रवीन्द्र उप्रेती
बर्दिबास, असार २७ गते । महोत्तरी सर्लाही सीमामा पर्ने बाँके खोलामा मध्यरातको समय पारेर अवैध उत्खनन् गर्ने एक्स्काभेटरसहित चालकलाई स्थानीय जनताले नियन्त्रणमा लिई प्रहरीको जिम्मा लगाएका छन् । बाँके खोला बगरबाट नम्बर प्लेट नभएको २ थान एक्स्काभेटर नियन्त्रणमा लिएको जिल्ला प्रहरीका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक दिलीप गिरीले जानकारी दिनुभएको हो ।
गौशाला नपा १२ पडरियाबाट ५०-६० जनाको सङ्ख्यामा बुधवार राती करिब १ बजेतिर उत्खनन् स्थल पुगेका स्थानीयले चालकसहित एक्स्काभेटर नियन्त्रणमा लिई कान्तिबजार प्रहरीलाई खबर गरेका थिए । सूचना पाए लगत्तै प्रहरी सहायक निरीक्षक (असई) रोशन लामिछानेको कमाण्डमा घटनास्थल पुगेको सुरक्षा टोलीलाई स्थानीयले चालकसहित एक्स्काभेटर जिम्मा लगाएका थिए ।
उत्खनन् कार्य रोक्न खोज्दा घटनास्थल पुगेका स्थानीय र खोला तस्करका लठैतबीच राती झडप भएको भिडियो फुटेजसमेत सार्वजनिक गरिएको छ । नदी क्षेत्रमा अवैध उत्खनन् माफियाको गतिविधि बढ्दै गएपछि खोलाको सुरक्षाका लागि रातभर जाग्राम बस्नु परेको स्थानीयले जनाएका छन् ।
घटनास्थल पुग्नुभएका असई लामिछानेले गौशाला नपा ७ जमुनिया घर भएका २ जना चालक र नम्बर प्लेट नभएको स्काभेटरलाई कान्तिबजार प्रहरी चौकीको जिम्मामा राखिएको बताउनुभयो । माफिया गिरोहले पोल खुल्ने डरले नियोजित रूपमा एक्स्काभेटर नम्बर प्लेट निकाली अवैध उत्खनन्मा प्रयोग गरिएको अनुमान गरिएको छ ।
बरामद एक्स्काभेटर कसको हो स्पष्ट हुन सकेको छैन । स्थानीयका अनुसार दुवै एक्स्काभेटर गौशाला ७ जयपुर गाउँका हसन नामक व्यक्तिको हो । इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक मनोज यादवले प्रहरी यसको अनुसन्धानमा जुटेको बताउनुभयो । “यथार्थ बुझ्न हसनसँग सम्पर्कको प्रयास भइरहेको छ”, उहाँले भन्नुभयो ।
गौशाला नपा १२ का वडाध्यक्ष कुशेश्वर सिंह तथा हरपुरर्वा नपा ७ का वडाध्यक्ष सुरेन्द्र महतोकाअनुसार महोत्तरीको गौशाला नगरपालिका र सर्लाहीको हरपुरवा नगरपालिकाबीचको सीमामा पर्ने बाँके खोलामा नियमविपरित उत्खनन् गरिरहेको अवस्थामा स्थानीय जनताले उनीहरूलाई पक्राउ गरी प्रहरीको जिम्मा लगाएका हुन् । यस्ता अवैध कार्यविरुद्ध जागरूक जनतालाई प्रहरीले पनि साथ दिनुपर्ने धारणा राख्नुभयो ।
“अवैध उत्खननको दुस्साहस कसले गरेको हो भन्ने प्रहरीले सघन अनुसन्धान गरी दोषीमाथि कारबाही गर्नपर्छ”, वडाध्यक्षले भन्नुभयो । घटनास्थलबाट तस्करका लठैतले प्रयोग गरेका तयारी गाँजा, वाटर गन, भारु २ हजारको एक थान नक्कली नोट र एउटा मोटरसाइकलसमेत फेला परेको फोटो र भिडियो सार्वजनिक भएपछि घट्नाले सबैको ध्यान तानेको छ । तथापि प्रहरीले भने यी सामग्रीबारे अनभिज्ञता प्रकट गरेको छ ।
असारदेखि भदौसम्म नदीजन्य पदार्थको उत्खनन् गैरकानुनी भएपनि खोला माफियाहरूको सङ्गठित गिरोहले अवसर र मौका मिलाएर अवैध उत्खनन् गर्दै आएको घटनाक्रमले देखाएका छन् ।