• १३ साउन २०८१, आइतबार

परराष्ट्रमन्त्री साउद र सहायक विदेशमन्त्री लुबीच भेटवार्ता

blog

परराष्ट्रमन्त्री एनपी साउदसँग भेट गर्नुहुँदै संयुक्त राज्य अमेरिकाको दक्षिण तथा मध्यएसिया मामिला हेर्ने सहायक विदेशमन्त्री डोनाल्ड लु । तस्बिर : रासस

काठमाडौं, असार २९ गते। परराष्ट्रमन्त्री एनपी साउद र संयुक्त राज्य अमेरिकाको दक्षिण तथा मध्यएसिया मामिला हेर्ने सहायक विदेशमन्त्री डोनाल्ड लुबीच भेटवार्ता भएको छ। 

 मन्त्रालयमा शुक्रबार भएको भेटवार्तामा उहाँहरूबीच अमेरिकी अनुदान सहायता परियोजना (एमसीसी) कार्यान्वयनबारे छलफल भएको मन्त्रालयले जनाएको छ। सो अवसरमा सन् २०२६ मा नेपाल अल्पविकसित मुलुकको सूचीबाट स्तरोन्नति हुने र सोपश्चात् पनि अमेरिकाबाट नेपाललाई प्राप्त हुने सहयोगलाई निरन्तरता दिने विषयमा उहाँहरूबीच छलफल भएको थियो। साथै द्विपक्षीय हितका विविध विषयमा विचारविमर्श भएको मन्त्रालयले जनाएको छ।

परराष्ट्रमन्त्री साउदले अमेरिकाबाट प्राप्त नियमित सहयोग र कोभिड–१९ को सङ्कटमा प्राप्त भएको विशेष सहयोगका लागि अमेरिकाप्रति कृतज्ञता व्यक्त गर्नुभयो। सहायक विदेशमन्त्री लुले विकासका आकांक्षा पूरा गर्ने सन्दर्भमा पुरानो विकास साझेदारको नाताले नेपाललाई अमेरिकाको सहयोग निरन्तर रहने प्रतिबद्धता व्यक्त गर्नुभयो।

उहाँले अमेरिकामा ठूलो सङ्ख्यामा रहेका नेपाली समुदायले अमेरिकी अर्थतन्त्रमा पुर्याएको योगदान र उनीहरूले हासिल गरेको प्रगतिको प्रशंसा गर्नुभयो। सो अवसरमा उहाँहरूबीच दुई देशबीचको लामो मित्रवत् सम्बन्धको परिप्रेक्ष्यमा उच्चस्तरीय भ्रमणको आदानप्रदानको महत्त्वबारे चर्चा भएको थियो। रासस