• १२ पुस २०८१, शुक्रबार

७० वर्षमा एसईई उत्तीर्ण : अब कानुन पढ्ने रहर

blog

काठमाडौं, असार २५ गते । पढ्न चाहनेलाई उमेरले छेक्दैन भन्ने उदाहरणीय पात्र बन्नुभएको छ– ७० वर्षकी ज्येष्ठ नागरिक सूर्यवती खनाल । खनालले २०७९ को माध्यमिक शिक्षा परीक्षा (एसईई) कक्षा १० उत्तीर्ण गर्नुभएको छ । परीक्षा उत्तीर्ण भएसँगै उहाँ खुसीले दङ्ग पनि हुनुहुन्छ । 

वि.सं. २००९ साउन ९ गते तनहुँको भीमाद भन्ने ठाउँमा उहाँको जन्म भएको हो । त्यतिबेला पढ्नका लागि विद्यालय थिएन । विद्यालय भए पनि छोरालाई मात्रै पढाउने चलन थियो । पढ्ने रहर हुँदाहुँदै उहाँको सानै उमेरमा विवाह भएको थियो । 

उहाँले भन्नुभयो, “मेरो १४ वर्षमा विवाह भयो । अहिले त धेरै नै परिवर्तन आयो । तर म जन्मेको बेलामा स्कुल नै थिएन । शिक्षाले नै यतिका परिवर्तन गरेको हो ।” त्यो बेला छोरीहरुले कागजको पैसा चाहिँ चिन्न सक्नुपर्छ भन्ने भान भने परिवारलाई भएको रहेछ । त्यसै कारण, बाल्यकालमा सामान्य क, ख, ग...क, का, कि, की...जस्ता अक्षर अलिअलि पढेको उहाँ स्मरण गर्नुहुन्छ ।

विवाहपछि पनि उहाँको पढ्ने रहर मेटिएन । उहाँले फुर्सदको समय मिल्यो कि, ससुराको किताब जानीनजानी पढ्ने गरेको बताउनुभयो । छोरी मान्छे पढ्न जान्थे तर, बुहारी, नन्द, आमाज्यूलाई घरको काम नै भ्याईनभ्याई हुन्थ्यो । 

उहाँका ७३ वर्षीय श्रीमान् रामभक्त खनाल शिक्षक पेशा गर्दै आउनुभएकोमा अहिले सेवा निवृत्त हुनुभएको झण्डै १५ वर्ष भयो । पछिल्लो समय सूर्यवतीलाई फेरि पढ्ने जाँगर आयो । 

उहाँले भन्नुभयो, “मनमा इच्छा आएपछि जाँगर आउँछ । सबेरै उठ्थेँ, खाना पकाएर सासू, श्रीमान्, छोरा, नातिलाई खान दिएर विद्यालय आउँथे । दिउँसो खाजा, बेलुकाको खानाको समयपछि राति पढ्थेँ ।”

दुई छोरा, दुई छोरी, नातानातिनी, आफन्तले यो समय दुःख गर्ने होइन, आनन्दले बस्ने, मीठो लागेको खानेकुरा खाने हो भन्ने गर्थे । तर उहाँको पढ्ने इच्छालाई कसैले रोकेन । 

सूर्यवती भन्नुहुन्छ, “अहिले पनि पाएर पढेको होइन, आफ्नो घमण्डले पढेको । यो उमेरमा आनन्दसँग नबसेर यस्तो दुःख किन गरेको पनि भन्छन्, कामधन्दा हुन्छ । स्कुल जाँदा कहिले चस्मा बिर्सन्छु, श्रीमानले सम्झाउनुहुन्छ, ल्याइदिनुहुन्छ ।” उहाँले उमेर ढल्कियो भनेर त्यत्तिकै नबस्न सुझाव दिँदै भन्नुभयो, “उमेरले पढ्न छेक्दैन । पढाइ आफ्नो खुट्टामा उभिने चीज हो ।”

उहाँले काठमाडौंको गोंगबुमा रहेको चेतना महिला माध्यमिक विद्यालयबाट आफ्नो सपना पूरा गर्न पाएको भनाइ राख्नुभयो । “पढ्न मन लागेको कुरा हो । यसमा कतिपय दुःख त आजको दिनमा सपना जस्तो हुन्छ । अहिले त्यो सबै बिर्सेर यति खुसी छु”, उहाँले भन्नुभयो ।

उहाँले एसईई उत्तीर्ण गर्न सकेको श्रेय आफ्नो श्रीमानलाई दिनुहुन्छ । बुढ्यौली उमेरमा आमा पढ्न जाँदा बुवाले किन केही नभनेको होला भनेर छोराछोरीले गुनासो गर्ने गरेको उहाँ सुनाउनुहुन्छ । “मेरो श्रीमान नभएको भए म पढ्न आउन पनि पाउँदिनथेँ । उहाँ हुनुुहुन्थ्यो र पो उहाँले केही पनि बोल्नुभएन । घरमा नाति सानो छ, पकाएर खान दिनुप¥यो । बुवाले किन केही नभन्नु भएको होला भन्थे ।” 

एसईईपछि उहाँको छोराछोरीले पनि सोध्छन्, “अब के पढ्नुहुन्छ, आमा भनेर ।” उहाँले छोरा र छोरीबीच किन भेदभाव गरिएको रहेछ भन्ने जस्ता कुराले कानुन पढ्ने चाहना भएको बताउनुभयो । उहाँलाई लगत्तै कक्षा ११ र १२ को पढ्ने रहर छ । 

उहाँले भन्नुभयो, “रहर लागे पनि अब पढ्न त पाउँदिन होला । न्याय, अन्यायमा रुचि छ । पाएँ भने, कानुन पढ्छु ।” सूर्यवतीले १.६ जीपीए ल्याई एसईई उत्तीर्ण हुनुभएको छ । 


भिडियो : मनोजरत्न शाही

Author
सपना थामी

उहाँ राजनीति र समसामयिक विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।