• २० असार २०८२, शुक्रबार

रोकिएन सीमा नाकाबाट तस्करी

blog

सिराज खान 

नेपालगन्ज, असार ३० गते  । घरेलु प्रयोगको नाममा सीमापारी रुपैडिहा बजारबाट हजारौँ रुपियाँको सामान खरिद गरेर राजस्व चुहावट गर्ने कार्य रोक्न केही समययता मुख्य नाका जमुनाहामा अत्यधिक कडाइ गरिएको छ। 

सोही कारणले अहिले सीमापारीबाट सय रुपियाँभन्दा बढीको सामान खरिद गरेर ल्याउनेहरूबाट राजस्व असुली गर्न थालिएको छ। मुख्य नाकामा राजस्व असुलीमा कडाइ गरिए पनि नाका वरपरबाट हुँदै आएको तस्करी र अवैध आयात भने रोकिएको छैन। 

मुख्य नाकामा खटिएको सुरक्षा निकाय र अन्य विभिन्न स्थानमा रहेको प्रहरीले कडाइ गरेर राजस्व छलेर सामान भित्रिन नदिए पनि वरपरका बाटो र मिलेमतोमा हुँदै आएको तस्करी भने निरन्तर जारी छ। 

गत केही समयदेखि सशस्त्र प्रहरीले पनि जिल्लाको ६५ किलोमिटरको खुला नाकामा तस्करी र अवैध आयात रोक्न कडा अभियान चलाएको छ तर अवस्था भने उस्तै छ। भन्सार कर्मचारी र प्रहरीले आफ्नो काम गरिरहेको छ भने तस्करहरू पनि आफ्नो काममा निरन्तर लागिरहेका कुरा स्थानीय बासिन्दा बताउँछन्। 

मुख्य नाकालगायत ससाना नाकामा समेत प्रहरी सक्रिय रहे पनि त्यहाँबाट भित्रिएको ठुलो परिमाणको अवैध सामान धेरै पटक प्रहरीले नेपालगन्ज, कोहलपुर र खजुराबाटसमेत नियन्त्रणमा लिँदै आएको छ। 

प्रहरीले कडा रूपमा निगरानी गरे पनि तस्करी जारी रहनुमा तस्कर नसमातिनु नै प्रमुख कारण रहेको नाका वरिपरिका स्थानीयको भनाइ छ। जैसपुरका मोहम्मद रमजानले प्रहरीले तस्करी र अवैध रूपमा भित्रिएको सामान पटकरपटक बरामद गरे पनि अधिकांश ठाउँमा तस्करलाई पक्राउ नगर्दा वा गर्न नसक्दा तस्करी नरोकिएको बताउनुभयो। 

उहाँले प्रहरीको फन्दामा नपरेका तस्करले फेरि पनि तस्करी जारी राख्ने गरेकाले यो कहिले पनि नरोकिने दाबी गर्नुभयो। सोबारेमा बाँकेका प्रहरी प्रमुख एसपी सन्तोषसिंह राठौरसँग प्रश्न गर्दा उहाँले तस्करी र अवैध आयात रोक्न प्रहरी अति नै क्रियाशील रहेको जनाउँदै सोही कारणले पटक/पटक अवैध सामान बरामद हुने गरेको बताउनुभयो। 

नेपाल–भारत नाकाको विभिन्न ठाउँमा सुरक्षाकर्मीको राम्रो उपस्थिति हुँदाहुँदै पनि निरन्तर रूपमा अवैध तरिकाले सामान भित्रिनु र सो क्रम सधैँ जारी रहनु चिन्ताको विषय बनेको स्थानीयको भनाइ छ।