• ११ वैशाख २०८१, मङ्गलबार

पुरानो पुस्ताले बनाएका ‘ठाँटी’ लोप हुँदै

blog

रेखीराम राना

पाल्पा, असार २६ गते । पाल्पा जिल्लाको विभिन्न स्थानमा बनेका विश्रामस्थल (ठाँटी)को संरक्षण हुन सकेको छैन। 

दुई सय वर्षअघि विश्राम गर्ने उद्देश्यले बनाइएका ठाँटीको संरक्षण हुन नसक्दा जीर्ण बन्दै गएका छन्। सार्वजनिक स्थलमा आराम गर्ने, घामपानी तथा हावाहुरीबाट ओत लाग्ने गरी बनाइएका ठाँठी अहिले जीर्ण बनेका छन्। स्थानीय सरकारको बेवास्ताले दुई सय वर्षअघि बनेका ठाँटीहरू संरक्षण हुन नसकेको स्थानीय बासिन्दाको भनाइ छ। 

अघिल्ला पुस्ताले प्रयोग गरेका यस्ता ऐतिहासिक ठाँटीहरूको संरक्षण हुन जरुरी रहेको रम्भा–५ हुमिनका स्थानीय बासिन्दा नारायणप्रसाद अधिकारीले बताउनुभयो। 

पाल्पाको माडी क्षेत्रका विभिन्न स्थानमा बनेका दर्जनौँ ठाँटी लोप हुने अवस्थामा पुगेको अधिकारीले बताउनुभयो। उहाँले भन्नुभयो, “विभिन्न स्थानबाट लामो यात्रा गर्ने क्रममा रात होस् या दिनमा विश्रामका लागि हाम्रा पुर्खाले बनाएका ठाँटी लोप हुँदै गएका छन्। यसको संरक्षण गर्ने नयाँ पुस्तालाई चासो छैन।” 

ठाँटीलाई दुई/तीन दशकअघिसम्म पनि प्रयोग गर्ने प्रचलन थियो। उनीहरूले समूहको भेला, बैठक, गुठीको भेला यही ठाँटीमा बसेर गर्ने गरेका थिए। यसका साथै गाउँमा कुनै निर्णय गर्नुप¥यो भने ठाँटीमा भेला हुने प्रचलन थियो तर पछिल्लो समय ठाँटीको प्रयोग हुन नसक्दा यसको संरक्षणमा समेत कसैको ध्यान पुग्न नसकेको माथागढी–१, दोहोराका स्थानीय बासिन्दा मनोहर पन्थीले बताउनुभयो। 

उहाँले भन्नुभयो, “हामीले पनि सानो हुँदा यहाँ ठाँटीमा आएर बस्ने, भेला हुने, कुनै निर्णय गर्ने गरेका थियौँ तर अहिले यो ठाँटीको प्रयोग कुनै मानिसले गरेको देखेको छैन।” डेढ दुई दशकअघिसम्म खरका छाना फेरेर टिनका छाना लगाउने, पुराना भएका काठलाई हटाएर ठाँटीलाई मर्मतसम्भार गर्ने प्रचलन थियो। 

पाल्पाको माडी क्षेत्रका पोखराथोक, कसेनी, रुप्से, मदनपोखरा, प्रभास, लालपाटी, बुढीकोट क्षेत्रमा देखिने यस्ता ठाँटीहरू हराउँदै गएका छन्। 

त्यसैगरी रामपुर, अर्गली क्षेत्रमा पनि ठाँटी रहेका थिए तर बाटोको विस्तार, ठाउँ–ठाउँमा विश्रामका लागि प्रतीक्षालय तथा होटल निर्माण तथा सवारीसाधनमा यात्रा गर्ने प्रचलनले ठाँटीको महत्व घट्दै गएको बगनासकाली–३ का स्थानीय बासिन्दा मथुरा ढकालले बताउनुभयो। उहाँले भन्नुभयो, “पहिले–पहिले ठाँटीमा बस्ने र विश्राम गर्नुको छुट्टै आनन्द थियो। अहिले मानिसलाई भेला तथा मनोरञ्जन दिने यस्ता सार्वजनिक स्थलको सङ्ख्या घट्दै गएका छन्।” यस्ता ठाँटीलाई संरक्षण गर्दै जाने हो भने कुनै बेलामा हुन सक्ने विपत्का बेला काम लाग्ने पाकापुस्ताको भनाइ छ।