• १२ मंसिर २०८१, बुधबार

विद्यार्थीको निःशुल्क स्वास्थ्य परीक्षण

blog

विद्यालयमा स्वास्थ्यकर्मीहरुद्वारा विद्यार्थीहरुकोे स्वास्थ्य परिक्षण गरिँदै ।

राजन रावत

हुम्ला असार २४ गते । चार वटा गाउँपालिकाका सामुदायिक विद्यालयमा अध्ययनरत पैँतीस सय भन्दा बढी विद्यार्थीहरूको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ । विद्यालयमा अध्ययनरत विद्यार्थीहरूको स्वास्थ्य अवस्था बुझ्न र बिरामी भए उपचारका लागि सहयोग गर्न प्रत्येक विद्यालयमा पुगेर स्वास्थ्यकर्मीहरूको टोलीले चेकजाँच गर्ने कार्य गरेको हो। 

स्वास्थ्य उपचारका लागि सहयोगी भूमिका खेल्दै आएको स्नोल्याण्ड एकीकृत विकास केन्द्रका कार्यकारी निर्देशक गोविन्द बहादुर शाहीले जिल्लाका सिमकोट, खार्पुनाथ, सर्केगार्ड र चङ्खेली गाउँपालिकाका ५२ वटा विद्यालयमा अध्ययनरत तीन हजार पाँच सय ८५ विद्यार्थीहरूको स्वास्थ्य चेकजाँच गर्ने र निःशुल्क औषधि दिने कार्य भएको बताउनुभयो । 

उहाँले विद्यार्थीहरूको स्वास्थ्य अवस्था बुझ्न र बिरामी भए उपचारमा सहयोग गर्नका लागि स्वास्थ्य परीक्षण गर्ने कार्य भएको बताउनुभयो । कुल स्वास्थ्य चेकजाँच गरिएका विद्यार्थीहरूमध्ये तीन जनालाई जिल्ला अस्पतालमा रिफर गरिएको छ । तीनै जनाको उपचार खर्च कार्यक्रमले व्यहोर्ने छ । स्वास्थ्य चेकजाँच गरिएका विद्यार्थीहरूमध्ये तीन जना बाहेक अन्यको अवस्था भने सामान्य रहेको पाइएको छ । 

यसरी चेकजाँचका क्रममा बिरामी भएका विद्यार्थीहरूमध्ये जिल्ला बाहिर रिफर गर्नुपर्ने अवस्था आए ५० हजार रुपियाँ समेत कार्यक्रमले सहयोग गर्दै आएको छ । गाउँपालिका अनुसार स्टेस्नरी सहयोग प्रदान गर्दै आएको विद्यार्थीहरूमा सिमकोट ५८२, खार्पुनाथमा ४३०, सर्केगार्डमा ४८५ र चङ्खेलीमा ५०६ जना विद्यार्थी गरी दुई हजार तीन जना र अन्य विद्यार्थीहरू एक हजार ५८२ जना विद्यार्थीहरुकोे उपचार गरिएको हो । 

स्वास्थ्य परीक्षणका लागि सम्बन्धी गाउँपालिकाको स्वास्थ्य चौकीहरूमा कार्यरत स्वास्थ्यकर्मीहरूबाट स्वास्थ्य परीक्षण गरिएको हो । विद्यालयमा उपचार गरिएका विद्यार्थीहरूमा गुडनेवर्स इन्टरनेस्नल नेपाल अन्तर्गत एकीकृत सामुदायिक परियोजनाको स्वास्थ्य तथा सरसफाइ कार्यक्रमबाट आर्थिक सहयोगमा स्टेस्नरी तथा पोसाक सहयोग गरी रहेका र अन्य विद्यार्थीहरू पनि रहनुभएको छ ।