• १२ मंसिर २०८१, बुधबार

अशक्त व्यक्तिहरूका लागि दोभाषेसहितको स्वास्थ्य सेवा सुरु

blog

काठमाडौँ, असार २९ गते । श्रवण शक्ति नभएका व्यक्तिहरूका लागि दोभाषेसहितको स्वास्थ्य सेवा सुरु भएको छ । राष्ट्रिय बहिरा तथा सुस्त श्रवण सङ्घ र ललितपुरस्थित क्लिनिक वान स्वास्थ्य संस्थाले सहकार्य गर्दै उक्त सेवा दिन लागेको हो ।

 क्लिनिक वान स्वास्थ्य संस्थामा सङ्घले दोभाषे व्यवस्था गर्ने गरी बिहीबार सम्झौता भएको छ । राष्ट्रिय बहिरा तथा सुस्त श्रवण सङ्घको तर्फबाट अध्यक्ष लक्ष्मी देवकोटा र क्लिनिक वानका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रघु राना तथा प्रबन्ध निर्देशक सन्तोष पौडेलबिच सम्झौता भएको छ । 

राष्ट्रिय बहिरा तथा सुस्त श्रवण सङ्घकी अध्यक्ष लक्ष्मी देवकोटाले सङ्घले दोभाषेको व्यवस्था गरेसँगै उपचार सेवामा शतप्रतिशत छुट पाउने व्यवस्था गरिएको जानकारी दिनुभयो । उहाँले बहिरा व्यक्तिलाई स्वास्थ्य परीक्षण गराउन धेरै समस्या पर्दै आएकोले क्लिनिक वानसँगको सहकार्यमा बहिराहरूको समस्या हट्ने बताउनुभयो । उहाँले स्वास्थ्य सेवामा ३५ प्रतिशत, प्रयोगशाला परीक्षणमा २५ प्रतिशत, औषधि र खोपमा १० प्रतिशत, सङ्घको सिफारिस पत्र लिएर आएमा शत प्रतिशत छुट हुने बताउनुभयो । उहाँले क्लिनिक वान स्वास्थ्य संस्थामा देशभरका बहिराहरूका लागि स्वास्थ्य उपचारको व्यवस्था हुने जानकारी दिनुभयो । क्लिनिक वानका प्रबन्ध निर्देशक सन्तोष पौडेलले जानकारी स्वास्थ्य संस्था आउँदा अघिल्लै दिन नाम दर्ता गराएर समय लिएर आउनुपर्ने र सरकारले जारी गरेको आपांगता सम्बन्धी कार्ड पनि लिएर आउनुपर्ने जानकारी दिनुभयो । उहाँले शतप्रतिशत छुटका लागि राष्ट्रिय बहिरा तथा सुस्त श्रवण सङ्घको सिफारिस लिएर आउनुपर्ने भन्दै  स्वास्थ्य संस्थामा  पहिले सम्पर्क गरी दिएको समयमा उपचारको लागि आउन सकिने बताउनुभयो । उहाँले बहिराहरूले फोन तथा वाट्सएम, भाइवर लगायतमार्फत दर्ता गर्न आग्रह गर्नुभयो ।  स्वास्थ्य संस्थाले आकस्मिक सेवा नदिने भएकाले त्यस्तो अवस्थामा नआउन सुझाव दिनुभयो । क्लिनिक वान र सङ्घबिचको यो सम्झौताले आगामी दिनमा बहिरा व्यक्तिको उपचारमा सहज हुने उहाँको भनाइ छ । दोभाषे नहुँदा कुन अस्पताल जाने, कसरी समस्या डाक्टरलाई सुनाउने भन्नेमा निकै समस्या हुने गरेको छ ।  

क्लिनिक वानका प्रबन्ध निर्देशक पौडेलले आफूहरूले सामाजिक उत्तरदायित्व अन्तर्गत श्रवण क्षमता कम भएका वा नभएका बिरामीका लागि भनेर दोभाषेसहितको स्वास्थ्य सेवा दिन लागेको बताउनुभयो । उहाँले श्रवण क्षमता नभएका व्यक्तिलाई आफ्नो समस्या बताउनका लागि गाह्रो हुने भएकाले उनीहरू कतिपय अवस्थामा सेवा लिनबाट वञ्चित हुने गरेको बताउँदै सोही ग्याप हटाउन क्लिनिक वानले प्रयास गरेको बताउनुभयो ।