• १२ वैशाख २०८१, बुधबार

विपत् व्यवस्थापनको तयारी

blog

कास्की समाचारदाता 

कास्की, असार २२ गते । बर्खामा आउन सक्ने विपत्को व्यवस्थापनका लागि सरोकारवालालाई तयारी अवस्थामा राखिएको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले बताउनुभयो। उहाँले केही दिनअघि मात्रै विपत्सँग सम्बन्धित सरोकारवालासँग बसेर छलफल गरेको बताउनुभयो। उहाँले भन्नुभयो, “सकभर विपत् नआओस्, आइहाले पनि कम क्षति होस्।” 

उहाँले विपत्को अवस्थामा उद्धार र राहतका लागि जिल्लामा सुरक्षाकर्मी वा अन्य निकायमा भएका सामग्रीलाई तयारी अवस्थामा राखिएको जानकारी दिनुभयो। उद्धारमा प्रयोग हुन सक्ने केही सामग्री कमी भएको सूचना आएपछि त्यसको व्यवस्थापनका लागि प्रदेश सरकारमा जानकारी गराइने ढकालले बताउनुभयो। 

विपत् व्यवस्थापनका लागि स्थानीय तहले कसरी काम गर्ने भन्ने विषयमा छलफल चलिरहेको उहाँले बताउनुभयो। “सङ्घ, प्रदेश र स्थानीय तहका अधिकार तथा जिम्मेवारी अनुसार पनि स्थानीय तह विपत् व्यवस्थापनमा पहिलो जिम्मेवार निकाय हुन्।” उहाँले भन्नुभयो, “स्थानीय तहमा पनि पालिकास्तरीय विपत् व्यवस्थापन समिति र विपत् व्यवस्थापन कोष रहेका छन्। ती कोषबाट नै राहत वितरणका काम गर्न सकिन्छ।” प्रदेश सकारकाले पनि १० लाख नघटाई विपत् व्यवस्थापन कोषको व्यवस्था गरेको उहाँले जानकारी दिनुभयो। 

विपत् व्यवस्थापन कोषमा सङ्घ र प्रदेश सरकारले आवश्यकता अनुसार रकम राखिदिने भएकाले उद्धार पछिको राहतमा पनि समस्या नरहने जनाइएको छ। जिल्लामा रहेका कोषमा बजेट कम हुँदा प्रदेश वा सङ्घ सरकारबाट थपिहाल्ने भएकाले आफूहरू राहतका लागि पनि तयारी अवस्थामा रहेको उहाँले बताउनुभयो। स्थानीय तहमा रहेका कोषमा पनि पैसा कम भएको अवस्था रहेमा प्रशासनबाट तत्कालै माथिल्ला सरकारलाई पैसा राखिदिनका लागि अनुरोध गर्ने उहाँको भनाइ छ।