• १४ मंसिर २०८१, शुक्रबार

संसदीय दलको नेता परिवर्तनमा प्रयास निरन्तर रहन्छ : महामन्त्री थापा

blog

नेपाली कांग्रेसका महामन्त्री गगन थापा शनिबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग मुलुकको समसामयिक विषयमा कुराकानी गर्दै । तस्बिर : मनोज दाहाल/रासस

मोरङ, असार ३० गते । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाली कांग्रेस संसदीय दलको नेता परिवर्तनमा आफ्नो प्रयास निरन्तर रहने बताउनुभएको छ ।

विराटनगर विमानस्थलमा आज (शनिबार) सञ्चारकर्मीसँग कुरा गर्नुहुँदै महामन्त्री थापाले पार्टीका साथीहरूको साथ र सङ्ख्या पुगेको अवस्थामा संसदीय दलको नेता परिवर्तनका लागि सार्थक प्रयास हुने स्पष्ट पार्नुभयो । उहाँले पार्टीको विधानले संसदीय दलको नेता परिवर्तन गर्न स्थान दिएको र पार्टीभित्र पटक-पटक प्रयोग हुनाका साथै नेता परिवर्तन भएको उदाहरण रहेको विचार व्यक्त गर्नुभयो ।

देशको आवश्यकताअनुसार आजको दिनमा आफू दलको नेता भएमा पार्टीलाई राम्रोसँग सञ्चालन गर्ने महामन्त्री थापाको भनाइ थियो । कोशी सरकार निर्माणका सम्बन्धमा सर्वोच्च अदालतको आदेशलाई पार्टीले स्वीकार गर्ने उहाँले बताउनुभयो । केन्द्रीय समितिको बैठक नबसेको कारण कोशी सरकार गठनका सम्बन्धमा खुल्ला छलफल गर्न नसकिएको उल्लेख गर्नुहुँदै उहाँले यसबाट राष्ट्रिय राजनीतिका थुप्रै विषय प्रभावित पारेको धारणा राख्नुभयो ।

महामन्त्री थापाले केन्द्रीय समितिको बैठकले नीति महाधिवेशनको मिति तय गर्नाका साथै नीति अधिवेशनले  निर्वाचनमा राजनीतिक दलहरुबीच गठबन्धन गर्ने राजनीतिक संस्कृतिको अन्त्य गर्नाका साथै नयाँ बाटो खोज्ने बताउनुभयो । वर्तमान गठबन्धन सरकार परिवर्तन नहुने जिकिर गर्दै उहाँले सरकारले जनताप्रति दत्तचित्त भई कार्य गर्नुपर्नेमा जोड दिनुभयो । रासस