले भोग्दै आएको समस्याको अन्त्य भएको बताउनुभयो।

प्रमुख राईले भन्नुभयो, “आफ्नो भूमिमा सडक नहुँदा यहाँका बासिन्दाले विभिन्न बाधा व्यवधान झेल्दै भारतीय सडक प्रयोग गर्नुपथ्र्यो, अब त्यो अवस्था अन्त्य भएको छ।” सडक बन्नुअघि उक्त ठाउँ पुग्न भारतको सुकिया हुँदै जानुपर्ने बाध्यता थियो। 

पहिलो चरणमा एक हजार दुई सय मिटर सडकको पक्की ढलान भएको छ भने बाँकी सात किलोमिटर सडकको ग्राभेल र नालाको काम सम्पन्न भएको छ। बाँकी सडकको काम नयाँ आर्थिक वर्षमा हुने जनाइएको छ। उक्त सडक सूर्योदय नगरपालिकाको पशुपतिनगर हुँदै पाँचथरसम्म जोड्ने रिङरोड अन्तर्गत पर्छ। उक्त सडकलाई कृषि सडक अन्र्तगत राखेर काम सुरु गरिएको थियो। सडक निर्माणको जिम्मा भगवती बौद्ध सोहिना जेभीले लिएको थियो।

सडक निर्माणले आन्तरिक पर्यटकलाई नेपाली भूभाग हुँदै प्रसिद्ध चित्रेगुम्बालगायत उच्च पहाडी क्षेत्रका दर्जनौँ पर्यटकीय स्थल पुग्नसमेत सहज हुने स्थानीय बासिन्दा कमल गदालले बताउनुभयो। वडा नम्बर–१ को चित्रे गुम्बालगायत दुर्लभ रेडपान्डा अवलोकन गर्न जाने पर्यटकलाई अब सहज हुने उहाँले उल्लेख गर्नुभयो।