कबिराज घिमिरे
हिले, असार २३ गते। धनकुटा नगरपालिका वडा नम्बर ९ छिम्सुवाका किसान बद्री कार्कीलाई यो बेला आँप टिपेर बिक्री गर्न भ्याइनभ्याइ छ। उहाँले करिब ३० रोपनी क्षेत्रफलमा आँप खेती गर्नु भएको छ।
३० रोपनीमा उहाँका करिब २५० बोट आँप छन्। राम्रो उत्पादन र मूल्य भएको वर्ष करिब पाँच लाखसम्म आम्दानी दिन्छ। मूल्य कम भएको वर्ष पनि दुई अढाई लाख रुपैयाँ आम्दानी दिलाउँछ। उहाँको मुख्य आम्दानीको स्रोत नै आँप हो। आँपबाटै आएको आम्दानीले वर्षभरीको गुजारा चलाउनु पर्छ।
सोही वडाको माहाङका कृषक मानबहादुर भण्डारीले पनि छिम्सुवामा १४ रोपनी क्षेत्रफलमा आँप खेती गर्नुभएको छ। उहाँ खाना खाएर आँप खेतीमा झर्नु हुन्छ र साँझ परेपछि फर्कनु हुन्छ।
धनकुटाको बेसीफाट आँप उत्पादनको लागि राम्रो क्षेत्र मानिन्छ। तर छिम्सुवा गाउँ यस्तो छ। जसले जिल्लाको कुल उत्पादनको आधा भन्दा बढी उत्पादनको हिस्सा धान्दै आएको छ। यहाका बासिन्दाको मुख्य आम्दानीको स्रोत नै आँप हो।
छिम्सुवामा करिब ६४ हेक्टर जमिन रहेको छ। ६४ मध्ये ४५ हेक्टर भन्दा बढी क्षेत्रमा यहाँ आँपको खेती मात्रै रहेको छ। जुन जिल्लाको कुल आँप उत्पादन हुने क्षेत्रको आधा भन्दा बढी हिस्सा हो।
जिल्लामा कुल ८५ हेक्टर क्षेत्रफलमा आँप खेती हुँदै आएको छ। छिम्सुवामा ४० परिवारको बसोबास छ। यो सिजनमा छिम्सुवामा जता हेर्यो आँप मात्रै देखिन्छ। आँखाले भ्याएसम्म आँपको मात्रै छ। यहाँ स्थानीय मात्र नभई धनकुटा बजार, मार्गा बेलहारा लगायतका स्थानका कृषकको समेत आँप बगैंचा रहेको छ।
राष्ट्रिय राजमार्गको नजिक फाँटिलो क्षेत्र तथा दिगो आम्दानीको स्रोत भएकाले यहाँका कृषक आँप खेतीतर्फ आकर्षित भएको स्थानीय किशोर भण्डारीको भनाइ छ।
धनकुटामा छिम्सुवाबाहेक तमोर र अरुण नदी किनारमा रहेका फमामेटार, साप्तीङटार, सफाइधाप, चानुवा, दमार लगायतका क्षेत्रमा आँप खेती हुने गरेको छ। जिल्लामा मालदह, कलकत्तिया बम्बईलगायत आँपको खेती हुने गरेको छ।
कृषि ज्ञान केन्द्र धनकुटाको तथ्याङ्कअनुसार धनकुटामा गत वर्ष ८५ हेक्टर क्षेत्रफलबाट १६० मेट्रिकटन विभिन्न प्रजातिका आँप उत्पादन भएको थियो। यहाँ उत्पादन भएको आँप धनकुटामा मात्र नभइ तराईका बजारसम्म पुग्ने गरेको कार्यालय प्रमुख नगेन्द्र रानाले जानकारी दिनुभयो।
छिम्सुवामा रहेको आँप बगैंचा ।