• २० असोज २०८१, आइतबार

वर्षाले झापाकाे जनजीवन प्रभावित

blog

लीलाराज खड्का 

बिर्तामोड, असार २८ गते । झापामा अविरल वर्षाका कारण आएको बाढी घर गाउँमा पसेपछि सयौं घरपरिवार प्रभावित भएका छन् । कनकाई माईमा आएको बाढीका कारण झापा गाउँपालिकाको वडा नं १ र २ का ६४ घर डुबानमा परेका छन् । 

वडा नं १ मिलनवस्तीको ३० घर माईखोलाको बाढीले डुबानमा परेको इलाका प्रहरी कार्यालय कुमरखोदका प्रहरी नायव निरीक्षक कुलबहादुर मगरले बताउनुभयो । त्यसैगरी वडा नं .२ को सडकवाडी गाउँमा ठुलो माई खोलाको बाढी पस्दा ३४ घर डुबानमा परेका छन् । बाढीका कारण घरभित्र पानी पसिरहेको स्थानीय बाढीपीडित सन्तोष राजवंशीले बताउनुभयो । 

अहिले डुवान क्षेत्रमा इलाका प्रहरी कार्यालय कुमरखोद र सशस्त्र प्रहरी बेस क्याम्प टाँघनडुब्बाको टोली खटिएर स्थानीयलाई सतर्क गराइरहेको र पुनः वर्षा भएर जोखिम भएमा सुरक्षित स्थानमा गएर बस्न अनुरोध गरिएको सशस्त्र प्रहरी वेस क्याम्प टाँघनडुब्बाका प्रमुख दीपेन्द्रमणि राईले बताउनुभयो ।

यसैगरी, अविरल वर्षाका कारण अधुवा खोलामा पानीको बहाव बढेपछि स्थानीय बाह्रदशी २ नम्बर वार्डका सुकुमबासी बस्ती जोखिममा परेको छ । त्यहाँ बसोबास गर्ने ४५ घरधुरीका करिब १५० जनालाई सुरक्षित स्थानतर्फ सारिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता प्रहरी नायब उपरिक्षक खगेन्द्र रिजालले बताउनुभयो । प्रहरी, जनप्रतिनिधि, स्थानीयवासीको सहयोगमा बाढीपिडित र जोखिममा रहेकाहरुलाई स्थानीय दक्षिणेश्वर शिवालय मन्दिरमा सारिएको प्रहरीले जनाएको छ । 

झापामा निरन्तर रुपमा परेको अविरल वर्षाका कारण जनजीवन प्रभावित बनेको छ भने जिल्लाका साना ठुला नदीहरुमा बढेको पानीको बहावका कारण नदीछेउका गाउँबस्ती थप जोखिममा परेका छन् ।  

जिल्लाको कनकाई माई, रतुवा, बिरिङ, मेची,हडिया, निन्दा, कमल, अदुवा, देउनियाँ लगायतका नदीहमा हाल पानीको सतह बढेको छ । नदी छेउका बस्तीहरुलाई थप सतर्क रहन आग्रह गरिएको प्रहरीले जनाएको छ ।