दोलखा समाचारदाता
दोलखा, असार २८ गते । दोलखाको भीमेश्वर नगरपालिका र वैतेश्वर गाउँपालिकालाई जोड्ने तामाकोशी पुलले सात वर्षदेखि निर्माण कम्पनी नीलगिरि नेसनल जेभीलाई कुरिरहेको छ।
विसं २०७३ मा आठ करोड ४५ लाख १० हजार रुपियाँमा ठेक्का सम्झौता भएको लामोसाँघु–जिरी सडकखण्ड अन्तर्गत पर्ने तामाकोशी नदीमा निर्माण हुने पुल अलपत्र अवस्थामा छ।
चार वटा स्थानीय तहलाई सदरमुकामसम्म जोड्ने र आधा दर्जन जलविद्युत् आयोजनाको यो राजमार्गको पक्की पुल नबन्दा अहिले जीर्ण अवस्थामा रहेको पुलबाटै यातायात सञ्चालन गर्नुपर्ने बाध्यता छ। प्राविधिक रूपमा आयु सकिइसकेकाले जीर्ण पुल कति बेला ढल्छ भन्ने त्रास छ भने जोखिम मोलेर सवारीसाधन सञ्चालन गर्नु परेको छ।
भीमेश्वर नगरपालिका हुँदै वैतेश्वर गाउँपालिका, तामाकोशी गाउँपालिका, जिरी नगरपालिका र गौरीशङ्कर गाउँपालिकाका लागि यो सडक महत्वपूर्ण छ। दोलखा जिल्लाको सदरमुकाम चरीकोट, मैनापोखरी, जिरी, तामाकोशी हुँदै रामेछापको सदरमुकाम मन्थली ओहोरदोहोर गर्ने मुख्य सडकमा पर्ने तामाकोशी पुल निर्माणको जिम्मा पाएको ठेकेदार कम्पनीले सात वर्षदेखि पुललाई अलपत्र पारेको स्थानीय राजनकुमार दाहालले बताउनुभयो।
दाहालले भन्नुभयो, “चरीकोट–जिरी सडकसँगै निर्माण होला कि भन्ने आशा गरेको पुल सडक निर्माण सकिएको दुई वर्ष बितिसक्दा पनि अझै अलपत्र अवस्थामा छ। २०७४ सालमा ठेक्का सम्झौता भएको चरीकोट–जिरी ५५ किलोमिटर सडक २०७८ सालमै सम्पन्न भयो। सडकभन्दा ठीक एक वर्षअघि ठेक्का सम्झौता भएको पुल अझै निर्माण नहुँदा जोखिम मोलेरै मालवाहक ठुला सवारी ओहोरदोहोर गर्नु परेको छ।”
करिब ४० वर्षअघि चरीकोट–जिरी सडक निर्माण गर्दा बनाएको पुरानो पुल अहिले चारैतिरबाट चिरा परेर जीर्ण अवस्थामा पुगेको छ। पुरानो पुल जीर्ण अवस्थामा पुग्दासमेत ठेकेदार कम्पनीले पुल निर्माण गर्न चासो नदिएको स्थानीय डम्बर चौलागाईंले बताउनुभयो । पुल निर्माण गर्न ठेकेदारसँगै जिल्लाका राजनीतिक दल र प्रदेश तथा सङ्घीय सरकार तथा सडक डिभिजन कार्यालयले समेत चासो नदेखाएको स्थानीयको गुनासो छ। पुल निर्माणको जिम्मा लिएको ठेकेदार कम्पनी नीलगिरि नेसनल जेभी सम्पर्कविहीन छ। कोरोना महामारीका कारण पुल निर्माण प्रभावित बनेको भन्दै दुई पटक समय थपिएको छ। निर्माण कम्पनीले हालसम्म पुलको जग र पिल्लरबाहेक अन्य संरचना बनाएको छैन।
वर्षा लागेसँगै तामाकोशी नदीमा पानीको बहाव बढ्छ। वर्षामा नदीबाट सवारीसाधन ओहोरदोहोर गर्न नसकिने हुँदा क्षमताभन्दा बढी लोड बोकेका सवारीसाधन पनि पुलबाटै ओहोरदोहोर गर्छन्।