• १२ मंसिर २०८१, बुधबार

लम्पी स्किनबाट ८७९ पशुको मृत्यु

blog

बाबुराम देवकोटा
सिन्धुलीमाढी, असार ३० गते ।
लम्पी स्किन रोगबाट सिन्धुली र रामेछाप जिल्लामा किसानले पालेको ८७९ वटा पशु चौपायाको मृत्यु भएको छ । पछिल्लो करिब तीन महिनाको अवधिमा उक्त रोगबाट सिन्धुली जिल्लामा ६५० वटा र रामेछाप जिल्लामा २२९ वटा पशु चौपाया (गाई, भैंसी र गोरु)को मृत्यु भएको भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र सिन्धुलीले जनाएको छ ।

उक्त केन्द्रका अनुसार लम्पी स्किन रोगबाट सिन्धुली जिल्लामा २४ हजार ९० र रामेछाप जिल्लामा १४ हजार ३९१ पशु चौपाया प्राभावित भएका थिए । प्रभावित भएकामध्ये ती पशु चौपायाको मृत्यु भएको हो ।

मृत्यु भएका पशु चौपायाहरुमा सिन्धुली जिल्लामा चार वटा भैंसी, ६४६ वटा गाई/गोरु, रामेछाप जिल्लामा २२९ वटा गाई/गोरु छन् । सिन्धुली जिल्लाको कमलमाई नगरपालिकामा १५७ वटा गाई/गोरु, दुधौली नगरपालिकामा दुई वटा भैंसी र १३७ वटा गाई/गोरु मरेका छन् । त्यस्तै, रामेछाप जिल्लाको लिखुतामाकोसी गाउँपालिकामा १०२ वटा गाई/गोरु मरेको केन्द्रका पशु चिकित्सक नवराज थापाले जानकारी दिनुभयो ।

उहाँका अनुसार वैशाख महिनाको दोस्रो साताबाट देखापरेको उक्त रोगबाट सङ्क्रमित पशुको उपचारका लागि कार्यालयसँग उपलब्ध भएको करिब सात लाख रुपियाँ बजेटबाट औषधि खरिद गरी दुई जिल्लामा पठाइएको छ ।

पशु चिकित्सक थापाले भन्नुभयो, ‘‘स्थानीय तहले पनि आफ्नो तरिकाले रोगको उपचार गरि रहेको छ । पहिले भन्दा रोक केही नियन्त्रण भए पनि पूर्ण नियन्त्रण भने भई नसकेको अवस्था छ ।’’

झिँगा, भुसुना, लामखुट्टे विभिन्न किराको टोकाइबाट फैलिने यस रोगको सङ्क्रमणले पशुमा ज्वरो आउने, फोका निस्कने, गाँठागुँठी आउने, पशु वस्तुलाई कमजोर बनाउने र दूध उत्पादन घट्ने केन्द्रले जनाएको छ ।

सङ्क्रमण फैलिन नदिन गोठ वरिपरि सफा राख्ने, जैविक सुरक्षामा ध्यान दिने, अन्य पशुसँग नराख्ने, चरनमा नलैजाने, पशु वस्तुको रोगसँग लड्ने क्षमता बढाउन खोप लगाउन किसानलाई सल्ला दिने गरिएको पशु चिकित्सक थापाले सुनाउनुभयो ।