• १५ चैत २०८०, बिहिबार

सहकारीले कर्जाको पुनर्तालिकीकरण गर्न पाउने

blog

काठमाडौँ, असार २४ गते । अब सहकारी सङ्घ संस्थाले तीन महिनाका लागि कर्जाको पुनर्तालिकीकरण गर्न पाउने 

भएका छन् । सहकारीका ऋणीलाई सहकारी विभागले तीन महिनासम्म कर्जा पुनर्तालिकीकरणको सुविधा उपलब्ध गराउने भएको हो ।

सहकारी संस्थाले भटाभट ऋणीको घरजग्गा लिलाम गर्न थालेपछि सहकारी विभागले सबै सहकारी संस्थालाई आवश्यक निर्देशन दिँदै तीन महिनाको पुनर्तालिकीकरण सुविधा दिन लागेको हो । यस्तो व्यवस्थासँगै अब ऋणीले तीन महिनाभित्रमा कर्जा नयाँ तरिकाले पुनर्तालिकीकरण गर्न पाउने छन् ।

सङ्घीय सहकारी विभागले निर्देशन जारी गर्दै ऋणी सदस्यमा परेको प्रभाव मूल्याङ्कन गरी सदस्यको मागका आधारमा खराब ऋणीको सूचीमा नपरेका तथा गत आर्थिक वर्षमा कर्जा पुनर्तालिकीकरणको सुविधा नलिएका र कर्जाको पाकेको ब्याजको ५० प्रतिशत भुक्तानी गरेमा बाँकी साँवालाई तीन महिनाको अवधिका लागि पुनर्तालिकीकरणको व्यवस्था गर्न सकिने व्यवस्था गरेको हो । यसै गरी विभागले आव २०७९/८० को ब्याज २०८० साउन १५ भित्रमा भुक्तानी प्राप्त भएमा यसै आवको आयका रूपमा गणना गर्ने छुट सुविधासमेत दिएको छ । आर्थिक मन्दी र तरलता अभावका कारण सहकारी क्षेत्र प्रभावित भएपछि विभागले यस्तो सुविधा दिएको हो ।