• १ जेठ २०८२, बुधबार

तीन दिनभित्र छाडा खच्चड व्यवस्थापन गर्न निर्देशन

blog

घोडा खच्चड पाल्ने कसगरहरुसँग छलफल गर्दै नेपालगन्जका नगर प्रमुख विष्ट । तस्विर : सिराज खान

सिराज खान 

नेपालगन्ज, असार २१ गते । जताततै सडक बजारमा खुला छाडिएका घोडा खच्चडका कारण फोहर बढ्नुका साथै यातायातका साधन सञ्चालनमा समस्या भएको भन्दै नेपालगञ्ज उपमहानगरपालिकाले व्यवस्थापन अभियान सुरु गरेको छ ।  

नेपालगञ्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्टले छाडा छाडिएका घोडा खच्चडलगायतका पशुचौपाया तीन दिनभित्र सडकबाट हटाई व्यवस्थापन गर्न पशुधनीहरुलाई निर्देशन दिनुभएको हो । 

नगरप्रमुख विष्टले छाडा पशुचौपाया व्यवस्थापन र नियन्त्रण गर्ने अभियान अन्तर्गत नेपालगन्जमा परम्परागत रुपमा घोडा र खच्चड पाल्ने कसगर समुदायसँग सामुहिक छलफल गरेर छाडा पशुचौपाया तत्काल व्यवस्थापन गर्न निर्देशन दिनुभएको छ । 

प्रमुख विष्टले भन्नुभयो, ‘उपमहानगरको निर्देशनलाई नमान्ने, अटेर गर्ने र वास्ता नगर्ने पशुधनीलाई कानुनी कारवाहीको दायरामा ल्याइने छ । त्यसैले तीन दिनभित्र सबैले आफ्ना घोडा खच्चड र गाईगोरु सडकबाट हटाउनैपर्छ ।’ 

नेपालगन्जमा घोडा खच्चड पाल्ने अधिकांश कसगर समुदायका अगुवाको सहभागिता रहेको सो छलफलमा छाडा पशुचौपाया सडक दुर्घटना, बालीनाली नोक्सानी र सहरको सुन्दरताको बाधक बनिरहेकाले पशुचौपायाको नियन्त्रणको जिम्मेवारी पशुधनीले स्वयम् लिनुपर्ने निर्णय गरिएको थियो । 

छलफलमा सहभागी पशुधनी कसगरहरुले आफ्ना पशुचौपाया छाडा नछाड्ने सामुहिक प्रतिबद्धता जनाएका छन् । कार्यक्रममा एनिमल नेपालका पशु चिकित्सक अतिसकुमार यादवले छाडा पशुचौपायाका कारण सहरको सुन्दरतामा प्रभाव पर्नुका साथै दुर्घटनाहरु समेत बढेको बताउनुभयो ।  

नेपालगन्ज उपमहानगरका उपप्रमुख कमरुद्दीन राइले छाडा पशु चौपायाको समस्या नेपालगन्जका लागि ठूलो चुनौती बन्दैआएकाले यो समस्याको दिगो समाधानको पहल समेत सुरु गरिसकिएको बताउनुभयो । नेपालगन्जमा करिब २ सय बढी कसगर र अन्यले घोडा–खच्चड पाल्नेगरेको बताइएको छ ।