• १२ मंसिर २०८१, बुधबार

अस्पतालमा सरुवा रोगका बिरामी बढे

blog

काठमाडौँ, असार ३० गते । वर्षायामको सुरुवातसँगै अस्पतालहरूमा सरुवा रोगका बिरामीको सङ्ख्या बढ्न थालेको छ। त्रिवि शिक्षण अस्पताल, वीर अस्पताल, कान्ति बाल अस्पताल, सहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोगलगायतका अस्पतालमा वर्षायामको मौसममा देखा पर्ने सरुवा रोगका बिरामीको सङ्ख्या बढ्न थालेको छ। ती अस्पतालमा ज्वरो, टाइफाइड, झाडापखाला, आउँ, स्क्रबटाइपस, ठेउला, डेङ्गु, दादुरा, जन्डिसलगायतका रोग लिएर उपचारमा जानेको सङ्ख्या बढेको छ। 

चिकित्सकहरूले पछिल्लो समय अस्पतालहरूमा गर्मी मौसममा लाग्न सक्ने रोगका कारण बिरामीको सङ्ख्या बढिरहेकाले सतर्कता अपनाउन सुझाव दिएका छन्। सन् २०२३ मा उन्मूलन गर्ने भनिएको दादुरा सङ्क्रमण भएर कान्ति अस्पतालमा दैनिक एक, दुई जना बिरामी आउने गरेका छन्। 

यस्तै कान्तिबाल अस्पतालको बहिरङ्ग सेवामा एक हजारदेखि एक हजार दुई सयसम्म बिरामी आउने गरेका छन्। अस्पतालका निर्देशक डा. युवानिधि बसौलाले पछिल्ला दिनमा झाडापखाला, आउँ, रुघाखोकी, ज्वरो तथा दादुराका बिरामी आउने गरेको बताउनुभयो। उहाँले कतिपय बिरामी शरीरमा पानी नभएर जलविनियोजनको अवस्थामा अस्पताल आएको जानकारी दिँदै त्यस्ता बिरामीलाई तत्काल भर्ना गरेर राख्ने गरेको बताउनुभयो। 

शिक्षण अस्पतालका कार्यकारी निर्देशक डा. दिनेश कोइरालाले जाडो मौसमभन्दा गर्मीमा सरुवा रोग लागेर आउने बढी हुने गरेको बताउनुभयो। उहाँले अस्पतालमा दैनिक दुई हजार पाँच सय बिरामी आउने गरेकामा तीन सय बिरामी झाडापखाला, ज्वरो, फुड पोइजन, टाइफाइड, मलेरियालगायतका समस्या लिएर आउने गरेको बताउनुभयो। उहाँले केन्द्रीय अस्पताल भएकाले रिफर भएर आउने बिरामीको सङ्ख्या बढी रहेको बताउनुभयो। 

वीर अस्पतालका निर्देशक डा. सन्तोष पौडेलले गर्मी मौसममा ज्वरो, टाइफाइड, एलर्जीलगायतका समस्या लिएर बिरामी आउने गरेको बताउनुभयो। उहाँले दैनिक एक सयभन्दा बढी बिरामी ज्वरो, झाडापखाला, डेङ्गुलगायतका समस्या लिएर आउने गरेको जानकारी दिनुभयो। सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले धाराको पानी, ट्याङ्करको पानी र जारकै पानीसमेत उमालेर पिउनुपर्ने भन्दै बर्खायामको पानी प्रदूषित हुन सक्ने भएकाले सचेत हुनुपर्ने बताउनुभयो। 

टेकुस्थित शुक्रराज ट्रपिकल अस्पतालका निर्देशक डा. मनीषा रावलले गर्मी मौसममा झाडापखाला, हैजा, जन्डिस, टाइफाइड, आउँ जस्ता रोगको समस्याले बिरामी आउने गरेको बताउनुभयो। गर्मी मौसममा ब्याक्टेरियाको बढ्दो सक्रियताले गर्दा ज्वरो, डेङ्गी, मलेरिया, स्क्रबटाइपस, झाडापखाला, टाइफाइड जस्ता रोग बढेको भन्दै टाइफाइड, ज्वरो, आउने, टाउको दुख्ने, जिउ दुख्ने, कब्जियत देखिने, निरन्तर एक हप्तासम्म रुघाखोकीको लक्षण देखिने बताउनुभयो। 

सरुवा रोग विशेषज्ञ डा. पुनले गर्मी मौसमको सुरुवातसँगै किटाणु विस्तारै सक्रिय हुने र सरुवा रोग प्रकोपको सम्भावना बढ्न सक्ने सम्भावना भएकाले सचेतना अपनाउनुपर्ने बताउनुभयो। डा. पुनले गर्मी मौसममा पिउने पानी र अस्वस्थकर खानाका कारण झाडापखालाका रोगी बढ्ने बताउनुभयो। उहाँले सरुवा रोग अस्पतालमा दैनिक १० जनासम्म झाडापखालाका बिरामी आउने गरेको बताउनुभयो।

कान्ति अस्पतालका निर्देशक डा. बसौलाले गर्मी मौसममा धेरैजसो बालबालिका रोगको सिकार हुने गरेको बताउनुभयो। उहाँले बालबालिकाले गर्मी मौसममा खाएको खाना राम्रोसँग नपच्ने हुँदा बालबालिकामा झाडापखाला, आउँ, पेट दुख्ने, एलर्जी जस्ता समस्या देखापर्ने बताउनुभयो। 

गर्मी मौसममा वान्ता तथा झाडापखाला लाग्ने कारण भने दूषित खानपान, पानी तथा बासी, सडेगलेका तथा झिँगा भन्किएका खानेकुरा, फोहोर पानी अनि फोहोरी हातबाट बनाइएका खानेकुरा नखान सुझाव दिनुभयो।