चन्द्र पन्दाक
ताप्लेजुङ, असार २८ गते। डिभिजन वन कार्यालय ताप्लेजुङले आफ्नो क्रियाकलापमा शतप्रतिशत प्रगति गरेको छ। वन कार्यालयले चालू आर्थिक वर्ष २०७९/८० को भौतिक तथा वित्तीय क्रियाकलापमा शतप्रतिशत प्रगति हासिल गरेको हो।
डिभिजन वन कार्यालयका योजना शाखा प्रमुख एवम् सहायक वन अधिकृत परमेश्वर पासवानले चालू आर्थिक वर्षको वार्षिक स्वीकृत कार्यक्रम कार्यान्वयनमा शतप्रतिशत प्रगति गरेको जानकारी दिनुभयो।
पासवानका अनुसार प्रदेश वन विकास तथा व्यवस्थापन कार्यक्रमको एक करोड ३९ लाख चार हजार रुपियाँ, प्रदेश हरित अभियान कार्यक्रमतर्फ ३२ लाख चार हजार र राष्ट्रिय वन विकास तथा व्यवस्थापन कार्यक्रमको सात लाख आठ हजार रुपियाँ बजेट शतप्रतिशत कार्यान्वयन भएको छ।
यस्तै डिभिजन वन कार्यालयका लागि विनियोजित ३० लाख रुपियाँ, जडीबुटी विकास कार्यक्रमका लागि १० लाख र वातावरण संरक्षण कार्यक्रमका लागि विनियोजित पाँच लाख रुपियाँ बजेट कार्यान्वयनमा सफलता हासिल गर्दै भौतिक तथा वित्तीय दुवैतर्फ प्रगति शतप्रतिशत भएको उहाँले बताउनुभयो।
प्रदेश हरित अभियान कार्यक्रमअन्तर्गत एक वर्षमा एकलाख वटा बिरुवा उत्पादन गरिएकोसमेत डिभिजन वन कार्यालयले जनाएको छ। त्यस्तै बिरुवा पुनः रोपण र गोडमेल कार्यक्रम, कृषि वन प्रणाली प्रवर्द्धन कार्यक्रममार्फत १० जना किसानलाई एकलाख रुपियाँका दरले अनुदान वितरण गरेको छ। राष्ट्रिय वन विकास कार्यक्रमअन्तर्गत गुराँस पार्कका लागि तारबार र वृक्षारोपणको कार्य गरेको वन कार्यालयले जनाएको छ।
राष्ट्रिय वन विकास कार्यक्रमअन्तर्गत नै मयुरपंखी लगायत सौन्दर्यवर्द्धक ३० हजार बहुवर्षे बिरुवा उत्पादन गरिएकोसमेत जनाइएको छ। त्यसैगरी मानव–वन्यजन्तु न्यूनीकरण अभियान सञ्चालन गरिएको छ भने वन डढेलो नियन्त्रण तथा व्यवस्थापन सामग्री सहयोग, नर्सरीमर्मत कार्यक्रमसमेत सञ्चालन गरिएको डिभिजन वन कार्यालयका सूचना अधिकारी एवम् सहायक वन अधिकृत ललितकुमार यादवले जानकारी दिनुभयो।
यादवकाअनुसार वातावरण संरक्षण कार्यक्रमअन्तर्गत विद्यालय वातावरण सुधार कार्यक्रम, दराज सहितको वन तथा वातावरण संरक्षण अभियान केन्द्रित पाठ्य सामग्री वितरण, समुदाय–विद्यालयमा आधारित जैविक विविधता, विश्व वातावरण दिवस लगायतमा अभिमुखीकरणमूलक कार्यक्रम सञ्चालन गरिएका छन्। जडीबुटी विकास कार्यक्रमअन्तर्गत दाँते ओखरका बिरुवा वितरण, सामुदायिक वनमा लोक्ता र अर्गेलीका बिरुवा रोप्नेलगायतका क्रियाकलाप सञ्चालन गरेको वन कार्यालयले जनाएको छ।
वन कार्यालयले गरेको प्रगति समीक्षा कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख छिरिङ लामा, फुङ्लिङ नगरपालिकाका प्रमुख अमिर मादेन, प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङलगायत सरोकारवालाले दिगो वन व्यवस्थापन र वन संरक्षणका विभिन्न आयामबारे सुझाव राख्नुभएको थियो। शतप्रतिशत प्रगति गरेकोमा वन कार्यालयको प्रशंसा गर्दै सरोकारवालाले सबै क्षेत्रलाई समेट्दै आगामी दिनमा अझ प्रभावकारी काम गर्नुपर्नेमा जोड दिनुभयो।