अर्जुन काफ्ले
स्याङ्जा, असार २९ गते । अर्जुन चौपारीमा गाउँपालिका १ बजारमा निर्माण गरिएको हेलिप्याड हस्तान्तरण गरिएको छ । पोखरा एयरपोर्ट पछाडि गण्डकीकै सबैभन्दा ठुलो हेलिप्याड नेपाल आर्मी समरजीत गुल्मको प्राविधिक तथा श्रमदानमा र अर्जुन चौपारी गाउँपालिकाको आर्थिक व्यवथापनमा निर्माण भएको हो ।
हेलिप्याड गाउँपालिका अध्यक्ष प्रकाश तिवारीलाई गुल्मका गुल्मपति सेनानी हरिप्रसाद भट्टराईले हस्तान्तरण गर्नुभएको हो । जोखिमका बेला उद्धारमा टेवा पुर्याउनका लागि आर्मीसगँ सहकार्य गरेर हेलिप्याड निर्माण गरिएको गाउँपालिका अध्यक्ष प्रकाश तिवारीले बताउनुभयो । पहुँचबाट बाहिर रहेकालाई विपदमा उद्धार गर्ने र आर्मीको नागरिकसँग सम्बन्ध सुमधुर बनाउन हेलिप्याडमा पालिकासँग सहकार्य गरिएको सुरक्षा समितिका प्रमुख सिडियो शशिधर घिमिरेले बताउनुभयो ।
पालिकाको तप्तरताले जिल्लामा पहिलो हेलिप्याड बनेको बताउँदै घिमिरेले अन्य ठाउँमा आवश्यकता भए आर्मीले सहयोग गर्ने बताउनुभयो । नेपा आर्मीका क्याप्टेन धनबहादुर तामाङको नेतृत्वमा दैनिक २० जनाको श्रमदानमा २० दिनमा हेलिप्याड निर्माण सकिएको हो ।
सात लाख ३३ हजार ४५९ रुपियाँको लागतमा निर्माण भएको हेलिप्याड आर्मीको ज्याला सहयोग एक लाख २७ हजार ७५० रुपियाँ बराबरको श्रमदान र र १८ हजार बराबर रङ्गरोगनमा आर्मीको सहयोग रहेको छ । पालिकाले समाग्री(ढुङ्गा, बालुवा, सिमेन्ट) तीन लाख ३४ हजार ८५ रुपियाँ, मिक्चर ३६ हजार, ब्याकु लोडर तथा टयाक्टर एक लाख, रङ्गरोन ७१ हजार १७१ र ३६ हजार ६५५ हजार रुपियाँ खाजामा खर्च भएको छ ।
हेलीप्याड निर्माणमा पालिकाको ब्याकु लोडर तथा टयाक्टर, खोलाको ढुङ्गा, बालुवा जोड्दा खर्च धेरै देखिए पनि यथार्थमा थोरै खर्च रहेको छ । ६०÷६० फिट लम्बाइ र चौडाइको तथा डेढ फुट ढलान हेलिप्याड कास्की बाहेकको बाहिरी जिल्लामा रहेकामध्ये सबैभन्दा ठुलो हो ।
हेलिप्याडमा चाँडैनै आर्मीको हेलिकोप्टर अवतरण गरेर परीक्षण गर्ने गुल्मले जनाएको छ ।