तम्घास समाचारदाता
तम्घास, असार २८ गते । गुल्मीको दरबार गाउँपालिका–२ का झुमानसिंह थापालाई बाँदरले हैरान बनाएका कारण बारीमा लगाएको खेती जोगाउन सारै मुस्किल परेको छ।
एकाबिहानैदेखि राति अबेरसम्म बारीको बास हुँदासमेत बाँदरले झुक्याएर मकै बाली नष्ट गरिदिने गरेको भन्दै उहाँले स्थानीय सरकारसँग बाँदर नियन्त्रण गरिदिन आग्रह गर्नुभएको छ।
गुल्मी दरबार गाउँपालिकाले वडा नम्बर २ को जुभुङमा आयोजना गरेको सार्वजनिक सुनुवाइमा स्थानीय सरकारले बाँदर नियन्त्रणमा चासो नदेखाए आफूहरूले लगाएको अन्न बाली घरभित्र ल्याउन नपाइने अवस्था आएको भन्दै उहाँले खेतीपाती गरेर घरका छोराछारी पाल्नेभन्दा पनि जङ्गलका बाँदर पाल्ने मात्रै काम भएको गुनासो पोख्नुभयो।
उहाँले भन्नुभयो, “खेतबारी स्याहारेर घरका छोराछोरी पाल्ने कि जङ्गलका बाँदर पाल्ने ? यथार्थमा खेतीबाली लगाएर बाँदर पालेको जस्तो भएको छ।” अर्का स्थानीय श्रीराज खड्काले जङ्गली जनावरले किसानले लगाएको अन्नबाली नष्ट गरिदिने गरेकाले जङ्गली जनावर नियन्त्रण गरिदिन स्थानीय सरकारसँग माग गर्नुभयो।
गुल्मीदरबार गाउँपालिकाका अध्यक्ष सरोजकुमार थापाले बाँदरको समस्या देशैभरि भएको बताउँदै केन्द्रले समस्या समाधानतर्फ लाग्नुपर्नेमा जोड दिनुभयो। पहिले पनि गाउँपालिकाले बाँदर धपाउने बन्दुक प्रयोग गरेको उदाहरण दिँदै उहाँले त्यसले पनि समस्या समाधान नभएको र गाउँ वा टोलका सबै मिलेर बाँदर धपाउन लाग्नुपर्नेबाहेक अन्य विकल्प नभएको बताउनुभयो।
खाता खोल्दै रकम सकिन्छ
स्थानीय सरकारले ग्रामीणस्तरका ससाना योजनामा ५० हजार रुपियाँसम्म रकम विनियोजन गर्दा उपभोक्ता समितिहरूलाई सम्झौता गर्न, बैङ्क खाता खोल्दा र रकम निकासा गर्न जाँदा नै रकम सकिने गरेको गुनासो सार्वजनिक सुनुवाइमा आएको छ। स्थानीय केशरसिंह सारूले ५० हजार रुपियाँसम्मका योजनाले समिति गठन, सम्झौता, बैङ्क खाता खोल्ने र रकम निकासा गर्न जाँदा नै विनियोजन भएको रकम सकिने हुँदा यस्ता खालका समस्याको समाधान खोज्न उहाँले गाउँपालिकालाई सुझाव दिनुभयो।
यस्तै स्थानीय खेमबहादुर रजालीले एक लाखभन्दा मुनिका योजनालाई वडास्तरबाटै कार्यान्वयन गर्दा उपभोक्ताको समस्या समाधान हुने सुझाव दिनुभएको छ। सुनुवाइ कार्यक्रममा विद्यालयको दिवा खाजामा देखिएका समस्या, खानेपानी, सडक, कृषिका अनुदानमा राजनीतिक दलका नेताहरूको मनोमानी, दीर्घरोगीलाई निःशुल्क वितरण गरिने औषधि सहज रूपमा प्राप्त गर्न नसकेका जस्ता गुनासाका चाङ लागेका थिए।
साना टुक्रे योजनाको माग स्थानीय टोलबाटै आउने गरेकाले रकम विनियोजन गरेको बताउँदै थापाले स्थानीयलाई समस्या भएको गुनासो आएकाले यसका विकल्प खोज्न गाउँपालिका तयार रहेको बताउनुभयो। गाउँपालिकालाई कृषि र पशुपालनको माध्यमबाट आत्मनिर्भर बनाउन सकिने प्रशस्त आधार रहेको बताउँदै थापाले गाउँपालिकाभित्रका सबै नागरिक आफ्ना लागि समान भएको बताउनुभयो।