• १३ पुस २०८१, शनिबार

अमेरिकाका सहायक विदेशमन्त्री लुको एकदिने नेपाल भ्रमण

एमसिसी कार्यान्वयनसँगै नेपाल लाभान्वित

blog

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग शुक्रबार शिष्टाचार भेट गर्नुहुँदै अमेरिकाका सहायक विदेशमन्त्री डोनाल्ड लु । तस्बिर सौजन्य : अमेरिकी दूतावास

चाँदनी हमाल/अशोक अधिकारी

काठमाडौँ, असार ३० गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग अमेरिकाका सहायक विदेशमन्त्री डोनाल्ड लुले शुक्रबार शिष्टाचार भेटवार्ता गर्नुभएको छ । एकदिने भ्रमणका क्रममा उहाँ नेपाल आउनुभएलगत्तै प्रधानमन्त्री तथा अन्य उच्चस्तरीय भेटवार्तामा व्यस्त रहनुभयो । 

भेटमा भएका कुराकानीमा नेपाल सरकार र अमेरिका सरकारको अनुदान सहयोग रहने मिलेनियम च्यालेन्ज कर्पोरेसनको कार्यान्वयन र हालसम्म भएको प्रगतिमाथि उहाँको उच्च चासो रह्यो ।  प्रधानमन्त्री प्रचण्डसँग उहाँले परियोजना कार्यान्वयनमा जान लागेको र नेपाल सरकारले त्यसका लागि गरेको सहयोगप्रति आभार व्यक्त गर्नुभयो । नेपाली जनता र सरकारको लाभसँग जोडिएको सम्झौताले नेपालको विकासमा ठोस टेवा पु-याउने विश्वास उहाँले व्यक्त गर्नुभयो । 

 परराष्ट्र मन्त्रालयका सहसचिव एवं प्रवक्ता सेवा लम्सालले उहाँहरूको भेटवार्तापछि भन्नुभयो, “नेपाल र अमेरिकाबीचको द्विपक्षीय सम्बन्ध प्रगाढ र बलियो बनाउने, विकास परियोजनामा सहयोग र सहकार्य तथा मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसिसी परियोजनाका सन्दर्भमा छलफल भएको छ ।”

समवेदना प्रकट

 सीता दाहालको निधन भएपछि पत्नी शोकमा रहनुभएका प्रधानमन्त्री प्रचण्डसँग भेट्न सहायक विदेशमन्त्री लु निवासमै पुग्नु भएको हो । उहाँले सीता दाहालप्रति श्रद्धाञ्जली अर्पण गर्दै पुष्पगुच्छा चढाउनु भई मौन धारण गर्नुभयो । साथै उहाँले प्रधानमन्त्री पत्नी दाहालको निधनले आफू निकै दुःखी भएको भन्दै प्रधानमन्त्री प्रचण्डलाई सान्त्वना दिँदै परिवारजनप्रति समवेदना प्रकट गर्नुभयो । जवाफमा प्रधानमन्त्री प्रचण्डले शोकको घडीमा घरसम्म आएर दुःखमा साथ दिनु भएकोमा सहायक विदेशमन्त्री लुलाई धन्यवाद दिनुभयो । श्रद्धाञ्जली अर्पणपछिको छुट्टै भेटमा लुले भन्नुभयो, “यो समय तपाईं र तपाईंको सम्पूर्ण परिवारका लागि अति कठिन समय हो भन्ने मैले महसुस गरेको छु ।” 

उहाँले शोक पुस्तिकामा सीता दाहालको निधनले अमेरिका सरकार र जनताका साथै आफू पनि दुःखी भएको उल्लेख गर्नुभयो । दुःखको यो घडीमा धैर्य धारण गर्ने शक्ति मिलोस् भन्दै समवेदना प्रकट गर्नुभएको थियो । 

उच्चस्तरीय भेटवार्ता

अमेरिकाका सहायक विदेशमन्त्री लुले पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग छुट्टै शिष्टाचार भेट गर्नुभयो । भेटमा नेपाल र अमेरिकाबिचको सम्बन्धलाई थप प्रगाढ बनाउने विषयमा छलफल भएको भेटपछि पूर्वप्रधानमन्त्री देउवाले जानकारी दिनुभयो । नेपालको विकास, शान्ति, लोकतन्त्र प्रवर्धनमा सहयोग पु-याएकोमा अमेरिका सरकारप्रति कृतज्ञता व्यक्त गर्नुभयो । 

त्यस्तै सहायक विदेशमन्त्री लुले पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग भेट गर्नुभयो । उहाँले एमसिसी परियोजना कार्यान्वयन चरणमा प्रवेश गरेको जानकारी नेता ओलीलाई गराउनुभयो । एमाले अध्यक्ष ओलीले  कार्यान्वयन चरणमा प्रवेश गरेकोमा अमेरिका सरकारलाई पनि धन्यवाद दिनुभयो ।

त्यसै गरी लुले परराष्ट्रमन्त्री नारायणप्रकाश साउदसँग समेत शिष्टाचार भेट गर्नुभयो । भेटमा नेपाल र अमेरिकाबिचको द्विपक्षीय सम्बन्धलाई नयाँ आयामका साथ अघि बढाउने विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । भेटमा दुई देशबिच भएका सहकार्यको समीक्षा गर्दै एमसिसी कार्यान्वयनमा जानुपर्ने सहकार्यका विषयमा थप छलफल भएको मन्त्रालयले जनाएको छ । 

नेपाल सन् २०२६ मा अतिकम विकसित मुलुकबाट अल्पविकसित मुलुकमा स्तरोन्नति हुने प्रक्रियामा प्रवेश गरेकाले त्यसका लागि अमेरिकी सरकारको सहयोग निरन्तर आवश्यक रहेकोमा मन्त्री साउदले जोड दिनुभयो । कोभिड महामारीको सङ्कटमा नेपाललाई अमेरिकाले पु-याएको सहयोगप्रति पनि धन्यवाद दिनुभयो । 

सहायक विदेशमन्त्री लुले शुक्रबारै  नेपालका लागि अमेरिकी राजदूत डिन रिचार्ड थम्पसन तथा नेपालस्थित अमेरिकी दूतावासका अन्य पदाधिकारीसँग पनि छलफल गर्नुभयो । 

भ्रमण अर्थपूर्ण

अमेरिकी विदेश मन्त्रालयको मध्य तथा दक्षिण एसियाली मामिला हेर्नुहुने सहायक विदेशमन्त्री लु शुक्रबार एकदिने भ्रमणका लागि नेपाल आउनुभएको हो । 

अमेरिकी सरकारको अनुदान सहयोगमा आधारित मिलेनियम च्यालेन्ज कर्पोरेसन सम्झौता नेपाल सरकारले अनुमोदन गरेसँगै यो कार्यान्वयन चरणमा छ । भदौको पहिलो हप्तादेखि कार्यान्वयनमा जाने गरी नेपालस्थित कार्यालय मिलेनियम च्यालेन्ज एकाउन्टले तयारी गरिरहेको छ । सो परियोजना कार्यान्वयनको पूर्वसन्ध्यामा अमेरिकी सरकारका तर्फबाट भएको लुको उच्चस्तरीय भ्रमण अर्थपूर्ण रहेको छ । 

उहाँको आगमनको अघिल्लो दिन बिहीबार मात्र अर्थमन्त्री डा. प्रकाशशरण महतले एमसिए–नेपालको कार्यालयको निरीक्षण गर्दै भएका कामका विषयमा जानकारी लिनुभएको थियो । भदौबाट एमसिसी नेपाल कम्प्याक्टलाई कार्यान्वयनमा लानका लागि भइरहेको तयारीसम्बन्धी प्रगतिका लागि अर्थमन्त्री महतले बधाई दिनुभयो । 

एमसिए–नेपालका कार्यकारी निर्देशक खड्गबहादुर विष्टले नेपाल सरकारबाट प्राप्त भइरहेको सहयोग तथा सद्भावका निम्ति आभार प्रकट गर्दै कार्यान्वयनका विविध प्रक्रियाका बारेमा जानकारी गराउनुभयो । अर्थमन्त्री डा. महतले यस महत्वपूर्ण आयोजनाबाट नेपाललाई हुने फाइदाबारे चर्चा गर्नुहुँदै आयोजना कार्यान्वयन प्रारम्भ भएसँगै पाँच वर्षको समयसीमाभित्र सम्पन्न गरिसक्नुपर्ने पुनः स्मरण गराउनुभयो । 

एमसिसी सम्झौता अनुसार नेपालले ५० करोड अमेरिकी डलर बराबरको अनुदान सहायत पाउने छ । विद्युत् प्रसारण लाइन र सडक मर्मतमा परियोजना केन्द्रित हुने छ । 

कार्यकारी निर्देशक विष्टका अनुसार कार्यान्वयनमा गएको पाँच वर्षमा सम्पूर्ण काम पूरा हुनुपर्ने व्यवस्था अनुसार एमसिसीले उललब्ध गराएको सहायतासँगै नेपाल सरकारले करिब १३ करोड अमेरिकी डलर परियोजनाका लागि खर्च गर्नुपर्ने छ । नेपालले प्रस्ताव गरेको क्रस बोर्डर परियोजना अन्तर्देशीय भएकाले भारतको समेत अनुमति लिनुपर्ने भएकाले भारतले सहमति दिइसकेको छ ।

तेस्रो मुलुकसँग समन्वय गर्नुपर्ने, जग्गा अधिग्रहण र वातावरणीय प्रभाव मूल्याङ्कनलगायतका पूर्वसर्त सरकारले परियोजना सुरु हुनुअघि पूरा गर्नुपर्ने दायित्व छ । यीमध्ये धेरै काम सम्पन भइसकेको र अब केही मात्र बाँकी रहेको एमसिए–नेपालले जनाएको छ ।