• १६ चैत २०८०, शुक्रबार

छ अर्बको जुस निर्यात

blog

काठमाडौँ, असार २४ गते । चालु आर्थिक वर्षको ११ महिनामा मुलुकबाट छ अर्ब रुपियाँ बराबरको जुस निर्यात भएको छ । 

भन्सार विभागको तथ्याङ्क अनुसार चालु आवको साउनदेखि जेठ महिनासम्म जुस निर्यात १२.९ प्रतिशतले बढेर छ अर्ब १० करोड रुपियाँको पाँच करोड ४५ लाख ८८ हजार लिटर जुस निर्यात भएको हो । अन्तर्राष्ट्रिय बजारमा स्वदेशी जुसको माग बढ्दै गएपछि निर्यातमा समेत वृद्धि भएको विभागको तथ्याङ्कले देखाएको छ । 

गत वर्ष सो अवधिमा पाँच अर्ब ४० करोड १७ लाख ६८ हजार रुपियाँको निर्यात भएको छ । आर्थिक वर्ष २०७८/७९ मा छ अर्ब ७८ करोड ७० लाख रुपियाँको निर्यात भएको थियो । प्रत्येक वर्ष जुस निर्यात बढ्दै गएको तथ्याङ्कले देखाएको छ । मुलुकमा उत्पादन भएको जुस बङ्गलादेश, चीन, भारत, इटाली, कोरिया, माल्दिभ्सलगायतका देशमा निर्यात हुने गर्छ । सरकारले शक्तिवर्धक पेय पदार्थ (इनर्जी ड्रिङ्क्स) र फ्लेवर्ड सिन्थेटिक ड्रिङ्क्स (जुस) को आयातमा प्रतिबन्ध लगाएसँगै स्वदेशी जुसको निर्यातमा वृद्धि भएको छ । इनर्जी ड्रिङ्क्स र फ्लेवर्ड सिन्थेटिक ड्रिङ्क्स (जुस) को आयात चार वर्षदेखि प्रतिबन्ध छ । 

विभागका तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७७/७८ मा चार अर्ब २२ करोड ९९ लाख रुपियाँको पाँच करोड ८० लाख २४ हजार लिटर जुस निर्यात गरेको थियो ।

आव २०७६/७७ मा तीन अर्ब ४३ करोड २२ लाख रुपियाँको चार करोड ७८ लाख ६१ हजार लिटर, आव २०७५/७६ मा चार अर्ब ५७ करोड ३५ लाख रुपियाँको छ करोड ३४ लाख ८९ हजार लिटर र आव २०७४/७५ मा चार अर्ब ७६ करोड नौ लाख रुपियाँको छ करोड ६६ लाख १७ हजार ६६५ लिटर निर्यात भएको थियो ।

जुस उत्पादनमा डाबर इन्टरनेसनल लिमिटेडको ९७.५० प्रतिशत हिस्सा छ । डाबरले ‘रियल’ ब्रान्डमा ४० भन्दा बढी प्रकारका जुस उत्पादन गरी निर्यात गर्दै आएको छ । बढ्दो गर्मीसँगै स्थानीय बजारमा समेत जुसको खपत धेरै हुने गरेको व्यवसायीको भनाइ छ । 

डाबर नेपालले गत वर्ष १३ अर्ब रुपियाँको व्यापार गरेको थियो, जसमध्ये ६० प्रतिशत हिस्सा निर्यातको थियो । उत्पादित ४० प्रतिशत जुस आन्तरिक बजारमा खपत हुने गरेको कम्पनीले जनाएको छ । कम्पनीले उत्पादन गरेर निर्यात गर्ने वस्तुमध्ये जुसको हिस्सा निकै ठूलो छ । बहुराष्ट्रिय कम्पनी डाबर नेपालले अधिकांश जुस भारत निर्यात गर्दै आएको छ ।

कम्पनीले बङ्गलादेश, अस्टे«लिया, अमेरिका, दक्षिण कोरियालगायतका देशमा नेपाली जुस निर्यात हुने गर्छ । त्यस्तै बङ्गलादेश, थाइल्यान्ड, साउदी अरब, इटाली, कतार, कुुवेतलगायतका देशबाट नेपालमा जुस आयात हुने गरेको छ ।