• १५ मंसिर २०८१, शनिबार

बिरुवा बिक्रीबाटै मनग्गे आम्दानी

blog

सिन्धुली समाचारदाता

गोलन्जोर (सिन्धुली), असार ३० गते । सिन्धुलीको गोलन्जोर गाउँपालिका–५, हिर्दिङ निवासी रमेश थापालाई यतिखेर आफ्नो नर्सरीमा उत्पादन भएको जुनारको बिरुवा बिक्री गर्न भ्याइनभ्याइ छ । जुनारको बिरुवा रोप्ने मुख्य सिजन भएकाले बिरुवा बिक्री गर्दै आफ्नो दैनिकी बित्ने गरेको उहाँले सुनाउनुभयो । “हरेक वर्ष मनसुन सुरु भएपछि जुनारको बिरुवा बिक्री गर्ने सिजन पनि सुरु हुन्छ,” विगत १० वर्षदेखि नर्सरी व्यवसाय गर्दै आउनुभएका थापाले भन्नुभयो, “यो वर्ष असारको सुरुदेखि अहिलेसम्म १३ हजार जुनारको बिरुवा बिक्री गरेँ, अझै १० हजार जति बिरुवा बिक्री गर्न बाँकी छ ।”

आफ्नो नर्सरीमा जुनारका अतिरिक्त कागती, एभोकाडो, खुर्पानेको पनि बिरुवा रहेको र सबै बिरुवा गरी ४० हजार जति बिक्री गरिसकेको उहाँले बताउनुभयो । अहिलेसम्म बिक्री गरेको सबै बिरुवाबाट करिब २५ लाख रुपियाँ आम्दानी लिइसकेको पनि उहाँले जानकारी दिनुभयो । थापाका अनुसार उहाँसँग ३० हजार बिरुवा उत्पादन क्षमताका जुनारका बिरुवा उत्पादन गर्न तीन वटा प्लास्टिकका घर (स्क्रिन हाउस) छन् । प्लास्टिकको घरबाहिर खुला बगैँचामा पनि कागती, एभोकाडो र खुर्पानेको बिरुवा उत्पादन गर्नुभएको छ । जुनारको बिरुवा प्रतिगोटा १२५ रुपियाँ, कागतीको एक वर्षको बिरुवा प्रतिगोटा २५ रुपियाँ, दुई वर्षको ६० रुपियाँ र स्क्रि न हाउसभित्रको बिरुवा १५० रुपियाँमा बिक्री हुँदै आएको छ । बिरुवा स्थानीयस्तरमा र रामेछाप जिल्लामा खपत हुँदै आएको नर्सरीधनी थापाको भनाइ छ । 

त्यस्तै गोलन्जोर गाउँपालिका–४, माझकुभिण्डे निवासी पदमबहादुर ठाडाको दिनचर्या जुनारको बिरुवा बिक्री गर्नमा बित्दै आएको छ । रोजगारीको खोजीमा लाखौँ रुपियाँ खर्चेर विदेश जाने युवाका लागि जिल्लाको दुर्गम क्षेत्रमा बसेर नर्सरी खेती गरी मनग्ये आम्दानी लिएर उहाँ उदाहरणीय बन्नुभएको छ ।

नर्सरीधनी ठाडाले गाउँमै बसेर ३९ वर्षदेखि नर्सरी खेतीबाट बर्सेनि लाखौँ रुपियाँ आम्दानी लिँदै आउनुभएको छ । २०३८ सालदेखि नर्सरी खेती गर्दै आउनुभएका किसान ठाडाले असार  महिनामा मात्रै जुनारका बिरुवा बिक्री गरी अढाइ लाख रुपियाँ आम्दानी लिइसकेको जानकारी दिनुभयो । आफ्नो सबै लगानी नै नर्सरीमा रहेकाले त्यसैको आम्दानीले घर खर्चदेखि छोराछोरी पढाउनेलगायतका व्यवहार टरेको उहाँले सुनाउनुभयो । नर्सरीधनी ठाडाले १५ लाख रुपियाँ लगानी गरी चार हजार बिरुवा उत्पादन गर्ने क्षमताको एउटा स्क्रिन हाउस निर्माण गर्नुभएको छ । उहाँले स्क्रि न हाउस र बाहिर खुल्ला ठाउँमा जुनारसहित सुन्तलाको बिरुवा उत्पादन गर्दै आउनुभएको छ । 

अब तीन हजार जति जुनारका बिरुवा बाँकी रहेको र बिरुवा लगाउने समय भदौसम्म रहेकाले सबै बिक्री हुने उहाँले आसा गर्नुभएको छ । त्यसो त किसान ठाडाले नर्सरी सुरु गर्दा २०३८ सालमा बिरुवाको मूल्य प्रतिगोटा दुई रुपियाँ रहेकामा अहिले मूल्य वृद्धि भई प्रतिगोटा १२५ रुपियाँ पुगेको छ । बिरुवा कलमी र बिजु गरी दुई थरीका हुने गरेकोमा आफूले कलमी बिरुवा उत्पादन गरेको किसान ठाडाले बताउनुभयो । उहाँले भन्नुभयो, “कलमी बिरुवाबाट उत्पादन छिट्टै लिन सकिने भएकाले किसान पनि कलमी बिरुवाप्रति नै आकर्षित हुन्छन् ।” प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, जुनार सुपर जोनका अनुसार सिन्धुली जिल्लामा जुनारका बिरुवा उत्पादन गर्ने नर्सरी २३ वटा दर्ता भएका छन् । तीमध्ये १४ वटा नर्सरीले बिरुवा उत्पादन गर्दै आएका छन् ।

जिल्लामा वार्षिक रूपमा २५ देखि ३० हजार वटा जुनारका बिरुवा बेच्न योग्य उत्पादन हुने तर दुई लाखभन्दा बढी उत्पादन हुँदै आएको उहाँले जानकारी दिनुभयो । जुनारका बिरुवा उत्पादन गर्न सुपर जोनले किसानलाई स्क्रिन हाउस निर्माणमा अनुदान, प्राविधिकलगायतका सेवा दिँदै आएको छ ।