• १४ जेठ २०८१, सोमबार

चोबुजे चुलीको मुस्कुराहट

blog

रोल्वालिङको पदयात्रामा हतार गरिएको थिएन । बेदिङमा पुग्दा त्यसभन्दा पहिले देखिएको बाक्लो वन थिएन । त्यहाँ त स–साना बुट्यान मात्र पो देखा परे । भीमकाय चट्टान छिरलिएको देखिन्थ्यो । बेदिङनजिक माने, माने पर्खाल र लुङ्दार फहराएको दृश्यले मज्जैले लोभ्यायो । त्यसको केही समयपछि नै हिमालै हिमालको काखमा थपक्क बसेको शेर्पा जातिको सुन्दर गाउँ बेदिङ टुप्लुक्क देखा प-यो । बेदिङ पुगेर हामीले चार जनाका लागि खाना पकाउन भन्यौँ । काठमाडौँदेखि तेस्रो दिन दिउँसो बेदिङ पुगेका थियौँ ।

समुद्री सतहदेखि तीन हजार ७४० मिटरको उचाइ तथा गौरीशङ्कर गाउँपालिका–९ मा रहेको बेदिङ दोलखा जिल्लाकै अग्लो स्थानमा रहेको गाउँमध्येमा पर्दछ । गौरीशङ्करसहित अन्य थुप्रै हिमालको काखमा अवस्थित बेदिङ मेहनती शेर्पा जातिको बसोबास भएको हिमाली गाउँ हो । बेदिङको उत्तरमा बेदिङ गो (छ हजार १२५ मिटर), चीनको तिब्बततिर छिर्ने नाका मेलुङ ला (पाँच हजार ६१६ मिटर) रहेका छन् । गाउँभन्दा माथिको पखेरोबाट हेर्दा दक्षिणतर्फ देखिने दोर्जी फाङ्मो (पाँच हजार ६१८ मिटर), यालुङ री (पाँच हजार ६४७ मिटर) र यालुङ हिमनदी रहेका छन् । ती चुली उच्च पर्वतारोहण गर्नुपूर्व आरोहण अभ्यास गर्नका लागि प्रख्यात छन् । यस क्षेत्रमा आरोहणका लागि आकर्षक छ हजार मिटरभन्दा माथिका धेरै चुलीको नामकरण गर्न बाँकी छ । बेदिङ रोल्वालिङ उपत्यकाको शेर्पा जातिको बसोबास भएको सबैभन्दा ठुलो गाउँ हो । बेदिङकै बासिन्दाको बर्खे घरहरू च्छोरोल्पा तालनजिकको ना गाउँमा पनि रहेका छन् । 

सगरमाथा, पाकिस्तानमा रहेको केटुलगायत आठ हजार मिटरभन्दा अग्ला हिमाल आरोही जन्माउने प्रख्यात गाउँका रूपमा बेदिङ संसारभर परिचित छ । बेदिङ पुत्र मिङ्माछिरी शेर्पाले बिस पटक सगरमाथाको आरोहण गर्नुभएको छ । २०७८ सालसम्म बेदिङका छ जना महिलासहित ५९ जनाले सगरमाथा आरोहण गरिसकेका छन् । बेदिङबाट मेलुङ ला पार गरेर तिब्बत एक दिनमै पुग्न सकिन्छ । 

रोल्वालिङ उपत्यकादेखि सगरमाथानजिक भए पनि यो उपत्यका पर्यटन व्यवसायमा ओझेलमा परेको छ । सन् १९५१ मा बेलायती पर्वतारोही एरिक सिपटोनले खुम्बु क्षेत्रको बरफी लिस्नो (आइस फल)को अवस्थाको अध्ययन गर्नु भएको थियो । सन् १९५१ मा उहाँले एडमन्ड हिलारीसहितको च्छोयु आरोहणको नेतृत्व पनि गर्नु भएको थियो । वास्तवमा त्यतिखेरको आरोहण हिमालय पर्वत आरोहण गर्ने आरोहीलाई के–कस्तो चुनौती आउन सक्छन् भन्ने जाँच गर्न तयारी र अध्ययनका क्रममा भएको थियो ।

सन् १९५१ को नोभेम्बरमा च्छोयुबाट फर्कंदा हिलारी र शेर्पासहितको एक टोली थामेबाट तासीलाम्चा पार गरेर अति कष्टका साथ बेदिङ पुगेका थिए । कठिन भञ्ज्याङ पार गरी आएकोमा लामाले टोलीलाई पूजा गरी आशीर्वाद दिएका थिए । त्यहाँ दुई दिन बसेर काठमाडौँ फर्केको कुरा हिलारीले आफ्नो पुस्तक ‘आवर एस्सेन्ट अफ दी एभरेस्ट’ मा उल्लेख गर्नु भएको छ । पश्चिमा विदेशी पहिलो पटक खुम्बुबाट रोल्वालिङ झरे पनि त्योभन्दा हजारौँ वर्ष पहिलेदेखि शेर्पा जाति हिमालय शृङ्खला नै पार गरेर खुम्बु, रोल्वालिङ र तिब्बत ओहोरदोहोर गर्दथे । त्यसको अनुसन्धानको पाटो बाँकी छ । सन् १९५३ मा सगरमाथा आरोहणपछि खुम्बु क्षेत्र संसारभर प्रख्यात भयो भने रोल्वालिङ आफ्नो सौन्दर्य र संस्कृतिलाई संरक्षण गर्दै बसिरह्यो । आजकल भने नजिकको यो सुन्दर उपत्यकामा स्वदेशका युवाको चाख बढेको छ । बढ्नु पर्छ ।

खाना पाक्दै गर्दा हामीले भूकम्पबाट भत्केको पुनर्निर्माणाधीन रोल्वालिङ साङ छ्योलिङ गुम्बाको अवलोकन ग¥यौँ । पुरानो शैलीमा काठको झ्याल, ढुङ्गा र माटोको जोडाइको ठाउँमा सिमेन्टले जोडेर निर्माण गरिँदै थियो । अहिले निर्माण पूरा भइसकेको छ । स्थानीयवासीको विश्वास अनुसार बेदिङ गुम्बा एक हजार वर्षपहिले स्थापना भएको हो । समयको अन्तरालमा मर्मत भई नै रह्यो । भूकम्पमा भत्केको भवन तीन सय वर्ष पुरानो थियो । पुनर्निर्माणपछि पहिले झैँ पद्मसम्भव र शाक्यमुनि बुद्धका मूर्तिका साथै छुट्टै कोठामा ठुलो प्रार्थना चक्र, पुस्तक, हजार बुद्ध, मण्डला तथा संरक्षणकर्ता देवीदेवताका भित्तेचित्र पहिलेकै अवस्थामा राख्ने योजनाको जानकारी त्यहाँका लामा टुल्कु नवाङ रिम्पोचेले दिनु भयो । त्यहाँका पुराना १०८ थान वेद आकारका पुस्तक बेदिङमा नै लोक्ताको कागजबाट बनाइएका हुन् । छपाइ भने तिब्बतको ल्हासामा गरिएको थियो । 

गुम्बाबाट फर्केर खाना खान बस्यौँ । दाल, आलुको तरकारी र अचारसहितको पुरानो बासमती चामलको भात भोकको झोकमा मज्जैले दबायौँ । खाना पाक्दा र खाँदा झन्डै दुई घण्टा बिते छ । हामी ना गाउँ पुग्नु थियो । हिमाल न्यौपानेजीको गति मन्द भएकाले हामी डराएका थियौँ । 

“भाइ ! के गरौँ ? नासम्म पुग्न नसक्ने जस्तो भए यतै बसौँ । बिचमा बस्ने ठाउँ छैन । भोलि बिहानै लागौँला,” मैले प्रस्ताव राखेँ । “यहाँ नबसौँ, जाऊँ । म बिस्तारै हजुरहरूलाई भेट्टाउँछु,” न्यौपानेको भनाइ रह्यो । त्यसपछि हामी अगाडि बढ्यौँ । अपराह्नतिर सेतो बाक्लो बादल आकाशबाट हिमालका सेता चुचुरा भएतिर लहसिँदै थियो । बाँकी आकाश सफा र निलो थियो । बेदिङ नाघेपछि रोल्वालिङ उपत्यका पहिलेभन्दा फराकिलो हुँदै गयो । लाखौँ वर्षपहिले हिमनदी बगेर अहिले आइपुग्दा ठुला ढुङ्गा, गिट्टी, बालुवा मात्र भएको सुक्खा मरिन क्षेत्र देखिन थाल्यो । हिमाली क्षेत्रमा मरिन उपत्यका धेरै ठुला, लामा र भित्रभित्रसम्म घुसेका देखिन्छन् । लाङटाङ क्षेत्रको लाङसिसा खर्क त्यस्तै विशाल उपत्यका हो । 

खोला किनारको तटीय क्षेत्रमा सल्लोका बोट पातलो मात्र होइन, फुच्चे देखिए । काँडे झाडी र अन्य बोटलाई चिसो लागेको देख्न सकिन्थ्यो । बादल फेरि बाक्लो हुस्सुमा परिणत भएर हामीलाई झस्काउन च्छोरोल्पा हिमतालबाट झरेको रोल्वालिङ नदीको किनारसम्मै झ¥यो । मौसममा परिवर्तन देखिएपछि हिउँ पर्छ कि भन्ने शङ्काले मेरो मन झस्क्यो । मौसमको खराबीले चिसोदेखि तर्सिनेभन्दा पनि हिमालको काखमा पुगेर हिमाललाई अँगालोमा बाँध्न पाइँदैन कि भनेर म बढी पिरोलिइहाल्छु । कहिलेकाहीँ त राति उठेर तारा लागे, नलागेको जाँच्न आकाशतिर हेर्छु । झलमल्ल तारा देखेँ भने बिहान पक्कै सफा हुन्छ भन्ने विश्वासमा मज्जैले निदाउँछु ।  

हुस्सु लागेको निरसिलो वातावरणमै पखेरामा नजिक नजिक भएर झरेका तीन वटा झरनाले मानव प्राणीलाई खुसी बनाउन प्रयत्न गरे । बर्खामा फुलेर बाँकी रहेका एकाध पहेँला फूल भित्तामा टाँसिएका देखिन्थे भने कति फूल सुकेर फक्रँदा सेतो आकारका अर्कै पूmल जस्तै देखिएका थिए । काँडे बुट्यानका झाडीहरू बैजनी, रातो, गाढा रातो, पहेँलो रङमा देखिन्थे । हिउँबाट पुरिनुपूर्व ती आश्चर्य पार्ने गरी सुन्दर देखिन्छन् । सुकेका झार पनि नौलो रूपमा त्यस उपत्यकामा सौन्दर्य पस्केर यात्रुलाई कुरेका हुन्छन् । काँडे झाडी पनि राम्रो देखिन्छ र ! हो, हिउँदपूर्व रातो बनेको त्यो काँडे बुट्यान, त्यो सुक्खा जर्जर पखेरोमा चैतमा वनमा लालीगुराँस फुलेजस्तै चहकिलो र आकर्षक देखिन्छ । त्यहाँ त्यस्तै देखिएको थियो । त्यो देख्ने आँखामा पनि भर पर्छ । त्यो काँडा पनि हुन्छ भने काँडाको फूल पनि भइदिन सक्छ । धुपी सल्लो भने ‘देश अनुसारको भेष’ भने झैँ उचाइका कारण अग्लो रुखबाट झाँडीमुनि हरियै रङमा लहरा झैँ भुइँमा फिजारिएको थियो । 

त्यसभन्दा माथि कालो चट्टान अनि त्यसपछि भने लाङदुङ हिमालका चुलीहरू विराजमान थिए । ती चुलीले संरक्षण गरिराखेका थिए गुरु रिम्पोचेले ध्यान गरेको गुफा । चट्टानमा गुरु रिम्पोचे र बुद्धको रङ्गीन चित्र रहेका छन् । त्यस वरपर लुङ्दारले झकिझकाउ पारिएका छन् । त्यहाँ अहिले पनि लामाले ध्यान गर्ने गर्छन् । त्यो गुफा बाटोदेखि पन्ध्र मिनेट जति माथि भित्तामा रहेको छ । स्थानीयवासीको विश्वास के छ भने यसै स्थानमा गुरु रिम्पोचे (पद्मसम्भव) ले वायुपङ्खी घोडा र बाघ राख्ने गर्थे रे ! वास्तवमा उनी भारतमा जन्मेका बज्रयान बौद्ध परम्पराका संस्थापक हुन्, जसले बोन दर्शनमा आधारित प्रकृति पूजा, तन्त्रलाई बौद्ध दर्शन र धर्ममा समावेश गरे । हिमाली उपमहादेशको समग्र हिमाली क्षेत्र र तिब्बतमा उनलाई सम्मानका साथ पूजा गरिन्छ । 

त्यसपछि भने काला छपनीका थुप्रो देखिए । ती छपनीलाई मानेढुङ्गा पनि भनिन्छ, जहाँ बौद्ध मन्त्र कुँदिएका हुन्छन् । बर्खाको पानी, हिउँदको हिउँ, अपराह्नको कठोर हावा र चर्को घामका कारण मन्त्र मेटिएका पनि थिए । लेउले कटमरिएका थिए । त्यसपछि लामो माने पर्खाल देखियो । त्यसलाई सांस्कृतिक प्रचलन अनुसार दाहिने पारेर अघि बढ्यौँ । गोधूलि साँझमा हिमालका दर्जनौँ चुलीको सुनौलो रूपलाई हेर्ने उत्कट रहरलाई कुहिरोले ढपक्कै ढाकिदियो । कुहिरो र सन्ध्याकालीन समयमा ‘ना गाउँ’ लेखिएको माने पर्खालले न्यानो स्वागत ग¥यो । बास बस्ने ठाउँ आइपुगियो भनेर हाम्रा थकित नसाहरू प्रफुल्लित भए । हामी चार हजार १८० मिटरको उचाइमा रहेको ना गाउँ पुग्यौँ । बाटो छेउको होटल खुलै थियो । होटलभित्र छिर्दा सुचे मत्थै गरेकी आमालाई देख्यौँ । मिठो मुस्कानले आमाले हाम्रो स्वागत गर्नुभयो । त्यो रात हामी त्यहीँ बस्यौँ । 

ना गाउँ बेदिङकै गाउँलेहरूको घर भएको रोल्वालिङ क्षेत्रको उच्च स्थानमा रहेको बर्खे गाउँ हो । ना पशु चरन खर्कको राजधानी हो । त्यहाँदेखि माथिल्लो खर्क र वरपर रहेका घाँसे उपत्यकामा बर्खामा पशु चराउन गोठ सार्दै लैजाने गरिन्छ । पहिले हाम्रा चौँरी र याक छिमेकी देश चीनको तिब्बत अनि उताका हाम्रो उपत्यकामा चर्न आवतजावत हुन्थ्यो । नेपालका चौँरी हिमालपारि राम्रै मूल्यमा बिक्री पनि हुन्थे तर कोभिडको महामारीपछि सबैतिर असहज भएको छ । नजिकै भए पनि काठमाडौँले त्यो मर्म बुझ्दैन । बुझ्न पनि खोज्दैन । 

दुध कुण्डका तीर्थयात्री, च्छोरोल्पा ताल हेर्न आउने पर्यटक, तासी लाप्चा नाघेर थामे हुँदै सगरमाथातिर जाने पर्यटक, गौरीशङ्कर प्रकृति संरक्षण केन्द्रसँग आबद्ध विज्ञ, ट्रेकिङ पिक चढ्ने आरोही सबै यात्रीको आधार शिविर हो ना गाउँ । गाउँ चारैतिरबाट हिमालका चुचुरा, रोल्वालिङ हिमनदी, रोल्वालिङ खोलाले घेरिएको छ । यहाँदेखि बिस्तारै हिँडेर दुई घण्टामा दुधपोखरी र रोल्वालिङ हिमनदी पुगिन्छ । त्यसै गरी यहाँदेखि च्छोरोल्पा ताल पुग्न पनि दुई घण्टा नै लाग्छ । नादेखि दक्षिणमा रहेको यालुङ री आधार शिविर र छुकिमा अवलोकन गरेर फर्कन एक दिन छुट्याउनु पर्छ । तिब्बती सीमा मेलुङ ला नजिक पुगेर आउन पनि एक दिन छुट्याउनै पर्छ । यो गाउँ मङ्सिरको दोस्रो सातादेखि चैतको दोस्रो सातासम्म बरफ जम्ने अत्यधिक चिसोको कारण बन्द हुन्छ । त्यस क्षेत्रमा यात्रा गर्दा बेदिङबाट सूचना लिएर मात्र अघि बढ्नु पर्छ । अन्यथा आफ्नै पाल, ग्यास, खानेकुरासहितको बन्दोबस्तीका साथ जानु पर्छ । 

हामीले एक चरण सुचे पिएर सकेका मात्र के थियौँ खोच्याउँदै, थकित मुद्रामा मित्र हिमाल न्यौपाने आइपुग्नुभयो । हामीले गाइडलाई उहाँसँगै आउन र उहाँको झोला बोक्न अह्राएका थियौँ । मित्र आएपछि सबैले ताली बजाएर स्वागत ग¥यौँ । हलुका टाउको दुखेको भए तापनि हाइअल्टिच्युड सिकनेसको सङ्केत उहाँमा थिएन तर थकित हुनुहुन्थ्यो । अनुहार सोहोरिएर बलौटे फुस्रो पखेरो जस्तो भएको थियो । 

“आज निकै कठिन भो हगि ?,” मैले सोधेँ ।

“मेरो हिँड्ने बानी छुटेर हो, नत्र मलाई कठिन हुने थिएन,” चिया र सुप पिएपछि निस्केको आवाज थियो उहाँको । हामी सबैले सुप पियौँ । थकाइ मेटिएपछि भोलिपल्ट के कसो गर्ने ? दुधपोखरी र च्छोरोल्पा दुवै ठाउँमा जान सकिन्छ कि सकिँदैन ? मित्रको अवस्था के हुन्छ ? अनामिका त झन् सबैभन्दा टाठी देखिइन् । मिठारामको कुरै भएन । म पनि जसोतसो लम्केकै थिएँ । त्यो हाम्रो मूल्याङ्कन थियो । 

न्यौपानेको अवस्थालाई ख्याल गर्दै उहाँलाई आराम गर्ने मौका दिइयो । भोलिपल्ट दुधपोखरी र रोल्वालिङ हिमनदीको अवलोकन गर्ने निर्णय ग¥यौँ । पर्सिपल्ट बिहान च्छोरोल्पा ताल हेरेपछि ना गाउँमा खाना खाने र फर्केर बेदिङमा बास बस्ने थप योजना बनायौँ ।  “साथीहरू पेटको थैलो तनक्क तन्कने गरी भात थपौँ है, परेको म बेहोर्छु,” मैले रमाइलो गर्दै भनेँ । सबै हासेँ । थपीथपी दालभात खायौँ । तरकारी भने जति थपे पनि डाडु मात्र थालमा ट्वाङ्ग आवाज गर्दै बज्रन्थ्यो । हिमालको अवस्थालाई बुझ्न पनि त प¥यो नि ! होइन र ? ख्याल गरौँ, हिमालमा जाँदा भात थपेर खान सक्नु भनेको स्वस्थ भएको प्रमाणपत्र पाउनु हो । त्यो चिकित्सकले दिएको भन्दा जब्बर आधिकारिक हुन्छ । अर्थात् मानौँ कि साक्षात गौरीशङ्करले दिनुभएको हो । 

८ बजे राति आकाशमा एक फुर्को बादल थिएन । जून टहटह लागेको थियो । जूनको उज्यालोमा चोबुजे चुली मुसुक्क मुस्काएको प्रस्टै देखियो । भोलिपल्ट पक्कै पनि मौसम सफा हुन्छ भन्ने विश्वासमा चोबुजेलाई सिराननजिक थपक्क बस्न बिन्ती गरेँ । त्यस बेला च्छोरोल्पा नदीको मन्द सुसाहट ढोकैमा उभिएर मलाई नै चियाइरहेको थियो ।  

Author

विष्णुप्रसाद शर्मा पराजुली