• १० मंसिर २०८१, सोमबार

काललाई जितेकाहरू

blog

कोही मरेर बाँच्छन्, कोही बाँचेर मरिरहेका हुन्छन् तर औँलामा गन्न सकिने व्यक्तिहरू भने मृत्युको मुखमा पुगेर पनि फर्किएका हुन्छन् । काललाई टार्न नसके पनि केही समय सार्न भने सकिन्छ । विज्ञान तथा प्रविधिको विकासले यो सम्भव भएको हो । समग्रमा मान्छेको औसत उमेर पनि बढेको देखिन्छ । त्यसो त उपचार पाउन नसकेर पनि धेरैको मृत्यु हुन्छ । अहिले त स्वेच्छाले आफ्नो जीवन समाप्त गर्नेहरूको सङ्ख्या पनि बढ्दो छ ।

हाम्रो जीवनको एक मात्र अकाट्य सत्यलाई हामीले भने सहज रूपमा लिन सकिरहेका छैनाैँ । संसारमा मृत्युबारे विश्वास गर्न नसकिने धेरै घटना भएका छन् । एक तथ्याङ्क अनुसार सन् १९७० देखि २०२२ सम्म ११ हजार १६४ हवाई दुर्घटनामा ८३ हजार ७७२ जनको मृत्यु भएको छ । विश्वव्यापी रूपमा मृत्युको आठौँ प्रमुख कारण सडक ट्राफिक दुर्घटनामा परी वार्षिक १३ लाखभन्दा बढीले ज्यान गुमाउँछन् । 

सन् २०२३, मे १ मा कोलोम्बियाको एक घना जङ्गलमा सात जना सवार सानो जहाज दुर्घटना भयो । १६ दिनपछि मात्र उक्त क्षतिग्रस्त जहाज फेला प¥यो । तीन जनाको सनाखत भयो तर चार जना बालकबारे केही जानकारी प्राप्त भएन । उनीहरू १३, सात, चार वर्ष र एघार महिनाका थिए । घटनामा पाइलटसहित दुई जनाको मृत्यु भएको थियो । दुर्घटनाको चार दिनपछि आमाको मृत्यु भयो । आमाले बच्चाहरूलाई सुरक्षित स्थानमा जान भनेकी थिइन् । 

४० दिनसम्मको व्यापक खोजतलासपछि जुन ११ का दिन चार जना बालबालिका फेला परेका थिए तर उनीहरूलाई पत्ता लगाउन सहयोग गर्ने बेल्जियन शेफर्ड कुकुर विल्सन भने हराएको छ, अहिले उसको खोजी जारी छ । ती भाग्यले बाँचेका बालबालिकालाई राष्ट्रपति पेट्रोले अस्पतालमा भेटेर उनीहरूको जीवनको कथा विश्व इतिहासमा दर्ज हुने र उनीहरू कोलोम्बियाको सन्तान हुने बताए ।

अमेजननजिकका आदिवासी मेयर रानोकलाई स्थानीय विद्रोहीबाट ज्यान मार्ने धम्की आएपछि रानोक गाउँ छाडेर गएका थिए । गाउँ छाडेर जाने क्रममा परिवारसहित उनी चढेको जहाज दुर्घटना भएको थियो । १३ वर्षीय दिदी लेस्लीले जङ्गलमा ४० दिनसम्म तीन जना भाइबहिनी (एक जना एघार महिनाको) लाई बचाउन सक्नु संसारका लागि आश्चर्यजनक परिदृश्य बन्यो ।

सन् १९७२ अक्टोबर १३ मा उरुग्वेको रग्बी टिम र केही परिवारका सदस्यसहित सानटियगो जान उडेको जहाज अर्जेन्टिना र चिलीको सीमानजिकैको दुर्गम एन्डिज पर्वतमा दुर्घटनाग्रस्त भयो । जहाजमा रहेका ४५ यात्रुमध्ये १२ जनाको दुर्घटनामै मृत्यु भएको थियो भने अन्य नौ जनाको चोटपटक र खानपिनको कमीका कारण दुर्घटना भएको दिनदेखि डिसेम्बर ११ सम्म मृत्यु भयो । 

२९ अक्टोबरमा हिमपहिरो आएर थप आठ जनाको ज्यान गयो । बाँचेकाहरूले अत्यधिक चिसो (तीन हजार ५०० मिटरको उचाइ) र खाद्य समस्याको सामना गर्नु प¥यो । जहाजको भग्नावशेषलाई उनीहरूले आश्रयका रूपमा प्रयोग गरेका थिए । भएको खाना सकिएपछि केही दिन भोकभोकै बाँचेकाहरूले जीवन त्याग्ने कि लासहरू खाने भन्नेबारेमा लामो छलफल गरे । अन्ततः सास धान्नका लागि लास खान उनीहरू बाध्य भए । एक जनाले कुनै प्रसङ्गमा सबै दुःखको कारक ठानेर आफूलाई पाइलटको मासु खान मन लागेको भनेकाले पनि यो विषयको उठान भएको हुन सक्छ । 

यो दुर्घटनापछि सरकारले बेपत्ता विमानको खोजी ग¥यो तर हिमालमा जहाज पनि सेतो रङको भएको कारण पत्ता लगाउन सकिएन । प्रतिकूल मौसम र कठोर वातावरणले त्यहाँ कोही पनि बाँचेका छैनन् भन्ने अनुमान गर्न सबै बाध्य भए । त्यसैले आठ दिनपछि सरकारले खोजी गर्ने कार्य रोक्यो तर एक जनाको परिवारले भने व्यक्तिगत रूपमा उद्धारको प्रयास जारी राखे पनि सफलता मिलेको थिएन । बाँचेकाहरूले अब आफ्नो उद्धार हुने आशा मारिसकेका थिए । त्यसैले केहीले त्यहाँबाट निस्कनका लागि उपाय खोजे । 

अन्ततः डिसेम्बर १२ मा तीन जनाले साथीहरू छाडेर जाने अठोट गरे । नान्डो पाराडो, रोबर्टो क्यानेसा र एन्टोनियो विजिनटिन एन्डेज पर्वत शृङ्खला पार गरेर मानव बस्ती भएको ठाउँ भेटिने आशामा उनीहरू अगाडि बढे । तीन दिनपछि एन्टोनियो विजिनटिन हिँड्न नसकेर फर्किए । कठिन पदयात्रापछि डिसेम्बर २० मा चिलीको लस मैटेनेस गाउँमा केही कृषक देखिएपछि जिउने आस बढ्यो । पहिलो दिन देखादेख मात्र भयो, सम्पर्क हुन सकेन । भोलिपल्ट उनीहरू आएर उद्धार गरे । सरकारी निकायमा सम्पर्क भएपछि २२ गते दुई वटा हेलिकोप्टर भग्नावशेष भएको स्थानमा पठाइयो । बाँचेका छ जनालाई सुरक्षित स्थानमा लगियो तर खराब मौसमले अन्य आठलाई लैजान अर्को दिन कुर्न प¥यो । 

दिन नपुगेसम्म काल नआउने यो घटनाले पनि प्रमाणित गरिदिएको छ । यस घटनाको प्रमुख पात्र नान्डो पाराडोको कथा झन् विचित्रको छ । चार दिनका लागि मात्र खेलाडीहरू जान लागेको उक्त जहाजमा केही सिट खाली भएकाले रग्बी खेलका पारखी आमा र बहिनीलाई नान्डोले अन्तिम समयमा जानका लागि भनेका थिए । आमाले पहिलो चरणमा नै ज्यान गुमाएकी थिइन् । बहिनी गम्भीर घाइते भए पनि होसमा थिइन् तर नान्डो आफँै चार दिनसम्म कोमामा थिए । बहिनी अझै जीवित भएको तर अवस्था चिन्ताजनक भएको थाहा पाएपछि उनको अवस्था सामान्य जस्तो भयो र बहिनीको हेरचाहमा लागे तर सफल भएनन् । नान्डोको काखमा नै बहिनी सुजीले देह त्यागिन् ।  यस दुर्घटनाका १३ वटा लास अन्तिम समयसम्म सग्ला नै थिए । जहाज उड्दा नान्डो छेउमा बसेका थिए । उनको मिल्ने साथीले ‘सिट फेरौँ तिमीले पनि झ्यालबाट प्राकृतिक सोन्दर्य हेर’ भनेकाले त्यसै गरेका थिए । केही समयपछि जहाज दुर्घटना भयो । उनी बाँचे तर साथीको तत्काल मृत्यु भयो । यो घटनामा आधारित चलचित्र ‘अलाइभ’ सन् १९९३ मा निर्माण भएको थियो । केही बाँचेकाहरूले पुस्तकमार्फत पनि अनुभवहरू सार्वजनिक गरेका छन् ।

अर्को प्रसङ्ग, जुलियन कोएपके १७ वर्षको उमेरमा आमासँग पेरुको लिमाबाट पुकाल्पा हवाईजहाजमा जाँदै थिए । ९२ जना सवार उक्त जाहज ठुलो चट्याङ परेर ध्वस्त भयो तर जुलियन भने जहाजको सिटसहित १० हजार फिट तल बजारिन पुगिन् । घाइते शरीरलाई झाडीले कोतरेको र किराले टोकेका कारण उनी झन् अशक्त भइन् । केही दिनपछि अमेजन जङ्गलको बिचमा खोला देखेपछि उनी पौडिँदै अगाडि बढिन् । ११ दिनपछि माझी गाउँमा पुगिन् । उनलाई त्यहाँ राम्रो हेरचाह र उपचार भयो । यो घटना सन् १९७१ डिसेम्बर २४ को थियो । १२ जनवरी सन् १९७२ मा उनको सहयोगमा सरकारी उद्धार टोली घटनास्थल पुग्यो । आमाको शव पहिचान भयो । कोही बाँचेको सङ्केत देखिएन ।

वास्तवमा यो भ्रमण उनको आमाले डिसेम्बर १९÷२० तिर गर्ने योजना बनाएकी थिइन् तर जुलियनको विद्यालयमा २३ तारिखमा कार्यक्रम भएकाले २४ को टिकट लिइएको थियो । जहाज कम्पनी राम्रो नभएकाले प्रयोग नगर्न उनको बुवाले सुझाव पनि दिनुभएको थियो तर घटना हुनु थियो, भएरै छाड्यो । गज्जबको संयोग के भयो भने जुलियनसम्बन्धी वृत्तचित्र ‘विङ्ग्स अफ होप’ का निर्देशक जर्मन चलचित्र निर्माता वर्नर हर्जोग पनि त्यही क्षतिग्रस्त विमानमा सवार गर्ने प्रयास गरिरहेका थिए तर टिकट नपाएका कारण रोकिएका थिए । 

यस्तै सन् २००९ मा कोमोरोसकी १४ वर्षीय (कतै १२ वर्षीय) बालिका बाहिया बकरी कोमोरोस टापुनजिकै हिन्द महासागरमा भएको विमान दुर्घटनामा बाँचेकी थिइन् । यमेनिया एयरवेजको उडान अवतरणको व्रmममा दुर्घटनाग्रस्त भएको थियो । १५२ यात्रु र चालक दलका सदस्यहरूमध्ये उनी मात्र बाँचेकी थिइन् । पानीमा डुबेको क्षतिग्रस्त विमानबाट १२ घण्टापछि उनलाई निकालिएको थियो । यी बालिकाको ज्यान जोगिनु पनि एउटा आश्चर्यजनक घटना नै हो । 

भेनिसा भुलोभिकको नाम गिनिज वल्र्ड बुकमा प्यारासुटबिना नै सबैभन्दा बढी उचाइबाट हामफाल्ने व्यक्तिको नाममा रहेको छ । उनी युगोस्लाभ (अहिले सर्बिया) एयरलाइन्स डिसी ९ मा परिचारिका थिइन् । उक्त जहाजमा बम विस्फोट भएपछि भुलोभिकबाहेक विमानमा रहेका सबै यात्रुको मृत्यु भयो । उनी भने ३३ हजार फिटमाथिबाट खस्दा पनि बाँचेकी थिइन् । यो घटना पनि सन् १९७२ को नै थियो । 

त्यस्तै अर्को एक अमेरिकी लेखक तथा पूर्व सर्फिङ खेलाडी नर्मन ओलेस्टाड पनि ११ वर्षको उमेरमा हवाई दुर्घटना परी ज्यान नगुमाउनेमध्ये एक हुन् । उनको बुवा, बुवाको गर्लफ्रेड सवार सानो जहाज खराब मौसमका साथै पाइलटको त्रुटिका कारण अमेरिकाको क्यालिफोर्नियाको सान गेब्रियल पर्वतमा ठोक्किएको थियो । सन् १९७९ फेबु्रअरी १९ मा भएको उक्त घटनामा सौभाग्यवश अर्को दिनमा नै पैदलयात्रीहरूको एउटा समूहसँग सम्पर्क भएको कारण छिटो उद्धार गरी औषधी उपचार भएको थियो । उनले ‘क्रेजी फर द स्टर्म : ए मेमोयर अफ सर्वाइभल’ शीर्षकको संस्मरणमा आफ्नो ज्यान जोगिनुका अनुभवहरू सार्वजनिक गरेका छन्, जुन निकै प्रसिद्ध पनि भयो । 

आफूले चाहेर वा नचाहेर मात्र जीवनको अन्त्य हुँदैन । सबै जना एक न एक दिन मर्नु नै पर्छ तर त्यसका समय आउन पर्छ, कालले फाल हाल्नु पर्छ । कल्पना गरौँ त कहिल्यै मर्न नपर्ने जीवन पाएको भए यो संसारको रूप कस्तो हुने थियो होला ? त्यसैले जीवन र मरण एक आपसमा विपरीत नभई एउटा चक्र मात्र हो । कतिले स्वर्ग, नर्क अनि पूर्वजन्म, पुनर्जन्ममा विश्वास गर्लान् तर स्टिव जब्सले भने जस्तो प्रत्येक दिन एक नयाँ र अन्तिम दिन जस्तै गरी बाँच्न सकियो भने मात्र एक दिन आफू सही ठहरिन सकिन्छ । 

अन्त्यमा एउटा घटना यहाँ जोड्न मन लाग्यो । धर्मकर्ममा विश्वास राख्ने, उच्च खान्दानको एक घरमूलीले जहाज दुर्घटनामा ज्यान गुमाएका रहेछन् । एक मात्र छोरा पनि सरकारी उपल्लो ओहदामा कार्यरत थिए । कार्यालयको कामविशेषले देशविदेश भ्रमणमा जानुपर्ने थियो । बुवाको आकस्मिक देहावसानपछि उनलाई जहाज चढ्ने साहस आएन र उनले जीवनभर जहाज यात्रा नगर्ने निर्णय गरे । करिब दस वर्षपछि उनको आमाको पनि अप्रत्यासित रूपमा मृत्यु भयो । 

परम्परा अनुसार शोक मनाउने क्रममा धेरै साथीभाइ, इष्टमित्रहरू आउने नै भए । खासै बिरामी पनि नभएको, उमेर केवल सत्तरीको हाराहारीमा टेकेकी आमाको मृत्युको कारणबारे जानकारी माग्नु मनासिब नै थियो । राति प्यास लागेकाले टेबलमा भएको पानी लिन खाटबाट ओर्लिन खोज्दा लडेर टेबलमा टाउको ठोक्किएका कारण अस्पताल लान प¥यो । त्यसको दुई दिनपछि आमाको प्राण गएको रहेछ । दस वर्षदेखि हवाई यात्रा नगरेका छोरा अझै आकाशमा जहाज उडेको देख्दा डराउन छाडेका छैनन् तर मृत्युको उडान घरभित्रको सानो टेबलमा पनि भइरहेको थियो ।

जीवनको लक्ष्य नै मृत्यु हो भन्नेहरू पनि यहाँ छन् तर जीवनका लागि जीवन हुनु पर्छ । हामी बेहोसीमा मृत्युवरण गर्नुभन्दा पहिले होसमा बाँच्न सिकौँ र त्यसैलाई तन्काएर बिनाकुनै पश्चाताप अन्तिम श्वासको धर्सोसम्म लिएर जाऔँ । त्यहाँ घाट होला वा खाडल, घटनाले बिदा होला वा दुर्घटनाले तर बोधको टालोलाई हृदयमा बाँधी राखौँ । 

 

Author

सुरेन्द्र नेपाल श्रेष्ठ