• १५ चैत २०८०, बिहिबार

मानव–वन्यजन्तु द्वन्द्व: पाँच वर्षमा दुई सय जनाको मृत्यु, ६० करोड बढी राहत क्षतिपूर्ति

blog

काठमाडौँ, असार २३  गते । पछिल्लो समय वन वातावरण संरक्षणका क्षेत्रमा मुलुकले प्राप्त गरेको उपलब्धि कारण अन्तर्राष्ट्रिय मञ्चमा नेपालको प्रशंसा हुने गरेको छ । तर यससँगै बढेको मानव–वन्यजन्तु द्वन्द्व र त्यसबाट बर्सेनि दजनौँ व्यक्तिको मृत्यु तथा सरकारले व्यहोर्नुपर्ने करोडौँ रकमको क्षतिपूर्तिले भने विभिन्न प्रश्न उठ्ने गरेका छन् ।

खासगरी संरक्षित क्षेत्र वरपर बढ्दो जनघनत्व एवम् अव्यवस्थित भू–उपयोगका कारण वन्यजन्तुको वासस्थानमा भएको क्षयीकरण एवं सङ्कुचनले गर्दा वन्यजन्तु आफ्नो वासस्थान छाडी गाउँ बस्तीमा पस्ने गरेका छन् । यसबाट संरक्षित क्षेत्रभित्र तथा यसको वरिपरि बसोबास गर्ने समुदायको वन्यजन्तुबाट मानवीय तथा आर्थिक क्षति हुँदै आएको छ ।

हात्ती, बाघ, गैँडा, चितुवा, भालु, जङ्गली कुकुरलगायतका वन्यजन्तुको आक्रमणबाट पछिल्लो पाँच वर्षमा एक सय ९७ मानिसको मृत्यु भएको तथ्याङ्क छ । यस अवधिमा वन्यजन्तुबाट भएको क्षतिका लागि सरकारले रु ६० करोड १२ लाख ७४ हजार पाँच सय १४ रकम क्षतिपूर्ति व्यहोरेको छ ।   

साथै वन्यजन्तुले मानिसलाई घाइते बनाउने, बालीनाली, घर, गोठको क्षतिलगायत घटना बढ्दै गएका छन् । मुलुकभरका राष्ट्रिय निकुञ्जलगायत संरक्षित क्षेत्र आसपासमा हात्ती, बाघ, भालु, गैँडा, चितुवा, हिउँ चितुवा, ब्वाँसो, जङ्गली बँदेल, अर्ना, मगर गोही, गौरी गाईलगायत वन्यजन्तुसँग मानव द्वन्द्व बढेको देखिन्छ ।

आर्थिक वर्ष २०७९र८० जेठसम्म वन्यजन्तुबाट ३६ जनाको मृत्यु भएको छ भने वन्यजन्तुबाट भएको क्षतिका लागि रु १० करोड ८७ लाख १८ हजार चार सय २९ रकम राहत वितरण गरिएको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले जनाएको छ । यस अवधिमा सबैभन्दा बढी हात्तीबाट १४, बाघबाट १२, गैँडाबाट चार, चितुवाबाट तीन, जङ्गली बँदेलबाट दुई र भालुबाट एक ३६ जनाको मृत्यु भएको छ । वन्यजन्तुबाट सामान्य घाइते ४६ जना, सख्त घाइते ९७ जना, पशुधनको क्षति तीन हजार ९१२, भण्डारण गरेको अन्नको क्षति दुई सय ५६, घरगोठको क्षति तीन सय ८५ र अन्नबालीको क्षति तीन हजार ७४ घटना भएको विभागको तथ्याङ्क छ ।

यसैगरी आव २०७८र०७९ मा मुलुकभर वन्यजन्तुबाट मृत्यु हुने मानिसको सङ्ख्या ५८, सामान्य घाइते सङ्ख्या ७२ र सख्त घाइते हुनेको सङ्ख्या ११६ रहेको छ भने वन्यजन्तुबाट भएको क्षतिको कूल १२ हजार ६७२ वटा घटना दर्ता भएका छन् । यस अवधिमा सबैभन्दा बढी हात्तीबाट २३ जनाको मृत्यु भएको छ । त्यसपछि बाघबाट २१, गैँडाबाट पाँच, चितुवा र जङ्गली बँदेलबाट तीन/तीन र गौरी गाईबाट एक जनाको मृत्यु भएको थियो । साथै वन्यजन्तुबाट भएको क्षतिबापत कूल रु १५ करोड ५८ लाख दुई हजार चार सय ६८ बराबरको राहत रकम वितरण गरिएको छ । मानव वन्यजन्तु द्वन्द्वलाई न्यूनीकरण गर्न वन्यजन्तुबाट हुने क्षतिको राहत सहयोग निर्देशिका, २०६९ ९तेस्रो संशोधन, २०७५० बमोजिम राहत उपलब्ध गराउने व्यवस्था छ ।

विभागका निमित्त महानिर्देशक अजय कार्कीले मानव वन्यजन्तु द्वन्द्व बढ्दै गएको र यसबाट मृत्यु हुनेको सङ्ख्या तथा राहत क्षतिपूर्ति पनि बढ्दो बताउनुभयो । वन तथा वातावरण मन्त्रालयले पछिल्लो समय क्षतिपूर्ति दिनुपर्ने वन्यजन्तुको सूचीमा नीलगाई र बाँदर पनि थप गरेको बताउँदै उहाँले यसले क्षतिपूर्ति रकममा ठुलो मात्रामा वृद्धि हुने उल्लेख गर्नुभयो । मन्त्रालयको उक्त प्रस्ताव मन्त्रिपरिषद्बाट पारित हुने अन्तिम चरणमा छ ।  

यसका साथै मन्त्रालयले वन्यजन्तुको आक्रमणबाट अपाङ्ग भएका व्यक्तिलाई, अस्पतालबाट डिस्चार्ज भएको ३५ दिनभित्र मृत्यु व्यक्तिलाई दिनुपर्ने क्षतिपूर्ति थप गरेकाले र गाई भैँसीको मृत्युमा दिने रकम दोब्बर गरेका कारण पनि राहत रकम बढ्ने देखिन्छ ।

विभागले उपलब्ध स्रोत साधन र बजेटमा आधारित भएर रोकथाका काम गरिरहेको निमित्त महानिर्देशक कार्कीले बताउनुभयो । वन्यजन्तुलाई आफ्नो वासस्थानमा नै बस्न सक्ने गरी र जङ्गलमा आश्रित मानव समुदायलाई जीवनयापनको विकल्प दिने गरी विभिन्न कार्यक्रम गरिरहेको उहाँ बताउनुभयो । मुख्यरुपमा मानवले नै आनीबानी परिवर्तन गर्नुपर्ने उहाँको भनाइ छ ।

आव २०७७र०७८ मा नेपालभर वन्यजन्तुबाट मृत्यु हुने मानिसको सङ्ख्या ४०, सामान्य घाइते सङ्ख्या ९८ र सख्त घाइते हुनेको सङ्ख्या ६७ छ भने वन्यजन्तुबाट भएको क्षतिका कूल आठ हजार चार सय ५५ वटा घटना दर्ता भएको छ । यस अवधिमा सबैभन्दा बढी हात्ती र बाघबाट १३र१३ जना, त्यसपछि गैँडाबाट छ जना, भालु र चितुवाबाट तीन/तीन, जङ्गली बँदेल र गौरी गाईबाट एक/एक जनाको मृत्यु भएको तथ्याङ्क छ । यस अवधिमा राहतबापत रु १४ करोड नौ लाख ९३ हजार पाँच सय ५६ रकम वितरण गरिएको छ ।

त्यस्तै मुलुकभर आव २०७६र०७७ मा वन्यजन्तुबाट मृत्यु हुने मानिसको सङ्ख्या ३३, सामान्य घाइते सङ्ख्या ६७ र सख्त घाइते हुनेको सङ्ख्या एक सय १० जना रहेको छ । यस अवधिमा सबैभन्दा बढी १३ जना हात्तीबाट, त्यसपछि बाघ र चितुवाबाट आठ/आठ र गैँडाबाट चार जनाको मृत्यु भएको थियो । वन्यजन्तुबाट भएको क्षतिका लागि राहतबापत रु १० करोड ६६ लाख ७५ हजार नौ सय ७१ रकम वितरण गरिएको छ ।

आव २०७५/७६ मा वन्यजन्तुबाट ३० जनाको मृत्यु भएको र १३७ जना घाइते भएको तथ्याङ्क छ । यस अवधिमा सबैभन्दा बढी हात्तीबाट १५ जना, चितुवाबाट छ जना, बाघबाट चार जना, गैँडाबाट दुई जना तथा जङ्गली कुकुर, जङ्गली बँदेल र मगर गोहीबाट एक/एक जनाको मृत्यु भएको थियो । साथै वन्यजन्तुबाट भएको क्षतिका लागि रु आठ करोड ९० लाख ८४ हजार ९० राहत वितरण गरिएको थियो ।

विश्व जन्तुकोष नेपालका राष्ट्रिय प्रतिनिधि डा घनश्याम गुरुङले मानव–वन्यजन्तु द्वन्द्व रोकथामका लागि जङ्गल वरपरका समुदायलाई जङ्गल नपस्ने गरी जीविकोपार्जनको विकल्प दिनुपर्ने, स्थानीयको वन्यजन्तुप्रति गर्ने आनीबानीमा परिवर्तन गर्नुपर्ने बताउनुभयो । साथै उहाँले वन्यजन्तुको वासस्थानको राम्रो व्यवस्थापन गर्न सके वन्यजन्तु बाहिर ननिस्कने बताउँदै स्थानीयवासीको भएको क्षतिको क्षतिपूर्ति दिनुपर्ने र अठेरोमा परेका वन्यजन्तुको उद्धार गर्नुपर्नेलगायत सुझाव दिनुभयो । रासस