• २२ वैशाख २०८१, शनिबार

सय वर्षका लागि गोरखापत्रको ग्राहक

blog

काठमाडौँ असार ३० गते । प्रकाशनका सुरुका केही वर्ष ग्राहक अभावले गोरखापत्रले सकस व्यहोर्नुपरेका कुरा त्योबेला प्रकाशित विज्ञापनबाट स्पष्ट हुन्छ– “ग्राहकवर्गले यस्का उपर कृपादृष्टि नदिनु भयाका हुनाले अब यो गोर्खापत्र चल्नालाई बडा मुश्किल हुने जस्तो बुझियो यस कारण यो सूचना गरियाको हो । येस गोर्खापत्रले आफ्नू उत्साह बढाउने ग्राहकहरु नभयाको देखेर सबैसँग बिदा माग्दछ कि भने जस्तो भयाको छ ।” प्रकाशन बन्द नै गर्नुपर्ने स्थितिका बारेमा यो गुनासोबाट अनुमान गर्न सकिन्छ ।


१९६२ साल वैशाख २६ गते निकै चित्त दुःखाउँदै गोरखापत्रले छाप्यो, “हाम्रो यो गोर्खापत्रको ग्राहक १००० पु-याउनु बाग्मतीमा जहाज चलाउनु जस्तो भयो ।”


हो, त्यो बेला स्थिति कठिन थियो । सङ्घर्ष गर्दै प्रकाशनको १२२ वर्ष पूरा गरेको गोरखापत्रको अवस्था अब त्यो बेलाको जस्तो छैन । ग्राहकको माया र विश्वास चुलिदाें छ । विगतमा एकैपटक १० वर्षका लागि अग्रिम ग्राहक बनेका घटना त थिए तर शुक्रबार एक सय वर्षका लागि अग्रिम ग्राहक बनेर नयाँ कीर्तिमान कायम भएको छ । सम्भवतः विश्वमै यो पहिलो घटना हुनसक्छ ।  


शुक्रबार बसुन्धरा–मान प्रतिष्ठान, बालुवाटारले एक सय वर्षका लागि ग्राहक बनेपछि गोरखापत्र संस्थानको इतिहासमा प्रतिष्ठान पहिलो शताब्दी ग्राहक बन्न सफल भएको छ । प्रतिष्ठानका सल्लाहकार बद्रीप्रसाद ढकालले एक सय वर्षका लागि ग्राहक बनेवापतको रकम आज संस्थानमा भुक्तानी गर्नुभयो । प्रतिष्ठानले पत्रिकाबापतको शुल्क अग्रिम भुक्तानी गरेपछि संस्थानले ग्राहक शुल्कमा ४० प्रतिशत छुट प्रदान गरेको छ । उहाँले एक सय वर्षका लागि हुन आउने कुल तीन लाख ६५ हजार रुपियाँमा छुट दिएर दुई लाख १९ हजार रुपियाँको चेक संस्थानका वितरण विभाग प्रमुख भगिरथ बस्नेतलाई हस्तान्तरण गर्नुभयो । संस्थानका प्रकाशनहरू शनिबारदेखि प्रतिष्ठान कार्यालयमा उपलब्ध हुनेछन् ।


आगामी एक सय वर्ष अर्थात् २१८० साल असार २९ गतेसम्म प्रतिष्ठानले गोरखापत्र नियमित प्राप्त गर्नेछ । प्रतिष्ठानका सल्लाहकार ढकालले संस्थानको प्रकाशनप्रति विश्वास लागेर एक सय वर्षका लागि ग्राहक बन्ने निर्णय गरिएको बताउनुभयो ।


“ग्राहक बन्नुअघि प्रतिष्ठानका पदाधिकारीबीच १० वर्ष वा ५० वर्षको ग्राहक बन्ने कि भनेर छलफल भएको थियो तर पछि एक सय वर्षका लागि ग्राहक बन्नुपर्छ भन्ने निर्णय भयो” उहाँले थप्नुभयो, “नेपालकै पुरानो र इतिहास बोकेको पत्रिकाको ग्राहक बन्न पाउँदा प्रतिष्ठान गौरवान्वित भएको छ ।”


नेपालको भाषा, साहित्य, कला तथा संस्कृति उत्थानमा गोरखापत्र संस्थानको प्रकाशनका  महत्वपूर्ण योगदान रहेकाले संस्थानको प्रकाशन प्रवद्र्धनका लागि आफूहरु ग्राहक बन्ने निर्णयमा पुगेको उल्लेख गर्दै उहाँले प्रतिष्ठान पनि गोरखापत्र संस्थानजस्तै भाषा, साहित्य, कला र संस्कृतिको उत्थानको अभियानमा रहेकाले ग्राहक बन्ने निर्णय भएको बताउनुभयो ।  


जापानका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदी (दुवसु क्षेत्री) द्वारा आमा र बाबुको स्मृतिमा गठित संस्थाले एक सय वर्षको ग्राहक बन्ने निर्णय गरेपछि पाठकमाझ सकारात्मक सन्देश प्रवाह भएको संस्थान पदाधिकारीको बुझाइ छ ।


गोरखापत्र संस्थानका कार्यकारी अध्यक्ष विष्णुप्रसाद सुवेदीले प्रतिष्ठानको निर्णयले हामीलाई थप विश्वसनीय र जिम्मेवार बन्ने प्रेरणा प्रदान गरेको बताउनुभयो । उहाँले संस्थानप्रति अपार माया र विश्वासको प्रतीकको रुपमा आफूले यो कदमलाई लिएको उल्लेख गर्दै भन्नुभयो, “आगामी एक सय वर्षसम्म पनि गोरखापत्र सबल भएर बाँचिरहोस् भन्ने सदिच्छा यसमा जोडिन पुगेको छ, जुन एकदम सकारात्मक पक्ष हो ।”


गोरखापत्र संस्थानका महाप्रबन्धक लालबहादुर ऐरीले गोरखापत्रको १२३ औं वर्ष प्रवेशको अवसरमा संस्थानले नयाँ ग्राहक योजना अभियानअन्तर्गत प्रतिष्ठान पनि ग्राहक बनेको बताउनुभयो । प्रतिष्ठानको निर्णयले संस्थानले देश र समाजप्रति गरेको योगदानको कदर गरेको सन्देश गएको विश्वास व्यक्त गर्दै उहाँले भन्नुभयो यसले नातिदेखि पनाती पुस्तासम्म गोरखापत्रको विश्वास जागृत गर्ने धारणा व्यक्त गर्नुभयो ।


प्रतिष्ठान २०५६ फागुनमा स्थापना भएको हो । नेपाली साहित्य, कला, संस्कृतिको उत्थानमा योगदान दिने व्यक्तित्वलाई प्रतिष्ठानले सम्मानित गर्दै आएको छ । एक सय वर्षका लागि ग्राहक बनेकाले हरेक वार्षिकोत्सवमा प्रतिष्ठानलाई सम्मानित गरिने भएको छ । संस्थानका अध्यक्ष सुवेदीले प्रतिष्ठानका सल्लाहकार ढकाललाई गोरखापत्रको पहिलो अङ्क हस्तान्तरण गर्नुभयो ।   

Author
लक्की चौधरी

उहाँ गोरखापत्र अनलाइनका उपसम्पादक हुनुहुन्छ ।