• १० मंसिर २०८१, सोमबार

गीत आएन भुइँचालो पो आयो

blog

हामी सिनेमा हेर्न निमग्न थियौँ । आँखाहरू पर्दातिर एकोहोरिइरहेका थिए । चुम्बकझैँ बिस्तारै तान्दै थियो, कथावस्तुले पनि । करिब १५–२० मिनेटको अन्तरालपश्चात् सिनेमामा केन्द्रित मेरो मन–मस्तिष्कलाई पर्दामा थप एकोहो-याउने विषय अर्कै बन्यो । मेरा साथी सुदर्शन श्रेष्ठको अभिनय–कौशल नियाल्न पाइयो । उनी नकारात्मक भूमिका निर्वाह गर्दै थिए । वैदेशिक रोजगारीमा जान इच्छुक यत्नशील युवाहरूसँग पैसा असुले पनि विदेश उडाउन भने आलटाल गर्ने भूमिकामा रहेछन् । एक हिसाबले दलाल जस्तै । रकम फसेका युवाहरू उनीकहाँ जान्थे र भन्थे, “कि त हामीलाई चाँडै विदेश उडाइदिनु प-यो, हैन भने पैसा फिर्ता पाउनु प-यो ।”

उनी भने आलटाल गर्न निकै माहिर । उनी लिच्चड पारामा भन्थे, “पख न भाइहरू हो ! म तिमीहरूलाई उडाइदिइ हाल्छु नि ! किन आत्तिएका ? म तिमेरुका पैसा खाएर भाग्छु र ?” 

तातो रगतले भरिएका जोसिला–जाँगरिला युवाहरू किन मान्थे नि ! जति आलटाल गरे पनि उनलाई ‘ठिक पार्न’ म्यानपावर कम्पनीमै गए । युवाहरूले उनलाई लखेट्न थाले । उनी भाग्दै थिए... । 

अफसोच ! त्यही समय धर्ती पूरै कम्पायमान हुन थाल्यो । देउता चढेका धामी–झाँक्रीझैँ । सिनेमा हलका कुर्सीहरू लिङ्गे पिङ झैँ लचकलचक हल्लिन थाले । हलको छाना पनि थर्किएर भुइँमा खस्न थाल्यो । कोलाहल, चिच्याहट, भागाभाग । सिनेमाको दृश्य नियाल्न तल्लीन अनुहारहरू एकाएक भय र त्रासदीको बाक्लो कुहिरोभित्र रुमल्लिन थाले ।

२०७२ साल वैशाख १२ गते । हामी (म, श्रीमती दीपा र छोरा विभव) अष्टनारायण हलमा अघिल्लो दिन मात्र रिलिज भएको ‘रेसम फिलिली’ नामक सिनेमा हेर्न गएका थियौँ । एघार बजेदेखि चल्न थालेको सिनेमा ११.५६ मा ‘द एन्ड’ भयो । अरू केही नभई केवल भूकम्पको कारण । सिनेमा हलबाट तीव्र गतिमा बाहिरिँदा त्रासको भारी त बोकेका थियौँ नै तर मेरो अन्तरकुन्तरमा भने एउटै खुल्दुली जीवितै रह्यो, ‘आखिर, सुदर्शनजीलाई ती युवाहरूले पिटे कि पिटेनन् ? पिटेका भए कसरी पिटे होलान् ? उनले के कसरी प्रतिवाद गरे होलान् ?’ 

आपत्को बेला कसरी जिउ जोगाउने भन्ने उपायको मात्र खोजी हुने रहेछ । भूकम्पले आफ्नो शक्ति प्रदर्शन गर्न थालेपछि अधिकांश दर्शक भाग्नेक्रममा बरन्डातिर भागे । हामी पनि बरन्डातिर भाग्यौँ । बरन्डामा कहाँ निकास हुनु ! बरन्डाबाट फर्किएर प्रवेशद्वारतिर दगु¥यौँ । प्रवेशद्वारबाट निस्किने बेला मेरो आँखा किनकिन पर्दातिर सोझियो । अहो ! सिनेमा भने चालु नै थियो । शायद, अपरेटर पनि सिनेमा बन्द गर्न छाडेर ज्यान जोगाउन भागेछन् क्यार ! 

प्रवेशद्वारबाट निस्किने बेला केही इँटा खसिरहेका थिए । खसिरहेका इँटाबाट जोगिँदै सडकमा निस्कियौँ । हामी करिब पन्ध्र मिनेट जतिको दूरीमा अवस्थित घर फर्किन हतारियौँ । मनभित्र यस्तै चिन्ता पलाइरहेको थियो, ‘घर के भयो होला ? बुबालाई कस्तो छ होला ?’ 

सडकमा निस्किएपछि देख्यौँ– एउटी बालिका ढुङ्गाले लागेर घाइते भएकी थिइन् । उनलाई अस्पताल लैजाने तयारी चल्दै थियो । बालाजु बाइपासको मुख्य सडकभन्दा केही माथि अर्को सडक निर्माण गरिएको थियो, धुले सडक । अरूभन्दा त्यो धुले सडकमा सुरक्षित हुने अपेक्षा बोक्दै उक्लियौँ, जहाँबाट बालाजु, नयाँ बसपार्क, गोंगबु, सामाखुसीलगायत काठमाडौँका अरू ठाउँहरू नियाल्न सकिन्थ्यो । चारैतिर नजर दौडायौँ । अहो ! पुरानो गुहेश्वरी, गोंगबुलगायत इलाकामा घरहरू भत्किएर बुङ्बुङ्ती धुलो उडिरहेको थियो । भवन–घरहरू भत्किएर उडिरहेका धुलोले कुहिरीमण्डल सिर्जना हुन पुगेको थियो । 

ती भयावह दृश्य हेर्ने फुर्सद कहाँ नै थियो र ! दौडिरहेका पैताला स्थिर हुने अवस्थै रहेन । बालाजु पार्कनिर आइपुग्दा पार्कभित्र मानिसहरू कहालिँदै र चिच्याउँदै छिरिरहेका थिए । कोही बच्चा बोकेर, कोही वृद्धवृद्धालाई डो¥याउँदै । पार्कको विपरीत अवस्थित एउटा ठुलो भवन गल्र्याम्मगुर्लम्म ढलेको थियो र सडकको पल्लो छेउसम्मलाई नै ताजा भग्नावशेषले ढाकेको थियो । बालाजु औद्योगिक क्षेत्रको पर्खाल पनि सहीसलामत थिएन । पर्खाल भत्किएपछि सडकमा इँटा, काँडेतारहरू असरल्ल छरिएका थिए । सेना परिचालित भइसकेको रहेछ र ‘जोखिम छ’ भन्दै हामीलाई त्यो बाटो नहिँड्न भने तर हामीले नजिकै घर रहेको बताएपछि सेनाहरूले छोडिदिए । 

०००

घर नजिकैको खाली चौरमा टोलका बासिन्दाहरू गोलाका कमिलाजस्तै कुँडुलो लागेर बसिरहेका थिए । हतारहतार घरतिर लाग्यौँ, बुबा घरमै बसिरहनुभएको थियो । अरूहरूका भागाभाग चले पनि बुबाले भने घर छाड्नुभएको रहेनछ । घर सकुशल रहे पनि चतुर्दिक् पर्खाल भने भत्किएछ । फेदैदेखि । सानातिना परकम्पन जाने क्रम यथावत् थियो । घरभन्दा चौर नै सुरक्षित देख्यौँ र चौरमा अड्डा जमाएर बस्न थाल्यौँ । 

केही क्षणपछि किशोरजी (किशोर श्रेष्ठ÷फोटो पत्रकार) लाई सामान्य घाइते अवस्थामा भेट्यौँ । र, सहानुभूतिको स्वर पोख्यौँ, ‘ओहो ! तपाईं कहाँ घाइते हुनुभयो ? घरमा कि बाहिर ?’ 

कुरो फरक रहेछ । भूकम्पले ताण्डव–दृश्य देखाउनुभन्दा करिब आधा घण्टाअघि डल्लु इलाकामा मोटरसाइकल दुर्घटनामा परेर उहाँको नाक, हात–खुट्टामा चोट लाग्न पुगेको रहेछ । तर दोष भने भूकम्पले पायो । किनभने केही मिनेटअघि मात्रै भुइँचालोको ‘भाग्य’ चम्किएको थियो र भुइँचालोले बाहेक घाइते तुल्याउने अरू के नै कारण हुन सक्थ्यो र ? 

गर्मी उकालो चढ्दै थियो । चौरको दक्षिणी दिशातिर सानो टुक्रा जग्गा खाली थियो र केही शीतल पनि । परकम्पनसँग आत्मीय संवाद गर्दै त्यही खाली ठाउँमा बसिरहेका थियौँ । एकाध घण्टाअघि घाइते हुनुभएका किशोरजी पनि सँगै हुनुहुन्थ्यो । उहाँले एक्कासि शरीरको पछिल्लो भाग (पुट्ठा) अस्वाभाविक रूपमा कन्याउन लाग्नुभयो र पीडामिश्रित स्वरमा भन्नुभयो, ‘मलाई किन पोलिरहेको छ, यहाँ ?’

हामीले उहाँ बस्नुभएको ठाउँतिर नजर पु-यायाैँ । हरे ! साथीले त सिस्नुमाथि पो आतिथ्य ग्रहण जमाएका रहेछन् । एकातिर घाइते हुँदाका पीडा, अर्कोतिर सिस्नुमाथिको बसाइँ । ‘कङ्गाली मे आटा गिला’ भनेजस्तै । हाम्रा लागि हँसिमजाकको विषय बन्यो । 

दिउँसोको एक जति बजेको थियो । एउटा खबर सर्वत्र फैलियो– ‘धरहरा त ढल्यो रे !’ यो खबर सुन्ने बित्तिकै घाइते अवस्थामै भए पनि किशोरजी क्यामरा भिरेर कुदिहाल्नु भयो । पेसागत इमानदारी न रह्यो । 

त्यस दिन बिहानैदेखि मौसम खुसी थिएन । तात्कालिक समय पत्रपत्रिका किन्न बोहराटार वा वनस्थली चोक नै पुग्नुपथ्र्यो । शनिबारको दिन । प्रातःकालीन भ्रमण पनि हुने भएको हुँदा बोहराटारतिर उक्लिन मन लाग्यो । घर नजिकैको थियो– थोरै खाली जग्गा । जहाँ फर्सी र सिमी–बोडीहरू रोपेका थियौँ । फर्सी रोपेको ठाउँनिर एउटा कुकुरले माटो खोस्रिरहेको देखेँ । मैले कुकुरलाई धपाएँ । शायद भूकम्पको पूर्वानुमान भएर कुकुरले माटो खोस्रिएको पो थियो कि ! पत्रिका किनेर घर फर्किएपछि फिल्म हेर्न जाने योजना बन्यो । र, हतारहतार खाना खाएर हलतिर लागेका थियौँ । 

अघिल्लो दिनदेखि सिनेमा हलहरूमा ‘झोला’ र ‘रेसम फिलिली’ लागेका थिए । निर्देशक–साथी यादव भट्टराईकृत ‘झोला’ को प्रिमियर–सो हेरिसकेको हुँदा ‘रेसम फिलिली’ हेर्न मन लागेको थियो, सपरिवार नै तर ‘रेसम फिलिली’ पूरै हेर्न नपाई भुइँचालोले हामीलाई घरतिर फिलिली कुद्ने अवस्थामा पु¥याइदियो । साँच्ची नै, फिलिली कुदेरै घरसम्म आइपुगेका थियौँ । धावक बैकुण्ठ मानन्धरभन्दा अलिक केही कम । 

०००

घरमा रात बिताउने अवस्था थिएन । परकम्पनहरूले तर्साइरहेका थिए । घरतिर छिर्ने सडक केही वर्षपूर्व ढलान गरिएको थियो र सामान्य उकालो पनि थियो । मैले त्यही सडकमा रात बिताउने निधो गरेँ । एउटा डसना, सिरक र सिरानी ओछ्याएँ, सडक छेउमा । जबरजस्ती रूपमा निदाउने प्रयत्न गरेँ । अफसोच ! प्रकृति पनि कति झेल्ली भएकी ? राति १०–११ बजेतिर पानीका मसिना थोपाहरू बर्सिन थाले । सडकको बास पनि उठिबास हुन पुग्यो । डसना, सिरक र सिरानी च्यापेर घरतिरै फर्किएँ । 

जेनतेन त्यस रात त्रासदपूर्ण अवस्थाबिच पार ग-यौँ । भोलिपल्ट भने बिहानैदेखि पालको खोजीमा दगु-यौँ । पसलहरूमा पालको कृत्रिम अभाव प्रारम्भ भइसकेको रहेछ । बल्लतल्ल वनस्थलीस्थित एउटा पसलमा पाल पाइयो । सम्भवतः नौ सय रुपियाँमा किनेँ । समर्पण बस्तीस्थित सार्वजनिक जग्गाको एउटा कुनामा पाल टाँग्यौँ र त्यही बस्न थाल्यौँ । टोलका अरू बासिन्दाहरू पनि पालको व्यवस्थापन गर्न जुटे र त्यही चौर ओगटेर बस्न थाले, आफ्नै निजी सम्पत्तिजस्तै ठानेर । चौर त हेर्दाहेर्दै ‘शरणार्थी शिविर’ जस्तो पो देखियो । नजिकै घर छ, चौरमा बसाइँ । राजु परियार र विष्णु माझीको स्वरमा सजिएको गीत ‘गर्नु ग¥यौँ भुइँचालो दुनियाँलाई दुःख दिएर...’ लाई ‘रिमिक्स’ गर्नुबाहेक अरू विकल्प बँचेको थिएन हामीसँग । 

लघु–परकम्पनहरूले अत्याइरहेका बेला भोलिपल्ट दिउँसो १ बजे फेरि जमिन धर्मरायो । म चौरमा विभवलाई लिएर बसिरहेको थिएँ । एक्कासि धर्ती काँप्न थाल्यो । धर्ती नै चिरा–चिरामा विभक्त भएर फाट्लाजस्तो लाग्यो । मलाई त रिङ्गटा नै चल्यो । बरु, अघिल्लो दिन भूकम्पको धमाकेदार शिलान्यास हुँदा त्यति डर लागेको थिएन । डराउनै नपाई भूकम्पले बाइबाई गरिसकेको थियो । भोलिपल्ट भने निकै अत्यास लाग्यो । 

वैशाख १३ देखिको चौरको बसाइँ निकै नै लम्बियो । खाना पकाउन र खान मात्र घरमा आउँथ्यौँ, अरू सबै समय चौरकै शरणागत । हामी चौरमा बसे–सुते पनि बुबा भने एकदिनबाहेक सबै दिन घरमा नै सुत्नुभयो । शायद हामीभन्दा कम डराउनु भएर हो कि ! 

वैशाख १२ को भूकम्पले थोपरेको त्रास क्रमशः ओरालोतिर झर्दै थियो । डरका पाउलाहरू मुर्झाउन लाग्दै थिए । जीवन सामान्य लयमा फर्किने तर्खरमा थियो तर वैशाख २९ गते भूकम्पले फेरि जोडदार रूपमा ‘इन्ट्री’ ग¥यो । कुनै खलनायकले फिल्ममा प्रवेश गरेजस्तै । फाट्दै गएको त्रास पुनः ब्युँतियो । बस्दै गइरहेको खाटा फेरि बल्झियो । वैशाख १२ मा गोरखाको बारपाकलाई केन्द्रबिन्दुको रूपमा चयन गरेको भूकम्पले २९ गते भने दोलखाको सुनखानीलाई रोज्यो । दुवै ठुला कम्पनले जन, धन र मनहरूलाई नराम्ररी बिथोल्यो, नमज्जाले क्षति पु¥यायो । 

सम्भवतः जेठको २–३ गतेतिर मात्र हामी गृहप्रवेश ग-यौँ । त्यसपछिका परकम्पनहरू कमजोर साबित हुँदै गए । जति परकम्पन आए पनि तिनीहरूलाई सामना गर्न अभ्यस्त हुँदै गयौँ । 

०००

यति बेला भूकम्पको अकल्पनीय कहर झेलेको आठ–नौ वर्ष बितिसकेको छ । अचेल ती दिन र क्षणहरू सम्झिँदा लाग्छ– ‘कसरी झेल्यौँ होला हामीले, भूकम्पको त्यति पीडादायी कहर ?’ अझ धेरैभन्दा धेरै सम्झना त ‘रेसम फिलिली’ को आइरहन्छ । दुर्भाग्य ! जुन फिल्म हामीले आद्योपान्त हेर्न पाएनौँ । त्यो फिल्म हेर्ने अवसर जुर्दै जुरेन, आजपर्यन्त । 

फिल्ममा एउटा गीत थियो, ‘हा..हा..पारि त्यो डाँडामा हेर, घाम लाग्यो घमाइलो, लाग्यो मलाई रमाइलो, तिमी र म घुम्न जाऊँ न...।’ फिल्म सुरु भएको केही समयदेखि नै यो गीतको धुन बज्न थाल्यो । गीतमा ‘निष्ठुरी’ र ‘बैगुनी’ भन्ने शब्द पनि थिए क्यार ! गीतका शब्द जस्तै भुइँचालो सबैका निम्ति ‘निष्ठुरी’ र ‘बैगुनी’ साबित भइदियो । विडम्बना ! गीत नआउँदै भुइँचालो पो आइदियो ।

अचेल कहीँ–कतै यो गीत बज्दा म सहृदयतापूर्वक भन्ने गर्छु, ‘कृपया ! यो गीत म सुन्न चाहँदिनँ । बन्द गरिदिनु होला ।’ 

‘किन ? यति राम्रो गीतले तपाईंलाई इरिटेड तुल्याउने के त्यस्तो कारण छ ?’ सोध्छन् कसै–कसैले । 

‘यो भूकम्प–गीत हो ।’ म जवाफ दिन्छु । धेरैले बुझ्दैनन् मेरो व्यथा । जब यो गीतलाई जोडेर म भूकम्प–कथा कथ्न थाल्छु । सबैले मेरो भावनालाई सम्मान गर्छन् । 

२०७२ सालको भुइँचालोयता मित्र सुदर्शनजीसँग भेट्ने अवसर जुरेन । पहिला–पहिला बागबजारतिर खुबै भेट हुन्थ्यो । उहाँकै कोठामा निर्देशक बद्री अधिकारीलाई एउटा टेलिसिरियलको पटकथा लेख्न केही दिनसम्म सघाएको पनि थिएँ । राम्रै दोस्ती थियो, सुदर्शनजीसँग । उहाँद्वारा सम्पादित पत्रिका ‘साथी’ मा पनि मेरा केही रचना प्रकाशित भएका थिए । जिन्दगीमा कति व्यस्त भइएछ ! थोरै व्यस्त, धेरै अस्तव्यस्त । नभेटेको थुप्रै वर्ष बितिसकेछ । अब भेट भयो भनेचाहिँ सुदर्शनजीसँग यति मात्रै जिज्ञासा राख्छु, ‘साँच्चै, त्यो फिल्ममा तपाईंलाई ती युवाहरूले लखेटेको दृश्य मात्र हेर्न पाएँ । तिनीहरूले कुटपिट गर्न खोज्दै थिए । कतै तपाईंलाई तिनीहरूले कुटपिट त गरेनन् ? तपाईं सकुशल भाग्न सफल हुनु भयो कि के भयो ? साँच्चै, ती युवाहरूलाई तपाईंले विदेश उडाउनुभयो कि भएन ?’ 

 

Author

विवश वस्ती