• १३ मंसिर २०८१, बिहिबार

खानीगाउँमा घरैपिच्छे बाख्रापालन

blog

गलेश्वर, असार २२ गते । दुई दशक खाडी मुलुकमा काम गरेर फर्किएपछि म्याग्दीको मङ्गला गाउँपालिका–१ खानीगाउँका यामबहादुर बुढाथोकीले व्यावसायिकरुपमा बाख्रापालन थाल्नुभयो । उहाँले युनाइटेड अरब इमिरेटस् (युएई), कुवेत र मलेसियामा काम गर्नुभयो । बुढाथोकी पाँच वर्षदेखि बाख्रापालनमा रमाउनुभएको छ । सुरुआतमा १७ स्थानीय र चार अस्ट्रेलियन उन्नत जातको बोयर बाख्राबाट व्यवसाय सुरु गर्नुभएका उहाँले अहिले एक सय २० बाख्रा पाल्नुभएको छ । 

बुढाथोकीले मात्रै होइन २६ परिवारको बसोबास रहेको खानीगाउँका सबै व्यावसायिकरुपमा बाख्रापालनमा होमिनुभएको छ । गाउँको नाम नै खानीगाउँबाट ‘बाख्रा गाउँ’मा परिवर्तन भएको छ । हरेकका घरमा बाख्राको व्यवस्थित खोर बनाइएको छ । तीन वर्षयता बुढाथोकीले बाख्रा र बोका बिक्री गरेर वार्षिक रु १० लाख आम्दानी गरेको बताउनुभयो ।

“विदेशबाट फर्किएपछि  रु. ६ लाखको लगानीमा बुढाथोकी कृषि तथा पशुपन्छी फार्म खोले”, उहाँले भन्नुभयो । बाख्रापालन मात्रै होइन बुढाथोकीले अहिले व्यावसायिक तरकारी खेती गर्दैआउनुभएको छ । उहाँले सुन्तलाका तीन सय बिरुवा लगाउनुभएको छ । “वार्षिक रु. १५ लाख आम्दानी गर्ने लक्ष्य छ”, उहाँले भन्नुभयो ।

विदेशमा सिकेको सीपको सदुपयोग गर्दै बाख्रापालन व्यवसाय र कृषि उद्यम थालेको ४८ वर्षीय बुढाथोकीले बताउनुभयो । “मेरै बाटो पछ्याएर गाउँका अरुले  बाख्रापालन थालेका हुन्, तरकारी खेती र बाख्रापालनले गाउँको परिचय नै फेरिएको छ”, उहाँले भन्नुभयो ।  सिकेको सीप समुदायमा हस्तान्तरण गर्दा गाउँमा  परिवर्तन आएको उहाँको अनुभव छ । 

बुढाथोकीको सिको गरी गुप्तेश्वर कृषक समूह नै गठन गरेर समुदाय नै बाख्रापालनमा लागेको छ । “चरनको समस्या छैन”, बाख्रापालक कृषक राजन राम्जालीले भन्नुभयो । विदेशबाट फर्किएका युवाको सक्रियतामा अनुदानसहितका कार्यक्रममा समेत सिङ्गो गाउँमा वितरण गर्ने, समूह बनाएर सीप हस्तान्तरणसहितका रचनात्मक कार्यबाट खानीगाउँमा बाख्रापालन, तरकारी खेती तथा मौरीपालन गरिँदै आएको छ । 

विगतमा सामान्य खर्चको जोहो गर्न स्थानीय जातका बाख्रा पालेकाले अहिले उन्नत जातका बाख्रापालनमा जुटेका बाख्रापालक कृषकको दैनिकी दिउँसो जङ्गलमा बाख्रा चराउने, ल्याउने, खोरमा राख्ने गरेरै बित्छ । “मिलेर बाख्रापालन गरेका छाैँ”, राम्जालीले भन्नुभयो । 

बाख्रापालन, कृषिका साथै सुन्तला खेतीको समेत उच्च सम्भावना रहेकाले अबको पाँच वर्षभित्र गाउँमा बाख्रापालन, तरकारी र फलफूल खेतीबाट लाखौँ भित्रिने  स्थानीय बताउँछन् । खानीगाउँका कृषकले खेर गएको जमिनमा सुन्तला खेतीसहित कृषि खेती नहुने जमिनमा डालेघाँस, बकाइनो, पाखुरी, निवारो, राइखनियो, नेपिएर, किम्बुलगायत घाँस लगाएका छन् ।

मङ्गला गाउँपालिकाले बाख्रा पकेट कार्यक्रममार्फत अनुदान सहयोग गरेपछि थप सहज भएको छ । गुप्तेश्वर कृषक समूहमा हाल ३४ कृषक आबद्ध छन् । उनीहरुले ६ सयभन्दा बढी बोका, बाख्रा र पाठापाठी पालेका छन् । गाउँपालिकाले उनीहरुलाई रु. २२ लाख अनुदान दिएको गाउँपालिकाका प्रवक्ता एवं कुहुँका वडाध्यक्ष एकजित रोकाले बताउनुभयो । मङ्गला गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले गाउँपालिकालाई कृषि र पशुपालनमा नमुना गाउँ बनाउने उद्देश्यले विभिन्न कार्यक्रम अघि बढाएको बताउनुभयो । रासस