• १५ चैत २०८०, बिहिबार

पाथीभरा याङ्वरकको पुँजीगत खर्च साढे ५८ प्रतिशत मात्र

blog

थेचम्बुस्थित पाथीभरा याङ्वरक गाउँपालिकाको कार्यालय। तस्बिर : चन्द्र पन्दाक।

चन्द्र पन्दाक

ताप्लेजुङ, असार २३ गते। ताप्लेजुङको पाथीभरा याङ्वरक गाउँपालिकाको पुँजीगत बजेट करिब साढे ५८ प्रतिशत मात्र खर्च भएको छ। चालू आर्थिक वर्ष सकिनै लाग्दा शुक्रबार सम्ममा पुँजीगत तर्फको बजेटमा निक्कै कम खर्च भएको हो।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जनार्दन निरौलाका अनुसार शुक्रबार सम्ममा पुँजीगततर्फ कुल ५८.५२ प्रतिशत मात्र खर्च भएको छ। पुँजीगत बजेटको उक्त प्रतिशत बराबर खर्च हुँदा चालू तर्फको भने ७८.२३ प्रतिशत खर्च भएको निरौलाले जानकारी दिनुभयो। उहाँले अब आइतबार एक मात्र खर्च गर्ने अर्थात् रकम निकासा गर्न पाइने भएकाले शुक्रबार सम्ममा भएको खर्च प्रतिशत केही बताउनुभयो। 

कर्मचारीको तलबभत्ता निकासा गर्न बाँकी रहेकाले चालूतर्फको खर्च बढेर ८३ प्रतिशतसम्म पुग्नसक्ने उहाँले जानकारी दिनुभयो। यस्तै केही सम्पन्न भइसकेको योजनाहरूको भुक्तानी दिन बाँकी रहेकाले पुँजीगत तर्फको बजेट खर्च पनि करिब ६५ प्रतिशतसम्म पुग्ने उहाँको भनाइ छ। चालू आवका लागि पाथीभरा याङ्वरक गाउँपालिकाको पुँजीगत बजेट २२ करोड ३५ लाख ३६ हजार र चालूतर्फको बजेट ३० करोड ५८ लाख ५४ हजार रुपियाँ रहेको थियो। 

यता शनिबार आयोजित पाथीभरा याङ्वरक गाउँपालिकाको सार्वजनिक सुनुवाइमा सेवाग्राहीले धेरै गुनासो तथा असन्तुष्टिहरू व्यक्त गरेका छन्। गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीप्रति सर्वसाधारण सेवाग्राहीले असन्तुष्टि व्यक्त गरेका हुन्। 

निर्वाचनका समयमा भोट माग्ने क्रममा गरेको प्रतिविद्धताअनुसार काम नगरी दिएकोभन्दै जनप्रतिनिधिमाथि सर्वसाधारणले असन्तुष्टि जनाएका छन्। दलीय स्वार्थको रूपमा र पक्षपातपूर्ण ढङ्गबाट जनप्रतिनिधिहरूले काम गरिरहेका पनि सर्वसाधारणले आरोप लगाएका छन्।

यस्तै गाउँपालिका तथा वडाका कर्मचारीबाट सहज सेवा नपाइएको सेवाग्राहीको गुनासो छ। सेवा लिन जाँदा छिटो, छरितो र सहज सेवा नदिने गरेको सर्वसाधारणले बताएका छन् भने कतिपय योजना फर्स्योटमा कर्मचारीले रकमसमेत माग्ने गरेको उनीहरूको आरोप छ। सार्वजनिक सुनुवाइमा पालिका अध्यक्ष केशरकुमार सुब्बा, उपाध्यक्ष रनमाया गुरुङ, प्रमुख प्रशासकीय अधिकृत निरौला, वडाध्यक्षहरू, विषयगत क्षेत्रका कर्मचारी लगायतले सेवाग्राहीले उठाएका सवालको जवाफ दिनुभएको थियो।