• ११ मंसिर २०८१, मङ्गलबार

जन्मस्थलमै भानुभक्तको उपेक्षा

blog

भानुभक्त आचार्यको भग्नावशेष घर। तस्बिर –अमरराज नहर्की

अमरराज नहर्की 

तनहुँ, असार २८ गते। राष्ट्रिय विभूति आदिकवि भानुभक्त आचार्य जन्मस्थलमै उपेक्षामा पर्नुभएको छ । भानु नगरपालिका –४ स्थित भानुको घर संरक्षणको अभावमा भग्नावशेषमा परिणत भएको छ भने निर्माण गरिएको रामायण भवन पनि प्रयोग बिहीन अवस्थामा जीर्ण बन्दै गइरहेको छ। भानु पुस्ताकालयमा राखिएको भानुले लेखेको हस्तलिखित रामायणलाई धामिराले खाएको छ। 

भारत, म्यान्मार, लगायत देशमा भानुभक्तको ठूलो चर्चा हुने गरे पनि नजिकैको तीर्थ हेला भने झै भानुको नामबाट स्थापित भानु नगरपालिकाले भानुसँग सम्बन्धित कुराको  संरक्षणको लागि कुनै  पहल कदमी गरेको छैन।  भानुभक्तको जन्मगाउँ अझै अविकासले थलिएको छ। स्थानीय सरकारले चासो नदिँदा चुँदीरम्घा भने उपेक्षामा परेको छ।  

साहित्यिक तीर्थस्थल तथा भाषिक केन्द्रको रुपमा विकास गर्ने लक्ष्य राखिएको भए पनि आगलागीले खण्डहर भएको २० वर्ष बिते पनि भानुको घर पुनर्निर्माण हुन सकेको छैन। भानुको हस्त लिखित रहेको रामायण धमिराले खाएर नष्ट बनाएपछि संरक्षणको लागि पहल कदमी भएको छैन।  यसैगरी चुँदीरम्घा फाँटदेखि भानुको जन्मघरसम्म जाने धनञ्जय मार्ग जीर्ण भएर भत्किएकोले मोटर गुड्ने अवस्थाको नहुँदा पैदल हिँडेर जानु पर्ने बाध्यता र खानेपानीको अभाव  छ। 


देश तथा विदेशबाट भानुको जन्मथलो घुम्न आउने पर्यटक यहाँ आइसकेपछि भानु भग्नावशेष घर, अलपत्र रामायण भवन देखेर  निराश हुने गरेको स्थानीयको भनाइ छ। भानुको घर झारले ढाकेको, घरमा प्रयोग भएका काठका झ्यालढोका डढेलोले खाएको र रामायण भवन अलपत्र परेको देख्दा मन रोएको भानु नगरपालिका–५ सेपाबगैंचा घर भएर हाल व्यास नगरपालिका–२ बस्नुहुने भरत पोख्रेलले बताउनुभयो। 

भानुभक्तको जन्मघर नजिकै बस्नुहुने  ८५ वर्षीय भ्याँगे सुनारले स्थानीय जनप्रतिनिधिले संरक्षणको लागि पहल नगरेकोले अलपत्र परेको बताउनुभयो। आदिकवि भानुभक्त चलचित्रमा अभिनय गरेर आफ्नो कलाकारिता अगाडि बढाउनु भएका दीलिप रायमाझीले भानुको जन्मस्थलमा केही अघि त्यहाँ पुग्दा भग्नावशेष घर देख्दा भानुलाई सम्मान हुन नसकेको अनुभूति भएको बताउनु भएको थियो।  

२०५२ सालमा सरकारले गठन गरेको भानु जन्मस्थल विकास समितिको नाम परिवर्तन गरेको आदिकवि भानुभक्त जन्मस्थल विकास समितिको रुपमा नयाँ गठन गरेको छ। समितिले २०५५ सालमा ‘आदिकवि भानुभक्त’ नामक चलचित्र बनाउने क्रममा घरको पुनर्निर्माण गरेको थियो। २०५७ मा भानु चलचित्र निर्माता यादव खरेलले ‘आदिकवि भानुभक्त’ नामक चलचित्र निर्माणका लागि एक लाखको लागतमा उक्त घर पुनर्निर्माण गर्नुभएको थियो। 

रामायण भवन तथा भानुको घरलाई संरक्षणमा टेवा दिन नेपाल प्रहरी वा सशस्त्र प्रहरीले चौकी स्थापना गर्न माग राखेको भए पनि सुनुवाइ नभएको भानुभक्त जन्मस्थल विकास समितिका अध्यक्ष तथा साविक भानु गाविसका अध्यक्ष ऋषिराम पन्तले बताउनुभयो। 

जङ्गलबीचको खरको छानाको उक्त घर २०६० जेठमा आगलागी हुँदा जलेर नष्ट भएको थियो। २०७३ मा तत्कालीन मुख्यसचिव डा. सोमलाल सुवेदी, पूर्व मुख्यसचिव लीलामणि पौडेल र पश्चिमाञ्चल विकास मञ्चका अध्यक्ष रामकाजी कोनेले घरको शिलान्यास गर्नुभएको थियो। ६८ लाख रुपियाँको लागतमा निर्माण हुने भनेर शिलान्यास गरिएको भए पनि बजेट विनियोजन नभएकाले पुनर्निर्माणको काम हुन नसकेको आदिकवि भानुभक्त जन्मस्थल विकास समितिका कार्यकारी निर्देशक शङ्क रानाभाटले जानकारी दिनुभयो। 

चुँदीरम्घामा भानु स्मारक सङ्ग्राहालय, भानु संस्कृत मावि, भानु–देवकोटा प्रतिमास्थल र आदिकवि भानु जन्मस्थल विकास समिति, भानु पार्क, रामायण भवन रहेका छन्। तर सो ठाउँको सेरोफेरोमा खासै विकास हुनसकेको छैन। चुँदीरम्घाको प्राकृतिक सौन्दर्य नासिँदै गएको छ। भानुभक्तको सालिक लेउले ढाकेको छ। आदिकविसँग सम्बन्धित सम्पदा, वस्तु र भानु पुस्तकालयको संरक्षण भएको छैन। 

नेपाली भाषा दयनीय हुँदै गएको र विदेशी संस्कृतिको हस्तक्षेप बढिरहेको अवस्थामा सरकारले यो क्षेत्रको विकास गरेर नेपाली भाषाको जगेर्ना गर्नुपर्ने स्थानीय बताउँछन्। 

विर्के टोपी घाँसी अभियानका अभियन्ता भानु नगरपालिका–२ अम्बोटे निवासी यदुनाथ न्यौपाने भानु जन्मस्थल विकासले पछि पर्नु तथा  प्रचार प्रसारमा ध्यान दिन नसक्दा ओझेलमा परेको बताउनुभयो।  न्यौपानेले भन्नुभयो, ‘‘रामायण भवन धमिराले खाने, भानु जयन्तीमा मात्रै भानुटोपी लगाएर अर्थछैन’’। 

भानुभक्त वि.सं. १८७१ असार २९ गते चुँदीरम्घामा जन्मनु भएको थियो। पृथ्वीनारायण शाहले भौगोलिक रूपमा एकीकरण गरेको नेपाललाई आदिकवि भानुभक्तले भाषा, साहित्य र संस्कृतिलाई विस्तार गरी नेपालीलाई एकतामा बाध्नु भएको थियो । वि.सं. १८७१ असार २९ गते तनहुँको चुँदी रम्घामा पिता धनञ्जय र माता धर्मावतीदेवीका पुत्रका रुपमा भानुभक्त जन्मिनु भएको थियो । उहाँले ‘अध्यात्मरामायण’को भावानुवाद गरी नेपाली समाजमा मौलिक नेपाली भाषा, साहित्य, धर्म, दर्शन र राष्ट्रियताको बिजारोपण गर्नुभएको थियो। 

भानुभक्तले  लेखेको रामायण अहिले पनि नेपालीहरूको घरघरमा स्वर, लयका साथ पाठ गर्ने गरिन्छ। भानुभक्तका ‘प्रश्नोत्तर’ (१९१०), ‘भक्तमाला’ (१९१०) ‘वधूशिक्षा’ (१९१९), ‘रामगीता’ (१९२५) तथा दर्जनौं साहित्यिक कृति  प्रकाशित छन्। जातीय एकता, राष्ट्रिय पहिचान र नेपाली सांस्कृतिक चेतना जगाउन र राष्ट्रिय संस्कृतिलाई बलियो बनाउनमा भानुभक्तको ऐतिहासिक योगदान रहेको छ। भानुभक्तको विसं १९२५ असोज ६ गते चुँदीरम्घमा नै निधन भएको थियो।