• १३ साउन २०८१, आइतबार

सामुदायिक विद्यालयमा भर्ना हुन विद्यार्थीको भीड

blog

तनहुँ जिल्लामा प्रथम हुने सत्यवती माध्यमिक विद्यालयकी छात्रा आँचल सिग्देल । तस्बिर: अमरराज नहर्की

अमरराज नहर्की

तनहुँ, असार २४ गते । दमौलीस्थित सत्यवती माध्यमिक विद्यालयले सही व्यवस्थापन र वैज्ञानिक शिक्षण विधि भएमा सामुदायिक विद्यालय अब्बल हुन्छ भन्ने उदाहरण प्रस्तुत गरेको छ ।  

प्रतिबद्ध शिक्षक, चुस्त व्यवस्थापन, जीवनोपयोगी पठनपाठन, रचनात्मक वातावरणले विद्यालय उदाहरणीय बनेको हो ।   निजी विद्यालय  छाडेर भर्ना गर्न तँछाडमछाड हुने गरेको छ  । विद्यालयमा हाल दुई हजार सात सय एक विद्यार्थी अध्ययन गर्छन् । यस वर्षको एसइई परीक्षामा पनि यसै विद्यालयमा कक्षा नर्सरी देखि अध्ययन गर्दै आउनुभएकी छात्रा आँचल सिग्देल तनहुँ जिल्लामा प्रथम हुनुभएको छ । ३.९५ जिपिए ल्याएर जिल्ला प्रथम हुन सफल भएको विद्यालय व्यवस्थापन समितिको अध्यक्ष करुणराज काफ्लेले बताउनुभयो । काफ्लेले भन्नुभयो, निजी विद्यालयको विद्यार्थी माध्यमिक तहमा भर्ना गरेर उत्कृष्ट नतिजा ल्याएको भन्ने आरोप लगाउनेहरू सुरुदेखि नै यसै विद्यालयमा पढ्ने विद्यार्थी जिल्ला प्रथम भए पनि चुपचाप बस्न बाध्य भएका छन् ।

उत्कृष्ट नतिजा ल्याउने गरिएकोले भर्ना गर्न तँछाडछाड हुने गरेको काफ्ले बताउनुहुन्छ । खेलमैदान, भौतिक संरचनाको अभावले गर्दा सबै विद्यार्थीलाई भर्ना गर्न नसकिएको उहाँले बताउनुभयो । यो वर्ष विद्यालयले भर्ना नसकेर धेरै विद्यार्थीलाई फिर्ता पठाएको काफ्ले बताउनुहुन्छ । उत्कृष्ट नतिजा ल्याउने गरेकाले विद्यालय अभिभावकको रोजाइमा परेको हो । विद्यालयमा भने विद्यार्थीको चाप बढेपछि विद्यार्थी भर्ना गराउन प्रवेश परीक्षा नै गर्नुपरेको छ । भौतिक पूर्वाधारको अभावले गर्दा दुई हजार विद्यार्थी फिर्ता पठाउन बाध्यता भएको अध्यक्ष  काफ्लेले जानकारी दिनुभयो । यो शैक्षिक सत्रमा करिब तीन सय ५० विद्यार्थीको थप भर्ना माग भएकोमा निजी विद्यालय छाडेर भर्ना गर्न आउनेको भीड बढेपछि विद्यार्थी फिर्ता पठाउनुपरेको उहाँको भनाइ छ । अध्यक्ष काफ्लेले भन्नुभयो, ‘‘माग अनुसारको भर्ना गर्ने हो भने पाँच हजार विद्यार्थी पुग्छन्, विद्यालयमा प्रार्थना गर्ने ठाउँ नपुगेकोले फिर्ता गर्न बाध्य भएका छौँ ।’’

कतिपय सामुदायिक विद्यालयमा विद्यार्थी अभाव हुँदा बन्द भएका छन् तर यहाँ विद्यार्थी धेरै भएर सेक्सन थप गर्नुपरेको छ । पढाइ प्रभावकारी बनाउन सबै कक्षा कोठमा स्मार्ट बोर्ड, इन्टरनेटको जडान, शिक्षकलाई उत्प्रेरणा जगाउने, कमजोर विद्यार्थीलाई छुट्टै कक्षा व्यवस्थापन गरेर सुधार गराउने, अभिभावक भेला गर्ने जस्ता कार्य गरिएको प्रधानाध्यापक पुष्पकला भट्टराईले बताउनुभयो ।  राष्ट्रिय स्तरमा नै प्रतिस्पर्धा गर्न सक्ने योजनाका साथ विद्यालय अघि बढिरहेको छ।’’विद्या शिक्षकहरू नतिजा कसरी उत्कृष्ट बनाउन सकिन्छ भन्ने कुरामा बढी ध्यान दिने, मेहनत गर्ने अभिभावकहरूको चासो दिने र लगनशीलताले गर्दा स्कुलको नतिजा राम्रो बन्न सफल भएको शिक्षक अभिभावक सङ्घको अध्यक्ष सोमराज सिग्देल बताउनुहुन्छ ।

कक्षा ९ र १० मा सात सेक्सन, ८ मा छ सेक्सन, ७ मा चार सेक्सन र ६ मा तीन सेक्सन सञ्चालन गर्नु परेको विद्यालयले जनाएको छ । गुणस्तरीय शिक्षा प्रदान गर्न सकेकाले विद्यालयमा तनहुँको अतिरिक्त गोरखा, लमजुङ र कास्की लगायतका दमौलीमा डेरा गरेर अध्ययन गर्ने विद्यार्थीसमेत रहेको सहायक प्रधानाध्यापक अनिल श्रेष्ठले जानकारी दिनुभयो । २०७० सालमा यो विद्यालय नेपाल प्रथम भएको थियो । एसएलसी परीक्षामा लगातार तीन वर्षसम्म ८० प्रतिशत भन्दा बढी विद्यार्थी उत्तीर्ण गराउनेको आधारमा प्रथम भएको विद्यालयले जनाएको छ । यो विद्यालय गण्डकी प्रदेशमा चार पटक प्रथम भएको छ ।

विद्यालयमा प्राविधिक शिक्षा पढ्न पाइने भएकाले पनि विद्यार्थीको सङ्ख्या धेरै भएको हो। २०६८ सालदेखि विद्यालयमा कक्षा ११ र १२ मा विज्ञान समूहको कक्षा सञ्चालन भइरहेको छ । यस विद्यालयमा कक्षा ९ देखि १२ सम्म प्राविधिक धारतर्फ कम्प्युटर इन्जिनियरिङ विषयको पठनपाठन भइरहेको छ । उत्कृष्ट नतिजा ल्याएकोले नेपाल सरकारले नमुना विद्यालयको रूपमा छनोट गरेको छ ।  यो २०७४ साल असार २५ गते शिक्षा मन्त्रालयको निर्णय अनुसार नमुना विद्यालय विकास तथा सञ्चालनको लागि छनोट भएको  विद्यालयले जनाएको छ ।  उत्कृष्ट नतिजा ल्याउने गरी विद्यालयले पठन पाठन गरेकोले निजी विद्यालय छोडेर सत्यवतीमा नै आफ्नो नातिनी भर्ना गरेको व्यास नगरपालिका–१० बैरेनी निवासी कोपिला सुनारले बताउनुभयो ।