काठमाडौं, असार २४ गते। भन्सार एजेन्टले आर्थिक ऐन २०८० मार्फत भएको भन्सार ऐन २०६४ समय सापेक्ष संशोधन भएको बताएका छन्। भन्सार विभागलाई ध्यानाकर्षण पत्र लेख्दै उनीहरूले भन्सार ऐन समय सापेक्ष संशोधन भएकोमा कसैको दुई मत नभएको बताएको हो।
भन्सार क्षेत्रमा अनधिकृत व्यक्तिलाई प्रवेश गराइ भन्सार क्षेत्र अस्तव्यस्त गराउने र भन्सारलाई बदनाम बनाउने कार्य गरेको प्रति ध्यानाकर्षण भएको उनीहरूले जनाएका छन्।
ध्यानाकर्षण पत्रमा भनिएको छ, ‘केही अमुक सङ्घसंस्था हिजोका दिनमा जस्तै इजाजतपत्र भाडामा लगाउने, भाडामा लिने कार्य गराई भन्सार क्षेत्रमा अनधिकृत व्यक्तिलाई प्रवेश गराइ भन्सार क्षेत्र अस्तव्यस्त बनाउने र भन्सारलाई बदनाम गराउने ध्ययप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ।’
यो व्यवस्थाले भन्सार एजेण्टको अधिकारलाई कटौती गरेको पत्रमा जनाइएको छ। हाल भन्सार एजेण्टको संख्या ७८२ नै पर्याप्त रहेको हुँदा एजेण्टको उपस्थिति संख्याभन्दा गुणात्मक रूपमा हुनुपर्ने पत्रमा उल्लेख छ।
भन्सारले अवलम्बन गरेको प्रविधिलाई आत्मसाथ गर्दै भन्सार जाँचपास कार्य गर्न एजेन्ट अभ्यस्त हुनेक्रममा रहेको बताइएको छ। पत्रमा भन्सारलाई आधुनिकरण सुदृढीकरणका प्रत्येक पाइलामा भन्सार प्रशासनलाई सहयोग गर्न एजेन्ट प्रतिवद्ध रहेको उल्लेख गरिएको छ।