• १० मंसिर २०८१, सोमबार

स्मार्ट बन्ने होड

blog

“ल्यापटप बिग्रिएर हातै भाँचिए जस्तो भयो ।”

“मोबाइल घरमा छुटेर दिनभर तनाव भयो ।”


कार्यालय, कुनै जमघट वा साथीभाइसँगको भेटघाटमा यस्ता गुनासा हामी दिनहुँ सुन्ने गर्छौं । प्रविधिसँग अभ्यस्त अक्सर मान्छे यस्ता समस्याका भुक्तभोगी हुन्छन् । एक दिन ल्यापटप नचल्दा अथवा एक दिन मोबाइल नहुँदा जीवन नै ठप्प भएको अनुभव ल्यापटप र मोबाइल जस्ता पछिल्लो समय अत्यधिक प्रयोगमा आएका सूचना प्रविधिका साधन प्रयोगकर्ताहरूले गरेकै हुनु पर्छ । यसो त यी साधनको विकल्प मान्छेको आफ्नै दिमाग हो तर अचेल मान्छे आफ्नो दिमागको निकै कम प्रयोग गर्छन् । 

पछिल्लो समय विकसित सूचना प्रविधिले मान्छेको जीवनलाई यति सहज, सरल र सन्निकट बनाइदियो कि मान्छेले प्रविधिबिनाको जीवनको कल्पना पनि गर्न नसक्ने भएका छन् । स्टाटिस्टा डट कममा उल्लेख भए अनुसार अहिले विश्वको कुल जनसङ्ख्याको ६४.४ प्रतिशतले इन्टरनेट प्रयोग गर्छन् भने ५९.९ प्रतिशतले सामाजिक सञ्जालको प्रयोग गर्छन् । एक व्यक्तिले दिनको सरदर दुई घण्टा ३१ मिनेट सामाजिक सञ्जालमा बिताउँछन् । 

वैयक्तिक र व्यावसायिक प्रयोजनका लागि निर्मित सूचना प्रविधिका सहज र सरल साधन प्रमाणित ल्यापटप र मोबाइल मान्छेको जीवनकै अभिन्न अङ्ग साबित भएका छन् । एक दिन मोबाइल हातमा नहुँदा मान्छे केही सोच्नै नसक्ने भइसकेका छन् । एक दिन ल्यापटप साथमा नहुँदा मान्छे केही गर्नै नसक्ने भइसकेका छन् । एक दिन मात्रै हातमा मोबाइल र साथमा ल्यापटप नहुँदाको स्थिति कस्तो हुन्छ होला भनेर मान्छेले कल्पना पनि गर्न नसक्ने भइसकेका छन् । सूचना प्रविधिमाथिको अत्यधिक निर्भरताले मान्छे परनिर्भर जस्तै बनिसकेका छन् । यद्यपि यस्तो परनिर्भरताले मान्छेको दैनिकी, उसको कार्यशैली र जीवनशैलीलाई सहज र सरल बनाइदिएको भने अकाट्य सत्य हो ।

आजको सन्दर्भमा भन्नु पर्दा सूचना प्रविधिबिना मान्छेको दैनिकी नै ठप्प हुन्छ । जीवन नै निष्क्रिय हुन्छ । समयको एक–एक पल मान्छेका लागि अल्छी लाग्दो हुन्छ र पट्यार लाग्दो बन्छ । हातमा मोबाइल र साथमा ल्यापटप नहुँदाको जीवन मान्छेका लागि निकै कष्टकर र असहज हुन्छ । मोबाइल र ल्यापटपले नै हो मान्छेलाई सक्रिय बनाउने । मान्छेको जीवनलाई व्रिmयाशील बनाउने र मान्छेले बिताउने एक–एक पल समयलाई रोमाञ्चक बनाउने । अबका मान्छेले प्रविधिबिनाको समय र जीवनका बारेमा सोच्न पनि सक्दैनन् ।

प्रविधि दिनप्रतिदिन स्मार्ट बन्दै छ । स्मार्ट प्रविधिले मान्छेलाई पनि स्मार्ट बनाएको अनुभूति छ र अनुभव छ । यथार्थ पनि यही नै हो कि मान्छे मात्रै होइन, मान्छेको हरेक गतिविधिलाई पनि स्मार्ट बनाएको छ आधुनिक प्रविधिले । त्यसैले समयको बचत भएको छ । श्रमको लागत कम भएको छ । मान्छेको कार्यकुशलतामा वृद्धि भएको छ र मान्छेको कार्य गुणस्तरयुक्त भएको छ तर प्रविधिले मान्छेलाई स्मार्ट मात्रै होइन, अल्छी पनि बनाएको छ । बौद्धिक रूपमा कमजोर बनाएको छ । यो पनि सत्य हो । आफ्नो दिमागको प्रयोगै नगरी अर्काको दिमागको इसारामा चल्ने मान्छे अल्छी नभए के हो त ?

प्रकृतिको अनौठो वरदान हो मान्छेको दिमाग । सिर्जनाको अनुपम भण्डार पनि हो मान्छेको दिमाग । मान्छेको दिमागमा विचार, कल्पना र सिर्जनाको अपार शक्ति छ । अर्थात् मान्छेको दिमाग विचारशील छ, कल्पनाशील छ र सिर्जनशील पनि छ । मान्छेको दिमागमा रहेको विचार, कल्पना र सिर्जना शक्तिको सही र अधिकतम उपयोग गर्ने हो भने अथाह र अगणित सिर्जना हुन सक्छ । अनौठो आविष्कार हुन सक्छ । 

मान्छेको दिमागको विचार, कल्पना र सिर्जनाले नै संसारमा नयाँनयाँ आविष्कार भएका हुन् । नयाँनयाँ सिर्जना भएका हुन् र नयाँनयाँ सिद्धान्तको प्रतिपादन भएका हुन् । हामीले अनुभव गरेको र हामीले उपभोग गरेको अकल्पनीय एवं चरम भौतिक विकास पनि मान्छेको दिमागको विचार र कल्पना शक्तिकै कारण सम्भव भएको हो । पछिल्लो समय निकै रफ्तारमा भइरहेको सूचना प्रविधिको विकास पनि त्यही दिमागको विचार, कल्पनाशीलता र सिर्जनशीलताकै उपज हुन्, जसले मान्छेको जीवनलाई सोचेभन्दा अझ बढी सहज, सरल र सन्निकट बनाइदिएको छ । प्रविधिको प्रयोगमा भएको अकल्पनीय वृद्धि र त्यसमा दिनप्रतिदिन भइरहेको नयाँनयाँ अद्यावधिक परिवर्तनले प्रयोगकर्तामा थप उत्सुकता पनि जगाएको छ । चासो पनि बढाएको छ । यसैको फलस्वरूप अहिले विकासको अग्रपङ्क्तिमा प्रविधिले स्थान सुरक्षित गरिरहेको छ । 

यद्यपि सोचनीय कुरा के हो भने सूचना प्रविधिको क्षेत्रमा संसारभरि नै विचार, कल्पना र सिर्जनशीलताका उपभोक्ता मात्रै बढे, स्वयं आफैँ विचार गर्ने, कल्पना गर्ने, सिर्जना गर्ने र नयाँ सिद्धान्त प्रतिपादन गर्नेहरू बढ्न सकेनन् अथवा बढ्न चाहेनन् । सूचना प्रविधिको मुख्य अङ्गका रूपमा तीव्र रफ्तारमा विकसित मोबाइल, ल्यापटप र ग्याजेट यस्ता साधन हुन्, जसले मान्छेलाई आफ्नै दिमागले सोच्ने, विचार गर्ने, कल्पना गर्ने र सिर्जना गर्ने अवसर नै दिँदैनन् । यी साधनले मान्छेलाई खाली अरूकै विचार, अरूले प्रतिपादन गरेको सिद्धान्त र अरूले निर्माण गरेको प्रविधिको उपयोग गर्न मात्रै प्रेरित गर्छन् र उत्साहित गर्छन् । 

यस अर्थमा संसारभरिका मान्छे सीमित व्यक्ति र सीमित कम्पनीका दास बन्न पुगेका छन् । सीमित उत्पादकका उपभोक्ता मात्रै बन्न पुगेका छन् । गुगलका जन्मदाता सर्ज ब्रिन र लारी पेज हुन् अथवा फेसबुकका जन्मदाता मार्क जुकरवर्ग हुन् अथवा ट्विटरका जन्मदाता एलन मस्क, यिनीहरूकै मुट्ठीमा छ अहिलेको संसार । अरू धेरै कुरा छोडौँ, गुगल, फेसबुक र ट्विटर मात्रै नभए के हुन्छ यो संसार ? एक दिन संसारभर इन्टरनेट नचले के हुन्छ होला ? कल्पना पनि गर्न नसक्ने अवस्थामा पुगिसकेका छौँ हामी । कल्पना गरिहाल्यौँ भने पनि कहाली लाग्ने छ, हामीलाई सूचना प्रविधिबिनाको असहज र कठिन जीवन सम्झेर ।

अहिले सबै कुरा त नभनौँ, धेरै कुरा सूचना प्रविधिभित्रै छन् । अझ प्रस्ट भन्नुपर्दा मान्छेको दैनिक जीवनमा प्रयोग हुने धेरै कुरा मोबाइल र ल्यापटपमा छन् । घरबाट निस्केको मान्छेको मोबाइल घरमै छुट्यो भने उसको धेरै कुरा घरमै छुट्छ । उसको त्यो दिनको धेरै कामकुरा अपूरो र अधुरो हुन्छ । अझ ल्यापटप घरमा छुट्यो भने त उसको त्यो दिन नै बेकारमा बित्छ । उसले केही काम गर्न सक्दैन । हातै भाँचिए जस्तो हुन्छ । एउटा ल्यापटपको अभावमा उसले दिनभर धेरै कुराको अभावमा बिताउनुपर्ने हुन्छ र त्यो दिनभर उसले तनावमा बिताउनुपर्ने हुन्छ । 

सूचना प्रविधिमाथिको अत्यधिक निर्भरताले मान्छेको दिमाग नै बोधो बन्न थालेको छ । मान्छे आफैँ सर्जक वा प्रतिपादक होइन, केही सीमित व्यक्ति अथवा सीमित कम्पनीका उत्पादनका प्रयोगकर्ता अथवा अनुयायी मात्रै बनेका छन् । अर्काको विचार, कल्पना र सिर्जनाको अनुयायी मात्रै बन्दा आफ्नो दिमागले केही सोच्ने, विचार गर्ने, कल्पना गर्ने र सिर्जना गर्नै छोडेको छ र यसरी सोच्ने, विचार गर्ने, कल्पना गर्ने र नयाँ नयाँ सिर्जना गर्ने शक्ति नै क्षीण हुँदै गएको छ । 

अहिले त झन् गुगलको बिस वर्षे प्रभुत्वलाई नै खतरामा पार्दै आक्रामक ढङ्गले अगाडि आएको छ च्याटजिपिटी, जसले हामीले सोधेका सबै प्रश्नको उत्तर दिन्छ रे ! हामीलाई मन पर्ने लेखककै शैलीमा कथा, कविता र निबन्ध नै लेखिदिन्छ रे ! यति भएपछि मान्छेले आफ्नो दिमागको प्रयोग किन गर्नु प¥यो ? मान्छेको दिमागलाई बोधो बनाउने र मान्छेलाई अर्काको विचार, कल्पना र सिर्जनाको अनुयायी वा दास मात्रै बनाउने काममा सूचना प्रविधिको प्रमुख भूमिका छ । सूचना प्रविधिको विकासले कम्तीमा मान्छेको विचार, कल्पनाशीलता र सिर्जनशीलतालाई नमारिदिए हुन्थ्यो ।

सूचना प्रविधिको अत्यधिक प्रयोगले बाहिरी रूपमा मान्छे र मान्छेको जीवन त स्मार्ट बनेको छ तर भित्रभित्रै अथवा बौद्धिक हिसाबले मान्छे अल्छी र बौद्धिक रूपमा कमजोर बन्न पुगेका छन् । हाम्रा अनपढ बाउबाजेहरू अझै पनि हजार र लाखका हिसाब हातको औँला भाँचेर गर्न सक्छन् । हामीलाई हजारको हिसाब गर्न पनि क्यालकुलेटर नथिची हुँदैन । हामीलाई हाम्रो आफ्नै क्षमतामाथि विश्वास लाग्न छाडेको छ । केही कुराको समाधान खोज्न हामी दिमाग लगाउँदैनौँ बरु खुरुक्क इन्टरनेट खोल्छौँ, गुगल सर्च गर्छौं अथवा युट्युबमा खोज्छौँ । सुविधाभोगी हुँदै सजिलोको पछि लाग्ने बानीले हामीलाई अल्छी मात्रै बनाएको छैन, परनिर्भर अथवा परजीवी पनि बनाएको छ । आर्थिक रूपमा मात्रै होइन, बौद्धिक रूपमा पनि हामी परनिर्भर बन्दै गइरहेका छौँ ।

बुद्धि विलासमा पनि सजिलै परनिर्भर बन्नु चिन्ताको विषय हो । यो चिन्तालाई निम्त्याएको छ अहिलेको जल्दोबल्दो सूचना प्रविधिले । संसार नै केही सीमित व्यक्तिको बुद्धि, विचार, कल्पना र सिर्जनाको कैदी बन्न पुगेका छन् । औँलामा गन्न सकिने सीमित प्रतिपादकका असङ्ख्य अनुयायी बन्ने प्रतिस्पर्धाले संसारभरिका मान्छेको दिमाग नै निष्व्रिmय बनिरहेको छ । संसारभरि नै बौद्धिक दासहरूको सङ्ख्या मात्रै बढिरहेको छ । दास प्रथा संसारबाट लोप भइसके पनि बौद्धिक दासताले भने दिनप्रतिदिन प्रश्रय पाइरहेको छ सूचना प्रविधिकै कारण । 

संसारभर स्मार्ट तर बौद्धिक रूपमा कमजोर मान्छेहरूको सङ्ख्या बढिरहेको छ । मौलिक सिर्जनामा भन्दा भर्चुअल संसारमा रमाउनेहरूको सङ्ख्या बढिरहेको छ । आफ्नै विचार, कल्पना र सिर्जनाभन्दा अरूको विचार, कल्पना र सिर्जनालाई अनुसरण गरेर आफू विद्वान् बनेको आत्मरतिमा रमाइरहेका छन् मान्छे । परिणामतः सिर्जनाको अनौठो शक्ति भएको मान्छेको दिमागको नै कम उपयोग हुन थालेको छ र मौलिक र नवीन सिर्जना हराउन थालेको छ । देख्नलाई स्मार्ट तर बैद्धिक रूपमा कमजोर मान्छेको दिमागबाट मौलिक विचार, कल्पना र सिर्जनाको अपेक्षा गर्न सकिन्न ।  

Author

रत्न प्रजापति