• ८ वैशाख २०८१, शनिबार

तीन करोड लगानीमा निर्मित रामायण भवन प्रयोग विहीन

blog

संरक्षण हुन नसकेको रामायण भवन । तस्बिर: अमरराज नहर्की

अमरराज नहर्की

तनहुँ, असार २२ गते । राष्ट्रिय विभूति आदिकवि भानुभक्त आचार्यको जन्मस्थान भानु नगरपालिका–४ चुँदीरम्घामा बनाइएको रामायण भवन प्रयोग विहीन बने बनेको छ ।

तीन  वर्ष अघि निर्माण पुरा भएको उक्त भवन प्रयोगमा नआउँदा अलपत्र र जीर्ण बन्दै गए पनि संरक्षणको लागि चासो देखाएको पाइँदैन । करिब पौने तीन करोड लागतमा निर्माण गरिएको भवन प्रयोगमा नआउँदा ताला लगाएर राख्नुपर्दा संरचना कमजोर बन्दै गएको छ । झ्याल ढोकामा राखिएका सिसा फुट्न थालेका छन्, काठलाई धमिराले खान थालेको छ । आफ्नो पालिकाभित्रको साहित्यिक स्थल भएकाले चासो देखाए जस्तो गरे पनि यसको संरक्षणबाट नगरपालिका पन्छिने गरेको स्थानीयवासी बताउँछन् । पछिल्ला समयमा भवनका समान चोरी हुने, तोडफोड हुने, युवायुवती बस्ने र गफिने स्थल जस्तै बन्दै गएकोमा दुःख लागेका सोही ठाउँ निवासी पम्फा परियारले बताउनुभयो । सडक खराब भएकोले घुम्न आउने पर्यटक र स्थानीय बासिन्दालाई पैदल हिँड्नु पर्ने भएकोले असुविधा भएको परियार बताउनुहुन्छ । भानुभक्त सम्बद्ध स्थल, खोज, अनुसन्धान, संरक्षण, प्रवर्द्धन र प्रचारका उद्देश्यका साथ स्थापना गरिएको आदिकवि भानुभक्त जन्मस्थल विकास समिति, स्थानीय निकाय र राज्यले भाषिक एकताका प्रणेता भानुभक्त जन्म स्थान प्रति गरेको बेबस्ताले गर्दा रामायण भवन अलपत्र परेको स्थानीय बासिन्दा सन्देश आचार्यले बताउनुभयो ।  आचार्यले भन्नुभयो, भानु जन्मस्थल प्रति गरिएको हेय भाव, समग्र भानुको विकासमा दुरावस्था रहेको तितो यथार्थलाई चिर्न आवश्यक छ ।’’

 यथोचित  विकास र प्रचार प्रसारका लागि सम्बद्ध सबैको ध्यानाकर्षण हुनु पर्ने आचार्य बताउनुहुन्छ  । सङ्घीय सरकारको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको पर्यटन विभाग मातहतमा  आदिकवि भानुभक्त जन्मस्थल विकास समितिले रामायण भवन निर्माण गरेको हो । करिब १० रोपनी क्षेत्रफलभित्र भानु गृह, आवास गृह, चमेना गृह, पुस्तकालय, शौचालय, पोखरीलगायतका भौतिक संरचना निर्माण गर्ने गुरुयोजना रहेको भए पनि हाल अलपत्र अवस्थामा रहेको छ । उक्त गुरुयोजनाका लागि अनुमानित लागत १६ करोड रहेको छ । पर्यटकलाई थप आकर्षित गर्न आदिकविको १०० फिट अग्लो सालिक निर्माणलगायतका दीर्घकालीन गुरुयोजना रहेको छ । चुँदीरम्घाबेंसीदेखि शिखरकटेरीसम्म पुग्ने धनञ्जय मोटर मार्ग स्तर उन्नति नहुँदा सवारी साधन सञ्चालन गर्न सकिएको छैन ।  

साहित्यिक कार्यक्रम गर्ने सभा हल, भवनको भित्तामा रामायणमा भएका श्लोकहरू, रामायणसँग सम्बन्धी तस्बिरहरू कुदिने योजना रहेको छ । राष्ट्रिय विभूतिको स्मृतिमा निर्मित रामायण भवन अलपत्र हुँदा चुँदेलीहरु दुःखित भएका छन् । भानुभक्त र रामायणसँग सम्बन्धित सामग्री सुरक्षित गरेर त्यसलाई साहित्यिक गन्तव्य स्थलका रूपमा विकास गर्नुपर्ने स्थानीय बासिन्दाको माग छ । रामायण भवन अलपत्र अवस्थामा देख्दा आँसु आएको भानु नगरपालिका–५ सेपाबगैंचा निवासी भरत पोख्रेलले बताउनुभयो । रामायण भवन कलात्मक बुँदा कुँदेर निर्माण गरिएको छ । नेपाली भाषा र साहित्यका प्रथम आदिकवि भानुभक्त आचार्यको जन्म विसं १८७१ असार २९ गते बुबा धनञ्जय र आमा धर्मावतीदेवीको कोखबाट  चुँदीरम्घा जन्मनु भएको थियो ।