केदार तिमल्सिना
काभ्रेपलाञ्चोक, असार २९ गते । बाढी र पहिरोका मनसुनजन्य विपत्का कारण काभ्रेपलाञ्चोक जिल्लामा साढे तीन हजार परिवार प्रभावित बन्ने आकलन गरिएको छ। जिल्ला विपत् व्यवस्थापन समितिका अनुसार धेरै वर्षाका कारण आउने बाढी तथा पहिरोबाट यस जिल्लाका १३ स्थानीय तहका तीन हजार ६४७ घरधुरी प्रभावित हुने अनुमान गरिएको हो।
काभ्रेपलाञ्चोकका प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले काभ्रेपलाञ्चोकमा पहिरो र बाढीको जोखिम धेरै रहेको चर्चा गर्दै उच्च जोखिममा पहिरो पहिलो र बाढी दोस्रो स्थानमा रहेको बताउनुभयो।
वर्षायाममा आउन सक्ने विपत् तथा प्रकोपबाट हुन सक्ने क्षतिको सामना गर्न कार्ययोजना तयार गरिएको जानकारी दिँदै प्रमुख जिल्ला अधिकारी पौडेलले भन्नुभयो, “वर्षायाममा हुन सक्ने विपत्मा खोज तथा उद्धारका लागि नेपाल प्रहरीको विशेष टोली, सशस्त्र प्रहरी तथा नेपाली सेनाको टोली खोज तथा उद्धारका लागि तयारी अवस्थामा रहेका छन्।”
मण्डनदेउपुरमा उच्च जोखिम
यस जिल्लामा वर्षायाममा आउन सक्ने बाढी, पहिरोबाट मण्डनदेउपुर नगरपालिकाका सात वटा वडाका ७८६ घरधुरी, खानीखोला गाउँपालिकाका सात वटा वडाका २२२ घरधुरी, महाभारत गाउँपालिकाका आठ वटा वडाको २२०, रोसी गाउँपालिकाको नौ वटा वडाका ३४५ घरधुरी प्रभावित हुन सक्ने अनुमान गरिएको छ।
यसै गरी तेमाल गाउँपालिकामा आठ वटा वडाका ३०८ घरपरिवार, चौँरीदेउराली गाउँपालिकाको चार वटा वडाका २०७ घरपरिवार, भुम्लु गाउँपालिकाका सात वटा वडाका ३०९ घरपरिवार प्रभावित हुने जिल्ला विपत् व्यवस्थापन समितिको अनुमान रहेको छ।
यसै गरी वर्षायामको समयमा आउन सक्ने बाढी, पहिरोबाट बेथानचोक गाउँपालिकाका तीन वटा वडाका १४३ घरधुरी, पनौती नगरपालिकाका तीन वटा वडाका २२६ घरपरिवार, बनेपा नगरपालिकाका छ वटा वडाका २५९ घरपरिवार, पाँचखाल नगरपालिकाका छ वटा वडाका १५८ घरपरिवार, धुलिखेल नगरपालिकाका दुई वटा वडाका ३२० घरपरिवार र नमोबुद्ध नगरपालिकाका ११ वटा वडाका १४० घरपरिवार प्रभावित हुने अनुमान गरिएको छ। यस्तै आगलागीबाट जिल्लाको पनौती, पाँचखाल, नमोबुद्ध, मण्डनदेउपुर नगरपालिका तथा बेथानचोक, भुम्लु, रोसी र महाभारत गाउँपालिकाका ५६५ घरधुरी प्रभावित हुने जिल्ला विपत् व्यवस्थापन समितिको आकलन रहेको छ।
प्रतिकार्य योजना स्वीकृत
बुधबार बसेको जिल्ला विपत् व्यवस्थापन समितिको बैठकले मनसुनजन्य विपत्बाट प्राप्त अनुभव समीक्षा र सिकाइको विश्लेषण गरी तयार गरिएको मनसुनजन्य विपत् पूर्वतयारी तथा प्रतिकार्य योजना (काभ्रेपलाञ्चोक) तथा विपत् पूर्वतयारी तथा प्रतिकार्य योजना (काभ्रेपलाञ्चोक) स्वीकृत गरी कार्यान्वयनमा लैजाने निर्णय गरेको छ।
विगतमा भए गरेका निर्णय कार्यान्वयनलाई निरन्तरता दिने र खोज तथा उद्धार कार्यका लागि स्थानीय तहबाट जनशक्ति उत्पादन गर्न तालिमका लागि अनुरोध भएमा सुरक्षा निकायबाट सहयोग र सहजीकरण गर्नेसमेत सो समितिको बैठकले निर्णय गरेको छ।
गत जेठमा नेपाली सेनाको कालीजङ्ग गणले चारदिने तालिम सञ्चालन गरी सामुदायिक विपत् प्रतिकार्यका लागि जिल्लाको १० स्थानीय तहमा ८० विपत् प्रतिकार्य जनशक्ति तयार पारेको छ। तालिममा विपत्को परिचय र विपत् व्यवस्थापन चक्र
, विपत् प्रतिकार्यका लागि आवश्यक सामग्री, सिप तथा कला, बाढीपहिरो, डुबान, आगलागीजस्ता विपत्का घटनामा उद्धार गर्ने तरिका, प्राथमिक उपचार, स्थानीय स्रोत साधनको प्रयोग गरी विपत् प्रतिकार्य गर्ने विधि र विपत्को समयमा आधुनिक उपकरणको प्रयोगबारे जानकारी गराइएको थियो।
यस्तै मनसुनजन्य विपत्बाट जनधनको क्षति हुन नदिन तथा उद्धार तथा खोजी कार्यलाई प्रभावकारी बनाउन पूर्वतयारीस्वरूप सशस्त्र प्रहरी बल र नेपाली सेनाले उद्धारको पूर्वाभ्यास गरेका थिए। त्यस्तै समितिको जेठ ३ गतेको बैठकले गरेको निर्णय अनुरूप बाढी, डुबान, कटान र पहिरोका कारण जोखिमयुक्त स्थानको पहिचान गर्ने, सम्भाव्य उच्च जोखिममा रहेका बस्तीको पहिचान गरी प्रभावित हुन सक्ने परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न सहजीकरण गर्ने, अत्यावश्यक खाद्य सामग्री (खानेकुरा, औषधी, पानी ) र गैरखाद्य सामग्री (कपडा, टेन्ट, त्रिपाल र म्याट्रेस) मौज्दात राख्ने र भण्डारण गर्ने निर्णय गरेको छ।
बैठकले बाढीको समयमा नदीनालामा माछा मार्ने, पौडी खेल्ने र काठ, दाउरा सङ्कलन गर्ने जस्ता कार्यलाई निषेध गर्ने, महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा अपाङ्गता भई उच्च जोखिममा रहेका व्यक्तिको सुरक्षामा विशेष ध्यान दिने, आपत्कालीन प्रतिकार्यका लागि आवश्यक सामग्रीसहित खोज तथा उद्धार कार्यमा तत्काल खटिन सकिने गरी जिल्लास्थित सुरक्षा निकायलाई तयारी अवस्थामा राख्ने निर्णय गरेको छ। जेठ ३ गतेको बैठकको निर्णयानुसार विपत्बाट अवरुद्ध सडक खुलाउन सम्बन्धित निकायले हेभी इक्विपमेन्ट तयारी अवस्थामा राखी आवश्यकता अनुसार परिचालन गर्ने निर्णयलाई निरन्तरता दिने निर्णय गरेको छ।
काभ्रेपलाञ्चोकका अधिकांश भू–भाग पहाडी क्षेत्र, जिल्ला भएर बग्ने तीन ठुला नदी विपत्को हिसाबले जोखिमयुक्त मानिन्छ। चालु आर्थिक वर्षको हालसम्ममा काभ्रेमा ४२४ जना विपत्मा परेको तथ्याङ्क छ। यसमध्ये पहिरो, आगलागी, चट्याङ, हावाहुरी, करेन्ट तथा दुर्घटनाबाट ५९ जनाको मृत्यु, ३७७ जना घाइते र ३३ जनाको उद्धार गरिएको तथ्याङ्क छ।